एकै रातमा खरानी भयो खाडा
कालिकोट : कालिकोट जिल्लाको पलाँता गाँउपालिका वडा नम्बर १ खाडामा भीषण आगलागी हुँदा ८७ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन्। आइतबार राति करिब १० बजेदेखि स्थानीय नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले न्यौपानेहरूको उद्गमस्थल भनेर चिनिने खाडाका ८७ घर जलेर पूर्ण रुपमा नष्ट भएका हुन्।
परम्परागत शैलीका खरले छाएको छाना भएका १६९ घरधुरी रहेको उक्त गाउको तल्लो छेउमा रहेको नवीन न्यौपाने र मनीचन्द्र न्यौपानेको घरको माथिल्लो तलाबाट सुरु भएको आगोले ८७ घर जलेर नष्ट बनाएको हो।
शनिबार राति १० बजेदेखी सुरु भएको आगो नेपाल प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा सोमबार दिउसो १२ बजेमात्र नियन्त्रणमा आएको थियो। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खाडामा भएको आगलागीले ठूलो क्षति भएको बताए।
क्षतिको एकीन विवरण मंगलबारसम्म मात्र आउने भएपनि अनुमानित ३ करोड भन्दा बढी क्षति भएको अनुमान गरिएको बताए। खाडाको गाँउमा २०६२ सालमा पनि आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका थिए।
आगलागी पहिलेको खाडा गाउँ।
पलाँताको खाडामा भएको आगलागीमा ७ जना स्थानीयवासी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख देवेन्द्रकुमार मल्लका अनुसार घाइते हुनेहरूमा ७० वर्षकी चन्द्ररुपा संज्याल, ७० वर्षका देवराज हमाल, ३५ वर्षका विष्णुऋषि न्यौपाने, ५८ वर्षका कर्णप्रसाद न्यौपाने, १० वर्षकी करिस्मा न्यौपाने र ९ वर्षका रत्न न्यौपाने छन्। चन्द्ररुपा संज्याल गम्भीर घाइते छन्।
पलाँता गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेका अनुसार घाइते सातै जनाको स्वास्थ्य चौकी धौलागोह र वडा नम्बर १ मा रहेको स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मीहरूले उपचार गरिरहेका छन्। गम्भीर घाइते चन्द्ररुपा संज्यालको खुट्टामा टाँका लगाइएको छ। आगलागी भएपछि दौडँदा लडेर चोट लागेको उनले बताइन्।उपाध्यक्ष न्यौपानेका अनुसार अन्य घाइतेहरूको अवस्था सामान्य छ। घाइतेमध्ये कसैको हात पोलेको छ त कसैलाई चोट लागेको छ।
यसरी लाग्यो आगो
पलाँताको खाडाको गाँउ न्यौपानेहरूको पुर्ख्यौली थात हो। यहाँ अधिकांश घर न्यौपानेका मात्र छन्। गाउँको तल्लो छेउमा स्थानीय नवीन न्यौपाने र मनिचन्द्र न्यौपानेको घर छ, जहाँ महिला र केटाकेटी र केही सरकारी कर्मचारी डेरा गरेर बस्थे।
एकै पाखोमा ३ जनाको परिवार बस्ने उक्त घरको तेस्रो तला स्थानीय भाषामा पाँड (तेस्रो तला) खाली थियो। त्यहीबाट आगोको सुरुवात भएको देखिएको पलाँता गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले बताइन्।
उनका अनुसार उक्त घरको माथितिर मानिसहरू आवतजावत गर्ने सार्वजनिक बाटो छ। घरको पाखा उक्त बाटोसँगै जोडिएको छ। आफ्नै घरको माथिल्लो तलबाट आगो लाग्न थालेको घरभित्र बसिरहेका मान्छेले समेत थाहा पाएनन्।
जब गाँउभरी होहल्ला भयो अनिमात्र घरमा रहेका मान्छेहरूलाई आगो लागेको थाहा भयो। उनीहरू हतार हतार घर बाहिर आउन त सके तर आफ्नो शरीरमा सुत्दाखेरी लगाएको कपडा बाहेक केही पनि बचाउन पाएनन्।
आगलागी पीडितहरुको बिचल्ली
खाडामा आगलागीबाट पुर्खाको सम्पत्ति खरानी भएपछि पीडित ८७ घरपरिवारको विचल्ली भएको छ। राति सुतिरहेको समयमा एक्कासी आगलागी भएको खबरले हतासमा बाँच्न सफल भएका खाडावासीहरू अहिले गाँसबासिहीन भएका छन्।
'गाँउमा आगो दन्केर आफ्नो घरमा छोएपछि मात्र आगलागी भएको थाहा पाइयो। हाम फालेर ज्यान त जोगाइयो तर आफूले लगाएको टाउजर र टिसर्टबाहेक अरु केही बचाउन सकिएन' पीडित कुसराज न्यौपानेले भने, 'घरमा एक लाख ६० हजार त नगद पैसा थियो। एक हल गोरु, एक भैसी, २ गाई पनि आगोमै पोलिए। अन्य घरमा रहेको पुर्खौदेखिको सबै सम्पत्ति खरानी भयो। अब त न गास न बास भइयो।'
उनी मात्र होइन, खाडाका ८७ घरपरिवारकै अवस्था यस्तै छ। एक घरसँग अर्को घर जोडिएको गाउँ भएकाले कुनै परिवारले शरीरमा लगाएको कपडा बाहेक केही पनि बचाउन सकेनन्। गाउँमा रहेका वृद्धवृद्धा र केटाकेटीहरूलाई बचाउनै धौ धौ भयो।
स्थानीय बालऋषि न्यौपानेले भने, 'घरमा रहेको अन्य सामान जोगाउनेतिर ध्यानै गएन। मान्छे जोगाउनै ठूलो चुनौती थियो। विपत्ति परेको बेला सम्पत्ति भन्दा ज्यान जोगाउन नै ठूलो कुरा हुने रहेछ। अब बाँचेर पो अन्य कुराहरु आवश्यक भए।'
राहत संकलन अभियान
पलाँता गाउँपालिकाले आगलागी पीडितका लागि सबैसँग सहयोगको आग्रह गरेको छ। गाउँपालिकाले तत्कालका लागि ९ लाखको सामान खरिद गरी हेलिकप्टरमार्फत खाडा लिन तयारी गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। उनका अनुसार गाउँपालिकाको बजेटले प्रत्येक घरधुरीलाई एक सिरक, दुई डस्ना, एक कोरिएन कम्मल, एक सेट भाँडाकुडा र हरेक व्यक्तिलाई एक एक वटा जकेट खरिद गरी सुर्खेत विमानस्थलमा जम्मा गरेको छ।
यस्तै कर्णाली प्रदेश सरकारले प्रति घरधुरी २०/२० हजार नगद सहित खाद्यान्न वितरण गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार गृहमन्त्रालयबाट २०० कम्मल, १०० ज्याकेट, १०० ट्राउजर, ७० थान त्रिपाल आइसकेको छ।
जिल्लाबाट पनि ८७ बोरा चामल, रेडक्रसले सहयोग गरेका १२ थान भाँडाकुडा, कालिकोट उद्योग वाणिज्य संघ र च्याम्बर्स अफ कमर्सबाट खाद्यान्न र लत्ताकपडा पलाँता पठाइएको छ। राहत वितरणका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली हेलिकप्टर मार्फत पलाँता पुगेको छ।
यस्तै रातहकै लागि कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाले एक लाख, रास्कोट नगरले एक लाख, शान्नित्रिवेणी गाउँपालिकाले दुई लाख दिने घोषणा गरेका छन्।