रंगमञ्चमा समलिङ्गी सम्बन्धको कथा
‘आई एम अ होर । अ लेस्वीयन... अ लेस्वीयन बीच...। अ फ्रिक... ।’ बत्तीहरुको चहकिलो उज्यालो फैलिएको कोठामा दुई केटाहरु बीचमा बसेकी छिन् सुमी । उनलाई केटाहरुले कामुकतापूर्वक छोइरहेको असहज लाग्छ । आधा शरीर छोपिने पहिरनमा सजिएकी उनी रक्सीको मातमा छिन् ।
विवस भएर देहव्यापारमा लागेकी सुमिकोे कथा निकै पीडादायी छ । महिला शरीर र पुरुष स्वभावको सम्मिश्रण छ उनमा । महिला साथीसँगको प्रेममा परेकी सुमीलाई यो समाजले आफ्नो चाहानाअनुसार बाँच्न दिँदैन । उनलाई कलेजबाट निकालेर देह व्यापार गर्न होटलका कोठाकोठासम्म पुर्याउँछ । सुमीलाई आफ्नै परिवार र समाजले दिएको पीडाको अपज हो माथिको वाक्य ।
मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘साथीको कथा’ मा तेस्रो लिंगीले समाजमा भोग्नुपरेको समस्याको सजीव चित्रण गरिएको छ । कलेज पढ्ने ५ साथीको बीचमा नै नाटकको विषयवस्तु जेलिएको छ ।
नाटकको सुरुवात हक्की स्वभावकी सुमीलाई देखेर बाबुको मनमा टुसाउन लागेको प्रेमबाट हुन्छ । बाबुले नाटक कथात्म शैलीमा भन्दै अगाडि बढाउँछन् । सुमीको प्रेम बाबुको मनमा फक्रने तरखरमा थियो । यसैबेला सुमीले आफू केटा वा केटी नभएर तेस्रो लिंगी भएको बताउँछिन् ।
केटीप्रति आकर्षित हुने स्वभावले उनी कलेजकै साथी नमाको प्रेममा पर्छिन् । नमा दलवीरसँगको प्रेममा हुँदाहुँदै पनि सुमीसँगको सम्बन्धलाई निरन्तरता दिन्छिन् । बाबुको रुम पार्टनर पाण्डु पनि सुमीको हक्की स्वभावबाट प्रभावित भएर उनको प्रेममा पर्छ । प्रेमको चौतर्फी जालोमा बेरिएको नाटकले उठाएको मुख्य विषय भने तेस्रो लिंगी सुमीको स्वभाव र उनले समाज र परिवारबाट पाएको तिरस्कार नै हो ।
सुमी सानैदेखि केटासाथीसँग खेल्न, हिंड्न मन पराउँछिन् । उनलाई चुरोट तान्न, पौडीन, फुटबल खेल्न मन लाग्छ । केटाहरुसँग झगडा गर्न उनलाई डर लाग्दैन । पुरुष प्रवृतिले भरिएकी उनलाई उनकै आमाले पनि झुक्किएर केटी भएको भन्छिन् ।
विवाह गर्ने उमेर भएपछि परिवारले राम्रो केटो खोजेर विवाह गरिदिन खोज्छन् । विवाहको कुराले उनलार्ई डर लाग्छ । आफूलाई केटाहरुप्रति कुनै प्रकारको आकर्षण नपलाउने शंका लाग्छ । आफूभित्रको स्त्रीत्व परीक्षण गर्न उनी पहिला आफूलाई जिस्काएर हैरान पार्ने आफ्नो घरको नोकरलाई एकान्तमा बोलाउँछिन् । त्यसपछिमात्र आफू केटासँग विवाह गर्न नसक्ने कुरामा उनी पक्का हुन्छिन् ।
साथी नमासँगको प्रेममा रमाउँदै गर्दा कलेजमा हल्ला भएपछि उनलाई कलेजबाट नै निकालिन्छ । नमा र उनको प्रेम सम्बन्धको नराम्रो कथा बनाएर बेइज्जत गरिन्छ । उनको यथार्थ थाहा भएपछि घरका मानिसले पनि उनलाई फरक व्यवहार गर्छन् । परिवारको घृणा सहन नसकेर उनी घर छाडेर जान्छिन् । समाजले उनलाई सम्मान गर्न जान्दैन ।
