सास्ती-दरबार !
आइतबार दिउँसो २:३० बजे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन्। खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो।
कहिले खुसी हुन्थिन्, कहिले दु:खी। उनको कम्प्युटर ‘अन’ थियो। तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन्। कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन्। टाउको मोबाइलतिर झुकाएकी थिइन्। बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कुनै काम सिंहदरबारको पुस्तकालयमा बसी घन्टौं लुँडो खेलिरहिन्।
प्रधानमन्त्री कार्यालयकै प्रशासन शाखाका कर्मचारीलाई सोधियो, ‘सर हुनुहुन्छ ? कर्मचारीले तलदेखि माथिसम्म प्रश्नकर्ताको हुलिया नियाले। त्यसपछि रुखो स्वरमा जवाफ दिए, ‘को हो तपाईं ? ’ उनको प्रश्न सातो लिने खालको थियो। विनम्र भएर फेरि सोधियो, ‘म विद्यार्थी हुँ। मलाई प्रधानमन्त्रीले गर्नुभएको कामको विवरण चाहिएको थियो।’ उनले फेरि तलदेखि माथिसम्म हेरे। ‘प्रकाशित भएको छैन। प्रकाशित भएपछि अनलाइनमा हेर्नू।’ यति भनेर उनी कुर्सीबाट उठेर बाहिर गए।
‘को हो तपाईं ? यो शब्दले खल्लो बनायो। देश चलाउने मुख्य स्थानमा बस्ने कर्मचारीको भाषाले दुखित् बनायो। दोस्रो तलाको अर्को शाखामा सोधियो, ‘सर हुनुहुन्छ ? ’ हिटर तापिरहेकी महिला कर्मचारीले पनि तलदेखि माथिसम्म हेरिन्। आँखा ठूलो पार्दै भनिन्, ‘तपाईं उहाँको को हो ? ’ हकार्ने शैलीमा भनिन्। ‘उहाँको म कोही पनि होइन। सामान्य नागरिक हुँ। किन उहाँलाई भेट्न उहाँको कोही हुनुपर्छ र ? ’ उत्तर आएपछि उनी एकछिन् चुप लागिन्। केही बोलिनन्। ‘भेट्न समय लिनुभएको छ ? ’ अलिक नम्र भएर सोधिन्। अनि अनकनाउँदै नाम टिप्न थालिन्।
पुस्तकालयमा एक जना पाठक
प्रधानमन्त्री कार्यालयभित्र एउटा पुस्तकालय छ। तर, कोही जाँदैनन्। कार्यकर्ता प्रांगणमा घाम ताप्दै बस्छन्। कर्मचारी हिटरमा आगो ताप्दै बस्छन्। ग्राउन्डफ्लोरमा रहेको पुस्तकालयमा एक जना मात्रै पाठक थिए। उनी पत्रिका पल्टाइरहेका थिए। ढोकामाथि टाँसिएको छ- पुस्तकालयभित्र कृपया मोबाइलमा कुरा नगरिदिनुहोला। तर, लाइब्रेरीकी कर्मचारी आफैं फोनमा लामो कुरा गरिरहेकी थिइन्। टेबलमाथि पत्रपत्रिका छरिएका थिए। दराजमा थन्क्याएर राखिएका छन् पुस्तकहरू। ती पुस्तक वर्षौंदेखि कसैले नपढेका जस्ता देखिन्थे। फोनमा बोलिसकेपछि महिला कर्मचारीले भनिन्, ‘यहाँ प्रधानमन्त्री आएर कहिल्यै पढ्नुभएको थाहा छैन। कुनै किताब आवश्यक पर्यो भने किनेर लगिदिन्छौं।’
पुस्तकालयको ढोकाबाहिरै दराजमा थन्किएका छन् केही पुस्तक। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा भएको कामका विवरण मोटो पुस्तकमा प्रकाशित छ। उक्त पुस्तक पनि पुस्तकालयबाहिरै छ। विद्यादेवी भण्डारीले गरेका भाषणका अंश अंग्रेजी र नेपाली दुवै भर्सनमा प्रकाशित छन्। ती किताब पनि दराजमा अटेका छैनन्। भुइँमा असरल्ल छन्। माधवकुमार नेपालको मन्तव्य भाग-३ र झलनाथ खनालका मन्तव्यहरू दराजमा बन्द छन्। राष्ट्रिय मानव अधिकारका सिफारिसहरू कार्यान्वयनको स्थितिदेखि भ्रष्टाचारविरुद्ध संयुक्त राष्टसंघीय महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्यान्वयन पनि दराजमा बन्द छ।
कार्यालयभित्र कर्मचारी एकै ठाउँमा जम्मा भई हिटर तापिरहेका थिए। कुनै कोठामा कर्मचारी मोबाइल चलाइरहेका थिए। फाइल बोकेका कर्मचारी यताउति दौडिरहेका थिए। बैठक कक्ष नजिकै शौचालय छ। त्यहाँ दुईवटा धारा छन्। तर, एउटामा पानी आउँदैन। शौचालयमा ‘अटोमेटिक ह्यान्ड ड्रायर’ छ। तर, हावा आउँदैन। कार्यालयभित्र कहीँ पनि अपांगमैत्री शौचालय छैन। प्रधानमन्त्री कार्यालयको ढोका र तला तलामा टाँसिएको छ शपथ ग्रहणको अंश। जहाँ लेखिएको छ-म भ्रष्टाचार गर्दिनँ। म भ्रष्टचार हुन दिन्नँ। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।
प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद घिमिरे अहिले पुस्तकालय सुधारिएको बताउँछन्। कार्यालय समयभित्रै लुँडो खेल्ने कर्मचारीलाई त्यसो नगर्न आग्रह गरिने उनले बताए।
पर्खालभित्र सिंहदरबार
थोत्रा गाडीको ‘डम्पिङ साइट’
प्रधानमन्त्री कार्यालयअगाडि फुच्चे धरहरा राखिएको छ। गाडीहरू पछाडि पार्किङ गरिएका छन्। अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खाली देखिन्छ। तर, प्राय: सम्पूर्ण मन्त्रालयको वरपर प्राडो, पजेरोको भीड देखिन्छ। गाडीहरू जथाभावी पार्किङ गरिएका छन्।
सिंहदरबारभित्र प्रत्येक मन्त्रालयवरिपरि थोत्रा गाडी बगे्रल्ती छन्। वर्षैांदेखि थन्किएका यस्ता गाडी अनेक ब्रान्डका छन्। प्राडो, पजेरो, निशान (शन्नी), फोर्ड, टक्सनजस्ता ब्रान्डेड कम्पनीका थोत्रा गाडी सिंहदरबारभित्र छन्। न कसैले बनाएर चलाउँछ, न त्यहाँबाट अन्यत्र हटाउँछ। जताततै यस्ता थोत्रा गाडी मिल्किएको देख्दा लाग्छ-सिंहदरबार थोत्रा गाडीहरूको डम्पिङ साइट हो।
मोटरबाइक र साइकलहरू पनि प्रशस्तै छन्। रेडियो नेपाल परिसरमा २०÷२५ वटा थोत्रा र बिग्रिएका साइकल र मोटरसाइकल लडाएर राखिएका छन्।
पुनर्निर्माण प्राधिकरणको कार्यालय, सिंहदरबार। प्राधिकरण अघिल्तिरको पार्किङमा बिग्रिएका थोत्रा गाडी थुप्रै छन्। वर्षौंदेखि नचलेका जस्ता देखिने यी गाडी पार्किङमा मिलाएर राखिएका छन्। सिंहदरबारभित्रका खाली जग्गामा सयौं संख्यामा बिग्रिएका गाडी छन्। प्रधानमन्त्री कार्यालयका सूचना अधिकारी घिमिरे पुराना गाडी लिलाम गर्दा सरकारलाई खासै फाइदा नहुने बताउँछन्। पुराना गाडी व्यवस्थापन गर्ने काम अगाडि बढिरहेको उनले बताए। उनले भने, ‘पुराना गाडी पहिलेको तुलनामा अहिले घटेको छ। त्यसको व्यवस्थापनको काम भइरहेको छ।
अव्यवस्थित पार्किङ
पुराना गाडीले ठाउँ ओगटेपछि नयाँ गाडी पार्किङ गर्न सकस भइरहेको देखिन्छ। ठाउँ-ठाउँमा बोर्ड टाँसेर फुटपाथमा पार्किङ नगरिदिनुहोला भन्दै सूचना जारी गरिएको छ। तर, नेताका गाडीले नियम मिचेका छन्।
दिउँसो १ बजे। कृषि तथा पशुपक्षी विकास मन्त्रालय परिसरमा नेताहरूका नयाँ ब्रान्डका गाडी आएर रोकिए। पार्किङ गर्ने ठाउँ थिएन। सूचनाको धज्जी उडाउँदै मान्छे हिँड्न बनाइएको सडकपेटी ढाकेर नेताका गाडी पार्किङ गरियो। काम लिएर सिंहदरबार छिरेका एक पैदलयात्री भन्दै थिए, ‘सडकमा मन्त्रीको गाडीको लावालस्कर छ। फुटपाथमा पनि पार्किङ गर्या छ।’
शिक्षा मन्त्रालयको पार्किङ पनि गतिलो छैन। ‘मन्त्रीको पार्किङ स्थल’, ‘सचिवको पार्किङ स्थल’ आदि-आदि लेखेर बोर्ड राखिएको छ। अरू आउने नेता तथा सेवाग्राहीले कहाँ पार्किङ गर्ने ? पार्किङस्थल नै छैन। सबैले गाडी राक्ने फुटपाथमै हो। यो समस्या एक÷दुई वटा मन्त्रालयमा मात्र हैन, सिंहदरबारभित्र जहीँ-तहीँ देखिन्छ। मन्त्रालयले पार्किङका लागि पर्याप्त ठाउँ नराख्दा सिंहदरबार एकदमै अव्यवस्थित भएको छ। बेलुकी अफिस समय सकिँदा त सिंहदरबारभित्रै जाम हुन्छ।
सुन्दर सिंहदरबार
दिउँसो ३:३० बजे। प्रधानमन्त्री कार्यालय अगाडिको पार्कमा एक हुल कर्मचारी र प्रहरी निस्किए। गार्डेनमा आएर कोही कुटो समाउन थाले। कसैले फूलको बिरुवा बोक्न थाले। कसैले पानी ल्याए। वातावरण रमाइलो बन्यो। सबै जनाको चेहरा हँसिलो थियो। कोही भन्दै थिए, ‘कहिलेकाहीँ माटो पनि छुनुपर्छ।’ बाटोमा हिँड्दै गरेको कर्मचारीलाई बोलाउँदै कोही भन्दै थिए, ‘हामी त यस्तो अभियानमा पो लागेका छौं त।’
सबैले हाँसी-हाँसी रोप्न थाले फूल। तर, फूल रोप्ने ठाउँमा केही फरक दृश्य देखियो। निकै जोसिएर पुगेका कर्मचारी र प्रहरीहरू क्षणभरमै विभाजित भए। उपल्ला स्तरका जस्ता देखिने कर्मचारी र प्रहरी अधिकृतहरू दुई÷तीन वटा फूल रोपेपछि सेल्फी खिच्न लाग्थे। तल्लो पोस्ट (तह) का प्रहरी र कर्मचारीले भने फूल रोपिरहे। एकछिनपछि तल्लो पोस्ट (तह) का कर्मचारी र प्रहरीले पनि काम पूरै नसकिँदै सेल्फी खिच्न थाले। राजनीतिक दलका कार्यकर्ता देखिएनन्। बरु, उनीहरू चौरमा घाम तापिरहेका थिए। केही मजदुर कुनामा बसी इँटा खुर्किरहेका थिए।
सिंहदरबारबाहिर धुलो र धुँवाले सडक छोपिएको छ। वायु प्रदूषणले मास्क नलगाई हिँड्न सकिन्न। तर, सिंहदरबारभित्र त्यस्तो धँुवा धुलो देखिन्न। न धुलो उडेको छ न सडक खनेर अलपत्र पारिएको छ। फोहोरको डंगुर छैन। कंक्रिटको जंगल पनि हैन। न छ पानीको अभाव। गाडीको चर्को हर्न पनि छैन। पर्खालभित्र सिंहदरबार सुन्दर र शान्त छ। चिल्ला सडकमा कर्मचारी, मन्त्री र नेताहरू हिँडिरहेका देखिन्छन्। रंगरोगन गरिएका ठुल्ठूला महल। रंगीचंगी फूलहरू। प्रशस्त खाली ठाउँ। यी सबैले सिंहदरबारलाई सुन्दर देखाएको छ।
गृहमा पूर्वलडाकु निषेध
कुनै बेलाका विद्रोही कमान्डर रामबहादुर थापा अहिले गृहमन्त्री छन्। उनकै मन्त्रालयभित्र गत महिना एक घाइते पूर्वलडाकुले विषपान गरी आत्महत्याको प्रयास गरे। उक्त घटनापछि पूर्वघाइते लडाकुहरू अनशन बस्न माइतीघर पुगे। गृहमन्त्रीलाई भेटेर उपचारको आग्रह गर्दै गुनासो गरे। तर, माग पूरा भएन। अनशन बस्दाबस्दै माग पूरा भएन। बरु स्वास्थ्य बिग्रियो। उनीहरू अहिले वीर अस्पतालमा छन्।
अनशनरत उनीहरू सबै तल्ला तहका छन्। तर, उपल्ला स्तरका लडाकु कमान्डरहरू भने गृहमन्त्रीको सचिवालयमा भरिभराउ छन्। सोधपुछ कक्षदेखि स्वकीय सचिवालयसम्म पूर्वलडाकुका कमान्डरहरूको सेटल भइसकेको छ। तल्ला तहका लडाकु भने सडकमा अनशन बसिरहेका छन्। पहिला सहजै गृह मन्त्रालय छिरेर आफ्ना पूर्वकमान्डरलाई गुनासो पोख्थे। अहिले उनीहरू सहजै गृह मन्त्रालय छिर्न सक्दैनन्। मन्त्रालयबाट गेटमा नाम नपठाउँदा कतिपय गेटबाटै फर्किएका छन्।
मन्त्रालयको गेटमा पहिला असइको नेतृत्वमा प्रहरी खटिएका थिए। अहिले सइको नेतृत्व खटिएका छन्। सचिवालयका कर्मचारीहरू पूर्वलडाकुको कुरा सुन्नेबित्तिकै कान ठाडोठाडो पार्छन्। उनीहरू त्यसबारे एक शब्द बोल्न चाहँदैनन्। सचिवालयमा भेटिएकी एक पूर्वमाओवादी नेत्री भन्दै थिइन्, ‘जनमुक्ति सेनाबारे सोध्दै आउने तपाईंहरू को हो ? ’
पूर्वघाइते लडाकुहरू जीवन निर्वाह भत्ता र औषधोपचारसहितको माग राखी १३ दिनदेखि अनशनमा रहेको रुकुमका पूर्वघाइते लडाकु अभिलास घर्तीले बताए। उनले पहिला गृह मन्त्रालय जान सहज भए पनि अहिले भित्र पस्नै नदिएको बताए। भने, ‘अहिले हामीलाई गृह मन्त्रालयमा पस्नै दिँदैनन्।’
पर्खालबाहिर सिंहदरबार
राजारानीको तस्बिर हेर्न सिंहदरबारमा
‘हामी त राज्यारानीको तस्बिर हेर्न आया हौं।’ आइतबार दिउँसो २:१० बजे। सिंहदरबारको गेटबाहिर एक महिलाले उत्साहित हुँदै सुनाइन्। ती महिला जाजरकोटकी रहिछन्। उनको कुरा सुनेर वरिपरिका मानिसले कान ठाडो पारे। झ्याल नं. १ सँगै उभिएका एक व्यक्तिले सम्झाउँदै भने, ‘यहाँ राजारानीको तस्बिर हुँदैन। यहाँ त प्रशासनिक काम मात्र हुन्छ।’ ती महिलाले कुरो बुझिनन्। फेरि सोधिन्, ‘क्या हुन् प्रशासनिक भन्या ? उनले जवाफ पाइनन्। उत्तर दिने ती व्यक्ति हिँडिसकेका थिए।
करिब ३० वर्षकी ती महिलाले कलेजी रंगको कुर्तामा क्रिम कलरको स्विटर लगाएकी थिइन्। पिठ्यँुमा एक÷डेढ वर्षको बच्चा मस्त निदाइरहेको थियो। बच्चाको आधा शरीर पिठ्यँुभन्दा बाहिर झोल्लिएको थियो। महिलाले बच्चालाई जतन गरी पछ्यौरीले बाँधेकी थिइन्। अर्का ८÷१० वर्षका छोरा उनको नजिकै उभिएर यताउता हेरिरहेका थिए। ठूलो आवाजले सडकमा गाडी हुइँकिँदा सडकतिर हेर्थे। अनि आमाको नजिकै गएर टोलाउँथे।
साथमा थिइन् दुब्लो ज्यान भएकी ७० नाघेजस्ती देखिने बूढीआमा। टाउको खास्टोले बाँधेकी थिइन्। अनुहार चाउरी परेको थियो। गाला ख्याप्टो थियो। बुलाकी र फुली लगाएकी थिइन्। निधार चाउरी परेको थियो। उनले नाकमा सुनको बुलाकी र फुली दुवै झुन्ड्याएकी थिइन्। दुर्गमबाट आएका उनीहरू तीन जना करिब एक घण्टा गेटमै अलमलिएर टोलाइरहे।
ती महिला राजारानी बस्ने ठाउँ नहेरी नजाने योजनामा पुगिन्। सिंहदरबार छिर्न पास लिने झ्याललाई ती महिलाले टिकट काउन्टर सोचिन्। छेउछाउमा उभिएका सेवाग्राहीलाई पटक-पटक सोधिन्, ‘राजदरबार हेन्र्या ठूलो रहरले आया हौं। सय रुपैयाँमा टिकट पाइन्छ भन्याथे। हैन र ? ’
गेटबाहिर ५ घण्टा
बिहान १० बज्नुभन्दा पहिल्यै सिंहदरबार छिर्नेहरूको लर्को लागिसक्छ। सचिवस्तरीय कर्मचारी ८ बजेतिरै कार्यालय आइपुग्ने हुँदा सर्वसाधारण नाम लेखाइदिन फोनबाटै आग्रह गर्न थाल्छन्। निकैबेरसम्म पनि नाम नआउँदा पटक-पटक फोन घुमाउँछन्। ‘हजुर म यता आइसकें। पास लिन नामचाहिँ पठाइदिनू न।’ ‘हजुर नाम अझै आएन। म कुरिरहेको छु।’ ‘हजुर फोन किन नउठाउनुभएको मैले कत्तिपटक फोन गरिसकेँ।’ सिंहदरबारको दक्षिणी गेटमा सुनिने शब्द हुन् यी। सिंहदरबारभित्र आफन्त साथीभाइ हुनेले छिट्टै जान पाउँछन्। कोही नहुनेहरू यसरी नै गेटमा घण्टौं पर्खिन्छन्।
बिहान १०:२५ बजे। अनुपविक्रम शाही सिंहदरबार आइपुगे। उनलाई भौतिक मन्त्रालय जानु थियो।। ठीक ११ बजे मन्त्रालयका केही चिनेजानेकालाई फोन गरे। भित्रबाट नाम लेखाइदिने पक्का भयो। केही समय कुरेपछि झ्याल नं. १ मा गएर सोधे। भित्रबाट नाम नआएको उत्तर आउँछ। उनी फेरि फोन घुमाउँछन्। ‘सर म अनुपविक्रम शाही बोलेको। मेरो नाम अझै आएन।’ फोनमा एकछिन कुर्न भनिन्छ। उनी फेरि कुर्न थाले। कुर्दा-कुर्दा नाम नआएपछि उनी कहिले हनुमानथानतिर लाग्छन्, कहिले पश्चिमतिर जान्छन्। उनले कुर्दाकुर्दै दुई घण्टा बित्यो। तर, नाम आएन। एक बजेपछि फेरि फोन गरे। फेरि उही कुरा दोहोर्याउँछन्- सर म अनुपविक्रम.....।
अघिको जस्तै आश्वासन पाए। फेरि कुर्न थाले। कुर्दाकुर्दै ३ बजेर १५ मिनेट बित्यो। तर, उनी भित्र गएनन्। बाहिरै डुलिरहे। फोन गरिरहे। अब उनले गर्ने फोन लाग्न छाड्यो। त्यसपछि उनी निरास हुँदै साढे ३ बजे त्यहाँबाट हनुमानथानतिर सोझिए।