दुना–टपरीबाट जीविकोपार्जन
धनगढी : धनगढी उपमहानगरपालिका १४ फूलबारीका महिला दुना–टपरीबाट आर्थिक उपार्जन गर्न थालेका छन्। जंगलमा खेर गएका सालका पात संकलन गरेर महिला आत्मानिर्भर बन्न थालेका हुन्। गाउँका तीन महिला मिलेर दुना–टपरी उद्योग नै सञ्चालन गरेपछि अन्य महिलामा समेत उत्साह थपिएको छ।
भावना पुलामीमगर, सरिता बुढामगर र विष्णु भुसालले संयुक्त लगानीमा उद्योग खोलेका हुन्। उद्योगमा दुई लाख रुपैयाँ लगानी गरेका छन्। दुना–टपरीबाट ३६ घरपरिवारका महिलाको आर्थिक उपार्जन बलियो बनेको छ। गत फागुनबाट सञ्चालनमा ल्याइएको उद्योगबाट उत्पादित दुना–टपरी कैलालीका विभिन्न ठाउँमा बिक्री हुने गरेका छन्। सामूहिक रूपमा सञ्चालन गरेको उद्योगमा दैनिक एक हजार दुना–टपरी उत्पादन भइरहेको फूलबारी दुना–टपरी उद्योगकी उद्यमी सरिताले बताइन्। ‘प्रतिटपरी तीन रुपैयाँ मूल्य तोकेका छौं’, उनले भनिन्, ‘दुनाको मूल्य एक रुपैयाँ छ ।’ नवलपरासी देउराली माइती घर भएकी उनले माइतमा प्रयोग गरेको सीपलाई घरमा र त्यसपछि दुना–टपरी उद्योग खोलेर सदुपयोग गरेको बताइन्। दुना–टपरीको अन्य सिजनभन्दा बढी चाडपर्व बेला बढी माग हुने गरेको छ।
धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा सञ्चालित महोत्सवमा प्रदर्शनमा राखिएका दुना–टपरी। तस्बिर : कैलाश जोशी।
स्थानीय ३६ वर्षीया मनकला विष्टले पात संकलन गरेर घरखर्चको जोहो गर्ने गरेकी छन्। तीन छोरीको पठनपाठन र घरखर्च चलाउन धौ–धौ हुने गरेको सुनाउँदै आय आर्जनको कुनै स्रोत नभएकाले दुना–टपरी उद्योगमा काम थालेपछि धेरै सहज भएको उनले सुनाइन्। ‘आम्दानीको बाटो नहुँदा छोरीहरू पढाउनै समस्या थियो’, विष्टले भनिन्, ‘दुना–टपरी बनाउने सीपले अलिकति सजिलो भएको छ ।’ उद्योग सञ्चालन गर्न गाउँका महिला पात संकलन गर्ने काममा खटिन्छन्। दुना–टपरी बढी धार्मिक कार्यमा बढी प्रयोग हुने भएकाले ब्रतबन्ध, विवाह, पास्नीजस्ता कार्यमा प्रयोग हुने गरेका छन्।
स्थानीय सरकारले प्लाष्टिक विस्थापित गर्ने रणनीति लिए पनि दुना–टपरी बनाउने काममा भने सहयोग नगरेको उद्यमी भावनाले बताइन्। उद्योग सुरु गरेको झण्डै एक वर्षमै त्यति ठूलो उपलब्धी गर्न नसके पनि घर खर्च गर्न सक्षम भएको उनको भनाइ छ। सालको दुना–टपरी प्रयोग गर्दा हुने फाइदाका बारेमा मात्र थाहा पाउन सके पनि धेरै बजार पाउने भावनाको भनाइ छ। ‘प्लाष्टिक सस्तो छ, त्यसमा पनि नजिक भारत भएकाले दुना–टपरी उद्योग सञ्चालनमा चुनौती छ’, उनले भनिन्।
पहिलेदेखि गर्दै आएको काम नै आम्दानीको स्रोत बन्दा हौसला मिलेको स्थानीय रजनी चौधरीले बताइन्। ‘घरमा प्रयोग गर्ने दुना–टपरी हातले बुन्दै आएका थियांै’, उनले भनिन्। ‘मेसिनबाट बनाउन धेरै सजिलो हुँदोरहेछ ।’ महिलाले समाजमा रहेको सानो समूहमार्फत ऋण लिएर उद्योग सञ्चालनमा ल्याएका हुन्। ‘बजारमा दुना–टपरीको माग भएकाले बिक्रीमा खासै समस्या छैन’, उनले भने, ‘यसले महिलालाई स्वरोजगार बनाउन प्रेरित गरेको छ ।’ स्थानीय तहले सहयोग गरे उद्योग सञ्चालन धेरै सहज हुने उनीहरूको अपेक्षा छ।