भोजपुरबाट उडान ठप्प
भोजपुर : मौसम आएको फेरबदलका कारण भोजपुर–विराटनगर हवाई उडान ठप्प भएको छ। केही दिनयता तराईमा चिसो बढेर कुहिरो लाग्ने क्रम बढेको छ। कुहिरोका कारण भिजिबिलिटी कम हुादा भोजपुरमा नियमित उडान भएको छैन्। विराटनगर–भोजपुर रुटमा नेपाल वायु सेवा निगमले नियमित उडान भर्ने गरेको छ। तर, मौसम खराबको कारण देखाउँदै विगत १५ दिन अघिदेखि आफ्नो उडान अवरुद्ध भएको निगमले जनाएको छ।
तराईको मौसममा सुधार आए लगत्तै उडान सेवा पुनः सूचारु हुने निगमको भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए। भने,‘तराईमा चिसो बढेसंगै बदलिँदो मौसमका कारण उडान बन्द गरेका हौँ। मौसममा सुधार आउनसाथ पहिलेकै रुपरेखाअनुसार हाम्रो नियमित उडान हुनेछ।’
वर्षात सुरु हुनसाथ झण्डै ६ महिना प्रतिकुल मौसमका कारण भोजपुर–विराटनगरको हवाई उडान ठप्प रहेको थियो। पछि असोज दोश्रो हप्ताबाट भोजपुर–काठमाडौँको उडानसंगै सेवा पुनः सञ्चालनमा आएको थियो। त्यस्तै निगमको एकमात्र ट्विनओटर विमानमा देखिएको खराबीका कारण झण्डै अढाई महिना अवरुद्ध रहेको भोजपुर–काठमाडौँ उडान गत असोज १८ बाट पुनः सञ्चालनमा ल्याईएको थियो।
उडान ठप्पले विशेष गरी जिल्ला अस्पताल भोजपुरबाट रिफर गरिएका बिरामीलाई बाहिर लैजान समस्या हुँदै आएको थियो। उडान ठप्प हुँदा कतिपय गम्भीर किसिमका बिरामीलाई मंहगो पैसा खर्चेर हेलिकप्टर चार्टरसमेत गर्नुपर्ने अवस्था थियो। भोजपुरका तेजप्रसाद राईले चल्ने एउटा उडानसमेत अवरुद्ध हुँदा समस्या भएको बताउँदै भने,‘कहिले बिमान बिग्रिएर त कहिले मौसमका कारण उडान नहुँदा हामीलाई भने पर्नसम्म समस्या भएको छ।’ राईले मौसममा खारबी नआउँदा भने नियमित उडान गर्न निगमले ध्यान दिनुपर्ने बताए। स्थानीय सविना राईले भोजपुरबाट विराटनगरसम्म जान हवाई यात्रा नै सहज हुने भएपनि यो अवरुद्ध हुँदा निकै समस्या पर्ने गरेको सुनाइन्।
हालका लागि निगमले अपाङ्गलाई ५० प्रतिशत, विद्यार्थीलाई २५ प्रतिशत र जेष्ठ नागरिकलाई १५ प्रतिशत भाडादरमा छुटको व्यावस्था गरेको छ। भोजपुर–विराटनगर उडान अवरुद्ध भएपनि भोजपुर–काठमाण्डौको उडान भने आइर्तबारबाहेक हप्ताको ६ दिन नियमित उडान भरिरहेको निगमले जनाएको छ। यसअघि निगमको जहाजले मंगलबार विहीबार र शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो।