आत्महत्यासम्म पुर्‍याउन सक्‍ने डिप्रेसनबाट बेलैमा कसरी बच्‍ने ?

आत्महत्यासम्म पुर्‍याउन सक्‍ने डिप्रेसनबाट बेलैमा कसरी बच्‍ने ?

काठमाडौं : ६ महिनादेखि नियमित औषधि सेवन गरिरहेका सुवोध शर्मा (नाम परिवर्तन) ले आफूलाई डिप्रेसन भएको कुरा निकै पछि मात्र थाहा पाए। उनी घरभित्र एक्लै बसेर किताब पढ्न मात्र रुचाउथे। मानिसहरूसँग भेटघाट गर्न र साथीसमूहमा गएर कुरा गर्न उनलाई डर लाग्थ्यो।

‘मलाई अरुसँग बोल्न डर लाग्थ्यो। मानिसहरू भएको ठाउँमा जाँदा कसैले भविष्यको बारेमा सोधिहाल्ने हुन् कि भन्ने डरले सधैँ सताउँथ्यो', नाम उल्लेख नगर्ने अन्नपूर्णको प्रतिबद्धतापछि मात्र आफ्ना अनुभव सुनाउन तयार भएका उनले भने, 'मैले गरेका केही काम पनि राम्रो हुँदैन जस्तो लाग्थ्यो। प्रायजसो म दुःखी र निराश मात्र हुन्थेँ।’

निराशाले गाँज्दै लगेको उनलाई डिप्रेसनकै कारणले परिवार र साथीबाट एक्लो बनाउँदै लग्यो। जीवनप्रति नै नकारात्मक भावना पलाएपछिमात्र उनलाई आफू डिप्रेसनबाट पीडित भएको थाहा भयो।

‘मलाई जीवन नै बेकार जस्तो लाग्न थाल्यो। परिवारबाट पनि एक्लिँदै गएँ', उनी सुनाउँछन्, 'पछि एउटा साथीले भनेर मनोचिकित्सकसँग सल्लाह लिन गएँ। त्यसपछि मात्र डिप्रेसन भएछ भन्ने थाहा भयो।’

डिप्रेसनबाट पीडित सीमा कार्की (नाम परिवर्तन) पनि पहिला सानासाना कुरामा दुखी हुन्थिन्। उनलाई जीवनमा केही गर्न नै सक्दिनँ जस्तो लाग्थ्यो। एक्लै बस्न मन लाग्ने। काम नै नगरी थकाई लागेजस्तो भएर सुत्नमात्र मन लाग्थ्यो। उनी पनि डिप्रेसनको कारणले साथीभाइबाट अलग्गिएको अनुभव सुनाउँछिन्।

‘प्रेममा बिछोड भएपछि मलाई कसैसँग बोल्न मन लाग्थेन। संसार नै सकियो जस्तो लाग्थ्यो। कोहीसँग घुलमिल हुन नसक्ने बानीले म पूर्ण रुपमा एक्लो र अझै निराश भएको थिएँ’, उनी भन्छिन्, ‘निकै पछि मलाई डिप्रेसन भयो भन्ने थाहा भयो। अहिले म डाक्टरको परामर्श लिँदै छु।'

एकसमय डिप्रेसनसँग जुधेका सुवोध र सीमा अहिले एकांगी जीवनबाट नयाँ जीवनमा फर्केका छन्।   

के हो डिप्रेसन ?

डिप्रेसन मानिसको मस्तिष्कमा लाग्ने रोग हो। डिप्रेसनलाई दिक्दारीपना भनेर पनि चिन्न सकिने बताउँछन्, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सगुन पन्त।

‘डिप्रेसन भनेको मानिसमा लाग्ने मानसिक रोग हो', डा. पन्त भन्छन्, 'लगातार रुपमा मानिस निराश भइरहने, दिक्दारीपना बढ्ने, केही गर्न सक्दिनँ भन्ने जस्तो नकारात्मक सोच पलाउने, जीवन निर्अर्थक लाग्ने र मृत्यु प्रिय लाग्ने रोग नै डिप्रेसन हो।’ रुघा खोकी, दम आदि शरीरको अन्य अंगमा लाग्ने रोग भएजस्तै डिप्रेसन मानव मस्तिष्कमा लाग्ने रोग भएको उनी बताउँछन्।

पहिचान

यदि कुनै मानिसको खुसीमा कमी आए उसमा डिप्रेसनको सुरुवाती लक्षण देखापरेको बुझ्नुपर्ने बताउँछन् डा.पन्त। उनका अनुसार डिप्रेसन भएको पहिचान गर्ने सबभन्दा पहिलो तरिका कुनै पनि मानिस कति खुसी भइरहेको छ भन्ने निर्क्यौल गर्नु हो।

'यदि आफू वा आफ्ना नजिकका मानिस पहिलाभन्दा दुःखी देखिइरहेका छन् भने डिप्रेसन भयो भन्ने बुझ्न सकिन्छ’, उनी भन्छन्, ‘यसबाहेक अत्याधिक निराशा बढे, जीवन अभावपूर्ण लागे, काम नगरी थकान महसुस भए, जीवन नै अर्थविहीन लाग्न लागे हामीले आफूलाई डिप्रेसन भएको छ भन्ने थाहा पाउन सक्छौँ।’

डिप्रेसन भएको बेला शरीरमा अन्य रोग लाग्ने सम्भावना बढी हुन्छ। शरीरका जोर्नीहरू दुख्ने, नातागत अनुभव हुने आदि भएकोले मानिसहरू विभिन्न रोगको आशंका गरेर उपचार गराउन जान्छन्। तर कुनै रोग पत्ता नलागेर मानिसहरू अझै निराश बन्ने डा. पन्त बताउँछन्। उनी भन्छन्, ‘डिप्रेसनकै कारणले थाइराइड, रुघाखोकी, क्यान्सर आदि हुने सम्भावना बढी हुन्छ। साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले अन्य रोग पनि लाग्छ।'

अन्य रोगको उपचार गराउन मानिसहरू अस्पताल जाने गरे पनि डिप्रेसनको उपचार गराउन भने धक मान्छन्। 'यसले गर्दा उनीहरू सधैँ शारीरिक र मानसिक दुवै रुपमा कमजोर भइरहन्छन्', उनी भन्छन्।

अन्तिम चरणमा आत्महत्या

आत्महत्यको प्रमुख कारण डिप्रेसन हो। डिप्रेसनको अन्तिम अवस्थामा पुगेपछि मानिस जीवन निर्अर्थक ठान्दै आत्महत्या गर्न अग्रसर हुन्छन्।

डिप्रेसन ९ प्रकारका हुने भए पनि यसलाई सिभियर (गम्भीर) र माइल्ड (सामान्य) गरी दुई चरणमा बाँड्न सकिने डा. पन्त बताउँछन्। ‘डिप्रेसनको माइल्ड अवस्था सुरुवाती अवस्था हो। यसमा मानिसहरूमा खुसीको कमी, निराशा जस्ता सामान्य लक्षण देखिन्छन्। सिभियर अवस्थामा पुगेका मानिसहरूमा भने जीवन नै निर्अर्थक लाग्ने, होस हराएको जस्तो हुने,आत्महत्यातिर मन जाने आदि हुन्छ।’ डिप्रेसन वंशाणुगत गुणकै कारण पनि हुन सक्ने उनी बताउँछन्।

महिलामा बढी हुने

डिप्रेसन १५ देखि ४५ सम्मका महिलामा बढी हुन्छ। ‘डिप्रेसन सामान्यतया बालक, वृद्ध युवा जो कोहीलाई पनि हुन्छ', पन्त भन्छन्, 'तर यो १५ वर्षदेखि ४५ वर्षका महिलाहरूलाई बढी हुन्छ।’

‘महिलालाई बढी हुनुमा उनीहरूमा हुने हर्मोनको गडबडीको कारणले हो। महिनावारी हुने केही समय अघि बढी रिसाउने, चिढ्चिढापन बढ्ने, निराश हुने हुन्छ', उनले भने, 'गर्भवति अवस्थामा पनि यो बढी देखिन्छ।’

गर्भवति अवस्थामा हुने भविष्यप्रतिको चिन्ता, शरीरिक परिवर्तन, पीडा तथा आफूमा बढ्दै गएको जिम्मेवारीको बोझले पनि डिप्रेसन हुने उनले बताए।

बढ्दो चेतनाले खुल्दैछन् रोगी

डिप्रेसन तथ्याङ्कका आधारमा अहिले बढेको जस्तो देखिए पनि यो रोग पहिलेदेखि नै भएको र चेतना बढेर रोगी पहिचानमा आएको बताउँछन् डा. पन्त। पहिला मानिसहरूलाई यस्तो पनि रोग हुन्छ भन्ने ज्ञान नभएको उनी सुनाउँछन्। ‘अहिले मानसिक रोग पनि हुन्छ। उपचार गरेपछि निको हुन्छ भन्ने चेतना विस्तारै फैलिएर रोग बढेको जस्तो देखिएको हो’, उनी भन्छन्।

उपचार गरे सञ्चो हुन्छ

उपचार गरे डिप्रेसनबाट छुटकारा पाउन सकिन्छ। डिप्रेसनलाई पहिचान गरी अस्पतालसम्म आए माइल्ड अवस्थामा चिकित्सकको सामान्य सल्लाहबाट नै ठिक हुन्छ।

‘डिप्रेसन अरु ठेउला जस्तो एकपटक उपचार गरेपछि अर्को पटक फर्किँदैन भन्ने त हुँदैन तर उपचार गरे निको हुन्छ', पन्त भन्छन्, 'पछि आउने बिरामीले पनि निश्चित समय औषधी सेवन गरेपछि यो निको हुन्छ। फेरि कुनै कारणले बल्झिए पनि पुनः औषधि गर्दा यो ठिक हुन्छ।’

रोग नै नमान्ने मानसिकता घातक

डिप्रेसनलाई रोग नै नमान्ने मानसिकताले गर्दा रोगी अस्पताल आउँदैनन्, जसले गर्दा धेरै मानिस आत्महत्या गर्ने चरणसम्म पुग्छन्। ‘शरीर कै एक अंग हाम्रो मस्तिष्क पनि हो। जसरी शरीरको अन्य भागमा विभिन्न रोग लाग्छ त्यसरी नै मस्तिष्कमा पनि रोग लाग्छ', डा. पन्त भन्छन्, 'यो सामान्य कुरा हो, लाजको कुरा होइन। उपचार गरेपछि सञ्चो हुन्छ भन्ने सोच विकास हुनु पर्छ।’

चेतनास्तर बढ्दै गएर अस्पतालसम्म जँचाउन आउनेको संख्या क्रमशः बढेको उनको अनुभव छ। उनी शिक्षण असपतालको उदाहरण दिन्छन्। ‘दैनिक ओपीडीमा डिप्रेसनको शंका गरेर जँचाउन आउने १३० जति हुन्छन्। यो संख्या विगतको तुलनामा निकै धेरै हो', भन्छन्, 'जनचेतनाले गर्दा विस्तारै संख्यामा वृद्धि भइरहेको छ।' जनचेतना फैलाएर मानसिक रोग लागेका मानिसलाई विस्तारै अस्पतालसम्म ल्याउनुपर्ने उनी बताउँछन्।

आत्महत्याको मूल कारण डिप्रेसन

बद्लिँदो जीवनशैली तथा खानपान, तनाव आदिका कारण विश्वमा मानसिक रोगीहरूको संख्या बढ्दो छ। सन् २००५ बाट २०१५ सम्ममा डिप्रेसनका रोगीहरू १८ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा वर्षेनी ८ लाख मानिसको मृत्यु आत्महत्याको कारणले हुन्छ। विशेष गरी १५ देखि ४९ वर्ष उमेर समूहका युवाहरूको मृत्युको प्रमुख दोस्रो कारण आत्महत्या बनेको उसको प्रतिवेदनमा उल्लेख छ।  र, आत्महत्याको प्रमुख कारण मानसिक तनाव वा डिप्रेसनलाई मानिएको छ। 'अहिले पनि लगभग विश्वमा ३ अरबभन्दा बढी मानिस मानसिक समस्याबाट ग्रसित छन्', प्रतिवेदनमा उल्लेख छ। मानसिक समस्या वा डिप्रेसनलाई रोगको रुपमा स्वीकार्ने चेतना नभएको कारण डिप्रेसनका रोगीमध्ये १० प्रतिशतभन्दा कम मानिसमात्र उपचार गराउन अस्पतालसम्म पुग्ने गरेको प्रतिवेदनमा भनिएको छ।

नेपालमा डिप्रेसन भएका बिरामीकै बारेमा समग्र अध्ययन गरिएको छैन। तर यसलाई आत्महत्यासँग जोडेर भने केही अध्ययनहरू गरिएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा द पिस अफ माइन्ड र करुणा फाउन्डेसनले सन् २०१७ मा इलामका २० गाविसमा गरेको अध्ययनमा आत्महत्याको एउटा मुख्य कारण डिप्रेसन भएको निष्कर्ष निकालिएको छ।

