पुस १३ देखि ठोरी महोत्सव
वीरगन्ज : वीरगन्ज नाकाको विकल्पका रुपमा रहेको ठोरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्ले ठोरीमा पहिलो ठोरी महोत्सव-२०७५ हुने भएको छ। भारतीय पर्यटकको गन्तव्यका रुपमा रहेको ठोरी गाउँपालिका २ राइधारामा पुस १३ देखि २३ गतेसम्म प्रथम ठोरी महोत्सव हुन लागेको हो।
भारतीय नाकासँग सीमा जोडिएको ठोरीको राइधाराको खुल्ला चौरमा महोत्व हुन लागेको महोत्सव आयोजक समितिका संयोजक सन्तोष देउजाले जानकारी दिए।
पर्साको ग्रामीण भेगमा पहिलो पटक हुन लागेको महोत्सवमा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, कृषि प्रदर्शनी, बैँक तथा वित्तीय संस्था, अटोमोबाइल, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्री, गार्मेन्ट, जुत्ता तथा चप्पल, निर्माण सामाग्री, हस्तकलाका सामाग्री, एफएम सीजी, रिटेल, स्थानीय होटल तथा रेष्टुरेन्ट, चिल्ड्रेन फनपार्कका गरी एक सय ५० भन्दा बढी स्टल राखिने छ।
महोत्सवमा राष्ट्रिय, स्थानीय तथा भारतीय कलाकारले प्रस्तुति दिने छन्। ११ दिन चल्ने महोत्सवको उद्घाटन नागरिक उड्यन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले गर्ने तय भएको छ।
महोत्सवको नेपाली र भारतीय गरेर डेढ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवका प्रेस संयोजक प्रेम लामाले महोत्सव आयोजनामा ५८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए।