कांग्रेस अब नयाँ संरचनामा
काठमाडौं : पुरानो दल कांग्रेसको सांगठनिक संरचना केन्द्रदेखि टोल तहसम्मै फेरिने भएको छ। महासमितिले आइतबार पारित गरेको विधान अनुरुप कांग्रेसले नयाँ संरचना अपनाउनेछ। मुलुकको पछिल्लो संरचनाअनुरुपको विधानलाई विधानलाई दुई तिहाइले अनुमोदन गर्यो।
केन्द्रीय समितिमा अब सभापतिसहित १४ पदाधिकारी रहनेछन्। केन्द्रीय समितिको संख्या १ सय ६८ पुगेको छ। १४ पदाधिकारीमध्ये २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन्। ८ सहमहामन्त्री समावेशी क्लस्टरको आधारमा निर्वाचित हुनेछन् भने कोषाध्यक्ष चाहिँ सभापतिले मनोनित गर्नेछन्।
केन्द्रीय समितिमा ३५ जना खुला प्रतिस्पर्धा मार्फत निर्वाचित हुनेछन् भने ९ जना महिला पनि प्रत्यक्ष निर्वाचित सदस्य बन्ने छन्। सातवटै प्रदेशबाट १ महिलासहित ३ जना सदस्य निर्वाचित भएर २१ जना प्रदेश स्तरीय सदस्य बन्ने छन्।
केन्द्रीय सदस्यमा समावेशी क्लस्टरतर्फ ४ महिलासहित ९ दलित, ७ महिलासहित १५ जना आदिवासी जनजाति, ६ महिलासहित १३ जना खसआर्य, ४ महिलासहित ९ जना मधेसी, २ महिलासहित ४ जना थारु, एक महिलासहित ३ मुस्लिम, १ जना पिछडिएको क्षेत्रबाट, १ जना अल्पसंख्यक र १ जना अपांगता भएका व्यक्ति सिफारिस हुनेछन्। सभापतिसँग २० प्रतिशत मनोनित गर्ने अधिकार छ। उनले सबै समावेशी क्लस्टर मिलाउँदै ३३ जनालाई मनोनित गर्न पाउने छन्।
कांग्रेसको विधानअनुसार केन्द्रदेखि टोलसम्म ८ तहमा पार्टीको कार्यसमिति बन्नेछ। प्रदेशमा ९, जिल्लामा ८, प्रतिनिधिसभा क्षेत्रीय समितिमा ८, प्रदेशस्तरीय क्षेत्रीय समितिमा ८, महानगर, उपमहानगर, नगर र गाउँपालिकामा ८ सदस्यीय पदाधिकारी सहितको कार्यसमिति बनाउने व्यवस्था छ। वडा कार्यसमिति २५ देखि ४० तथा टोल कार्यसमिति ११ सदस्यीय बनाइने छ।
प्रदेशमा कुल प्रतिनिधि संख्याको एक तिहाई, हरेक जिल्लाबाट एक महिला र एक पुरुषसहित समावेशी प्रतिनिधत्व हुनेछ। अपाङ्गता र अल्पसंख्यक समुदायको प्रतिनिधित्व पनि रहनेछ। निर्वाचित सभापतिले प्रदेश कार्यसमितिको कुल संख्याको २० प्रतिशत मनोनित गर्न पाउने छन्।
८ सदस्यीय जिल्ला पदाधिकारी समितिमा केन्द्र र प्रदेशझैँ कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन्। जिल्ला कार्यसमितिमा हरेक स्थानीय तहबाट सदस्य निर्वाचित भएर आउने, क्षेत्रीय समितिको प्रतिनिधत्व हुने व्यवस्था छ। जिल्ला कार्यसमितिमा सबै समुदायको सक्दो प्रतिनिधित्व हुनेगरी समानुपातिक निर्वाचन गराउन भनिएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिमा प्रदेशसभाका क्षेत्रीय सभापतिहरुलाई स्वतः उपसभापति बनाइनेछ। त्यस्तै, प्रदेशसभा क्षेत्रबाट निर्वाचित १ महिलासहित ३–३ जना पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिमा हुनेछन्। १ महिलासहित ४ जना चाहिँ प्रत्यक्ष निर्वाचित हुनेछन्।
प्रदेशसभा निर्वाचन क्षेत्रमा मातहातका सबै स्थानीय तहका प्रमुख पदेन सदस्य रहने छन्। आवश्यकताको आधारमा वडा र टोल कार्यसमितिका सभापतिलाई समेत राख्न सकिने जनाइएको छ। नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिमा सम्बन्धित स्थानीय तहमा रहेको जनसांख्यिकीअनुसार समानुपातिक प्रतिनिधत्वको व्यवस्था कांग्रेसले गरेको छ। गाउँपालिकामा पनि ८ पदाधिकारी हुनेछन्। महानगरको वडामा ४४, उपमहानगरको वडामा ३८, नगरको वडामा ३२ र गाउँपालिकाको वडामा २५ सदस्यीय कार्यसमिति रहनेछ। टोल कार्यसमिति ११ सदस्यीय बनाउने विधानले व्यवस्था गरेको छ।
जिल्लामा मतभेद नराखी काम गर्नुस् : देउवा
सभापति शेरबहादुर देउवाले जिल्लामा गएर पार्टीमा कुनै मतभेद नराखी काम गर्न सभापतिहरुलाई निर्देशन दिएका छन्। सोमबार आफ्नै निवासमा आएका जिल्ला सभापतिहरुलाई उनले अब पार्टीमा कुनै विवाद नरहेको बताए। ‘जिल्ला पुगेर पार्टीको संगठन बलियो र चुस्त बनाउन आवश्यक छ,’ उनले भने, ‘विधानको भावनाअनुसार गाउँगाउँ पुगेर काम गर्नुस्।’ उनले पार्टी पंक्ति एक भएर अघि बढ्न निर्देशन दिए।