उक्त अध्यनले १५–२९ वर्षका मानिसको मृत्युको दोस्रो कारण आत्महत्यालाई मानेको छ। अध्ययनले १५–४९ वर्षका महिलाको मृत्युको प्रमुख कारण आत्महत्यालाई मानेको छ। १०–१७ वर्षका १.८, १८–२९ वर्षका ३.५, ३०–४९ वर्षका ७.५ र ५०–७९ वर्षका १०.६ प्रतिशत मानिस डिप्रेसनबाट पीडित रहेको उक्त अध्ययनले देखाएको छ। पुरुषको तुलनामा महिलाहरू डिप्रेसनबाट बढी पीडित छन्। ५.३ प्रतिशत पुरुष र ८.५ प्रतिशत महिलामा डिप्रेसन देखिएको छ।

उक्त सर्वेक्षणका आधारमा १८ प्रतिशत मानिसले आत्महत्याको योजना बनाउने र ४.९ प्रतिशत मानिसले आत्महत्याको प्रयास गर्ने गरेको देखिन्छ। आत्महत्याको प्रयास गर्नेमा डिप्रेसन भएका ४३.८ प्रतिशतले आत्महत्याको योजना बनाउँछन् र तीमध्ये ७.६ प्रतिशतले आत्महत्याको प्रयास नै गर्छन्। डिप्रेसन नभएका २.९ प्रतिशतले आत्महत्याको बारेमा सोचे पनि आत्महत्याको प्रयास भने नगर्ने अध्ययनले देखाएको छ।

नेपालमा डिप्रेसन तथा तनावबारे युएस नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक जर्नलमा डिप्रेसन नेपालको प्रमुख स्वास्थ्य समस्या भएको औँल्याइएको छ। मुलुकको निश्चित भुभाग, बसोबास र सामाजिक संरचनासँग डिप्रेसन हुनुको सम्बन्ध देखिने निष्कर्ष पनि उक्त अध्ययनमा गरिएको छ।   

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन जिल्लालाई आधार बनाएर मानसिक स्वास्थ्य सम्बन्धी अध्ययन गरेको छ। परिषद्की कार्यक्रम अधिकृत दीपिक्षा पौडेल धनुषा, दोलखा र भक्तपुर जिल्लामा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक हुने क्रममा रहेको बताउँछिन्। यसबाहेक परिषद्ले आर्थिक वर्ष २०७५/७६ मा प्रदेश १, २ र ३ मा मानसिक स्वास्थ्य सम्बन्धी वृहत् सर्वेक्षण गर्नेगरी अहिले अनुसन्धाताका लागि तालिम आयोजना गरिरहेको छ। यो अध्ययन सबै प्रदेशमा गर्ने योजना परिषद्को छ।

०००

एकसमय डिप्रेसनसँग जुधेका सुवोध र सीमा अहिले एकांगी जीवनबाट नयाँ जीवनमा फर्केका छन्। मनोचिकित्सकको सल्लाह र औषधिको नियमित सेवन गरेपछि आफ्नो अवस्थामा निकै सुधार भएको सुवोधको अनुभव छ।

‘मैले नियमित औषधि प्रयोग गर्न थालेको ६ महिना भयो। यो बीचमा ममा पहिला जस्तो नकारात्मक भावना आउन कमी भएको छ', उनी भन्छन्‍, 'पहिला केही गर्दा पनि खुसी नभएको जस्तो लाग्थ्यो। आफ्नो जीवन नै बेकामको लाग्थ्यो। अहिले ममा निकै सकारात्मक सोच पलाएको छ। म पनि केही गर्छु भन्ने हिम्मत आउँछ।’

हिजो संसार अँध्यारो देख्ने सीमालाई आज आफूभित्रमात्र होइन, बाहिरी दुनियाँ पनि रमाइलो लाग्न थालेको छ। 'मभित्र सकारात्मक सोचको विकास भएको छ। एक्लै पनि दुनियाँ निकै रमाइलो जस्तो लाग्छ’, हाल मानविकीमा स्नातकोत्तर गरिरहेकी उनी भन्छिन्, 'मनोचिकित्सकको परामर्श लिन लागेपछि साथीभाई र परिवारसँग घुलमिल हुन थालेँ। आजकल सबैकुरा रमाइलो लागिरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.