रंगमञ्चमा समलिङ्गी सम्बन्धको कथा

रंगमञ्चमा समलिङ्गी सम्बन्धको कथा

‘आई एम अ होर । अ लेस्वीयन... अ लेस्वीयन बीच...। अ फ्रिक... ।’ बत्तीहरुको चहकिलो उज्यालो फैलिएको कोठामा दुई केटाहरु बीचमा बसेकी छिन् सुमी । उनलाई केटाहरुले कामुकतापूर्वक छोइरहेको असहज लाग्छ । आधा शरीर छोपिने पहिरनमा सजिएकी उनी रक्सीको मातमा छिन् ।

विवस भएर देहव्यापारमा लागेकी सुमिकोे कथा निकै पीडादायी छ । महिला शरीर र पुरुष स्वभावको सम्मिश्रण छ उनमा । महिला साथीसँगको प्रेममा परेकी सुमीलाई यो समाजले आफ्नो चाहानाअनुसार बाँच्न दिँदैन । उनलाई कलेजबाट निकालेर देह व्यापार गर्न होटलका कोठाकोठासम्म पुर्‍याउँछ । सुमीलाई आफ्नै परिवार र समाजले दिएको पीडाको अपज हो माथिको वाक्य ।

मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘साथीको कथा’ मा तेस्रो लिंगीले समाजमा भोग्नुपरेको समस्याको सजीव चित्रण गरिएको छ । कलेज पढ्ने ५ साथीको बीचमा नै नाटकको विषयवस्तु जेलिएको छ ।

नाटकको सुरुवात हक्की स्वभावकी सुमीलाई देखेर बाबुको मनमा टुसाउन लागेको प्रेमबाट हुन्छ । बाबुले नाटक कथात्म शैलीमा भन्दै अगाडि बढाउँछन् । सुमीको प्रेम बाबुको मनमा फक्रने तरखरमा थियो । यसैबेला सुमीले आफू केटा वा केटी नभएर तेस्रो लिंगी भएको बताउँछिन् ।

केटीप्रति आकर्षित हुने स्वभावले उनी कलेजकै साथी नमाको प्रेममा पर्छिन् । नमा दलवीरसँगको प्रेममा हुँदाहुँदै पनि सुमीसँगको सम्बन्धलाई निरन्तरता दिन्छिन् । बाबुको रुम पार्टनर पाण्डु पनि सुमीको हक्की स्वभावबाट प्रभावित भएर उनको प्रेममा पर्छ । प्रेमको चौतर्फी जालोमा बेरिएको नाटकले उठाएको मुख्य विषय भने तेस्रो लिंगी सुमीको स्वभाव र उनले समाज र परिवारबाट पाएको तिरस्कार नै हो ।

सुमी सानैदेखि केटासाथीसँग खेल्न, हिंड्न मन पराउँछिन् । उनलाई  चुरोट तान्न, पौडीन, फुटबल खेल्न मन लाग्छ । केटाहरुसँग झगडा गर्न उनलाई डर लाग्दैन । पुरुष प्रवृतिले भरिएकी उनलाई उनकै आमाले पनि झुक्किएर केटी भएको भन्छिन् ।

विवाह गर्ने उमेर भएपछि परिवारले राम्रो केटो खोजेर विवाह गरिदिन खोज्छन् । विवाहको कुराले उनलार्ई डर लाग्छ । आफूलाई केटाहरुप्रति कुनै प्रकारको आकर्षण नपलाउने शंका लाग्छ । आफूभित्रको स्त्रीत्व परीक्षण गर्न उनी पहिला आफूलाई जिस्काएर हैरान पार्ने आफ्नो घरको नोकरलाई एकान्तमा बोलाउँछिन् । त्यसपछिमात्र आफू केटासँग विवाह गर्न नसक्ने कुरामा उनी पक्का हुन्छिन् ।

साथी नमासँगको प्रेममा रमाउँदै गर्दा कलेजमा हल्ला भएपछि उनलाई कलेजबाट नै निकालिन्छ । नमा र उनको प्रेम सम्बन्धको नराम्रो कथा बनाएर बेइज्जत गरिन्छ । उनको यथार्थ थाहा भएपछि घरका मानिसले पनि उनलाई फरक व्यवहार गर्छन् । परिवारको घृणा सहन नसकेर उनी घर छाडेर जान्छिन् । समाजले उनलाई सम्मान गर्न जान्दैन ।