आफूले चाहेजसरी बाँच्न पूर्णतया असफल हुन्छिन् सुमी । उनलाई जीवन धान्नकै लागि देहव्यापारमा लाग्न बाध्य बनाइन्छ । जीवनसँग नै विरक्त बनेर अन्तिममा आत्महत्या गर्दै आफ्नो अस्तित्व समाप्त गर्छिन् । आफ्नो पहिचान स्थापित गर्न संघर्षरत सुमी अन्त्यमा हार खान्छिन् ।
मानिस पहिचान र परिचयका लागि जीवनभर संघर्षरत रहने तर कहिलेकाहीँ पहिचान र परिचय नै मानिसको लागि कष्टकर बन्न सक्ने बताउँछन् नाटकका अनुवादक सागर चन्द । उनी भन्छन्, ‘प्रत्येक पात्रमा देखिने यौन मनोविज्ञान र लैङ्गिक अन्यौलता नै यो नाटकको आकर्षक पक्ष हो ।’
समाजले तेस्रो लिंगीलाई गर्ने व्यवहारले गर्दा उनीहरुले भोग्नुपरेको समस्याको सजीव चित्रण गरिएको नाटक हो ‘साथीको कथा’ । पुस ६ गतेदेखि मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटकमा बाबुको भूमिकामा आयुष प्याकुरेल, सुमीको भूमिकामा सुष्मा निरौला, नमाको भूमिकामा शारदा अधिकारी, पाण्डुको भूमिकामा अनिल सुब्बा र दलवीरको भूमिकामा सूर्यमान लिम्बु रहेका छन् ।
समलिंगी सम्बन्ध स्थापित गर्न खोज्दा सुमीले समाजमा भोग्नुपरेको समस्या समकालीन समाजको गम्भीर समस्या हो । अल्पसंख्यक समुदायले भोग्नुपरेको समस्यालाई गम्भीर रुपमा उठाउनु नाटको सबल पक्ष हो । सबै कलाकारको अभियन क्षमताले गर्दा नाटकको विषयवस्तुले जीवन्तता पाएको छ । यति हुँदा हुँदै नाटकमा केही कुरा दाँतमा लाग्ने ढुङ्गा झैँ असहज देखिन्छ ।
घटनालार्ई अभिनय गरेर संवादमार्फत दर्शकलाई बुझाउनु नाटकको प्रमुख विशेषता हो । नाटकको घटनालाई बाबुले कथा भन्ने शैलीमा प्रस्तुत गर्नुले नाटकको विषय जति मार्मिक थियो प्रस्तुति त्यति मार्मिक बनाउन सकेन ।
हक्की स्वभावकी सुमी समाजसँग लडेर आफ्नो अस्तित्व स्थापित गर्न सक्षम पात्र हुन् । उनको स्वभाव नाटकभर हार खाइ मर्न अग्रसर हुने प्रवृत्तको देखिँदैन । उनी आफ्नो अस्तित्व जोगाउन समाजसँग लड्ने हिम्मत भएकी देखिन्छिन् । सहजै अस्तित्व मेट्न उनले आत्महत्या गरेको देखाउनुले सुमीको स्वभाव र उसको कार्यमा मेल नखाएजस्तो लाग्छ ।
त्यसो त समग्र तेस्रो लिंगी समुदायलाई कायर रुपमा चित्रित गर्न खोजिनु जायज हैन । कुनै पनि आदर्श पात्र जो हकी स्वभावको र संघर्षशील पनि छ, उसलाई नाटकमा निरिह रुपमा चित्रित गर्न खोज्नु गम्भीर गल्ती हो ।
भारतीय लेखक विजय तेन्दुलकरको ‘मित्राची गोष्ट’ नाटकलाई सागर चन्दले अनुवाद गरेका हुन् । रेनुका कार्कीले निर्देशन गरेको यो नाटक पुस २२ सम्म मण्डला थिएटरमा चल्ने छ ।