आफूले चाहेजसरी बाँच्न पूर्णतया असफल हुन्छिन् सुमी । उनलाई जीवन धान्नकै लागि देहव्यापारमा लाग्न बाध्य बनाइन्छ । जीवनसँग नै विरक्त बनेर अन्तिममा आत्महत्या गर्दै आफ्नो अस्तित्व समाप्त गर्छिन् । आफ्नो पहिचान स्थापित गर्न संघर्षरत सुमी अन्त्यमा हार खान्छिन् ।

मानिस पहिचान र परिचयका लागि जीवनभर संघर्षरत रहने तर कहिलेकाहीँ पहिचान र परिचय नै मानिसको लागि कष्टकर बन्न सक्ने बताउँछन् नाटकका अनुवादक सागर चन्द । उनी भन्छन्, ‘प्रत्येक पात्रमा देखिने यौन मनोविज्ञान र लैङ्गिक अन्यौलता नै यो नाटकको आकर्षक पक्ष हो ।’

समाजले तेस्रो लिंगीलाई गर्ने व्यवहारले गर्दा उनीहरुले भोग्नुपरेको समस्याको सजीव चित्रण गरिएको नाटक हो ‘साथीको कथा’ । पुस ६ गतेदेखि मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटकमा बाबुको भूमिकामा आयुष प्याकुरेल, सुमीको भूमिकामा सुष्मा निरौला, नमाको भूमिकामा शारदा अधिकारी, पाण्डुको भूमिकामा अनिल सुब्बा र दलवीरको भूमिकामा सूर्यमान लिम्बु रहेका छन् ।

समलिंगी सम्बन्ध स्थापित गर्न खोज्दा सुमीले समाजमा भोग्नुपरेको समस्या समकालीन समाजको गम्भीर समस्या हो । अल्पसंख्यक समुदायले भोग्नुपरेको समस्यालाई गम्भीर रुपमा उठाउनु नाटको सबल पक्ष हो । सबै कलाकारको अभियन क्षमताले गर्दा नाटकको विषयवस्तुले जीवन्तता  पाएको छ । यति हुँदा हुँदै नाटकमा केही कुरा दाँतमा लाग्ने ढुङ्गा झैँ असहज देखिन्छ ।

घटनालार्ई अभिनय गरेर संवादमार्फत दर्शकलाई बुझाउनु नाटकको प्रमुख विशेषता हो । नाटकको घटनालाई बाबुले कथा भन्ने शैलीमा प्रस्तुत गर्नुले नाटकको विषय जति मार्मिक थियो प्रस्तुति त्यति मार्मिक बनाउन सकेन ।

हक्की स्वभावकी सुमी समाजसँग लडेर आफ्नो अस्तित्व स्थापित गर्न सक्षम पात्र हुन् । उनको स्वभाव नाटकभर हार खाइ मर्न अग्रसर हुने प्रवृत्तको देखिँदैन । उनी आफ्नो अस्तित्व जोगाउन समाजसँग लड्ने हिम्मत भएकी देखिन्छिन् । सहजै अस्तित्व मेट्न उनले आत्महत्या गरेको देखाउनुले सुमीको स्वभाव र उसको कार्यमा मेल नखाएजस्तो लाग्छ ।

त्यसो त समग्र तेस्रो लिंगी समुदायलाई कायर रुपमा चित्रित गर्न खोजिनु जायज हैन । कुनै पनि आदर्श पात्र जो हकी स्वभावको र संघर्षशील पनि छ, उसलाई नाटकमा निरिह रुपमा चित्रित गर्न खोज्नु गम्भीर गल्ती हो ।

भारतीय लेखक विजय तेन्दुलकरको ‘मित्राची गोष्ट’ नाटकलाई सागर चन्दले अनुवाद गरेका हुन् । रेनुका कार्कीले निर्देशन गरेको यो नाटक पुस २२ सम्म मण्डला थिएटरमा चल्ने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.