सिरियाबाट अमेरिकी सैनिक फिर्ती आदेशमा हस्ताक्षर
वासिङटन : सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो।
टर्कीले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने विषयलाई स्वागत गरेको छ। गृहयुद्धबाट तहसनहस भएको सिरियाबाट फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको घोषणाले अमेरिकी साझेदार मुलुक र नेताहरूलाई अचम्भित बनेका थिए। सिरियामा संघर्षरत इस्लामिक स्टेट (आइएस) का लडाकुविरुद्धको कारबाहीमा बहुराष्ट्रिय सेनासँगै करिब २ हजार अमेरिकी सैनिक सिरियामा तैनाथ छन्। अमेरिकी सैनिक फिर्तीको आदेशको विस्तृत विवरण भने दिइएको छैन।
अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा युद्धरत आइएस समूहका बाँकी लडाकुलाई परास्त गर्ने टर्कीका राष्ट्रपतिले विश्वास दिलाएको खुलासा गरेका छन्। एर्दोगानसँगको भेटपछि राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भने, ‘टर्कीका राष्ट्रपतिले सिरियामा जेजति आइएसका लडाकु छन्, उनीहरूलाई टर्कीले परास्त गर्न सक्षम रहेको विश्वास दिलाउनुभएको छ।’ एर्दोगान यो विषय सुल्झाउन सक्षम व्यक्तित्व भएको ट्रम्पले दाबी गरेका छन्।
यो कदमबाट आइएसविरुद्ध अमेरिकी सेनालाई सघाएका कुर्दिस लडाकुमाथि कारबाही गर्न टर्कीलाई छुट प्राप्त हुनेछ। कुर्दिस लडाकुलाई अमेरिकीले मित्रशक्ति माने पनि टर्कीले आतंककारीको रूपमा लिने गर्दछ। टर्कीको राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको वक्तव्यमा दुबै राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा पनि दुबै मुलुकले सैनिक, कूटनीतिक तथा शक्तिको रिक्ततालाई हटाउन समन्वयात्यक रूपमा कार्य गर्न सहमति भएको छ। उक्त वक्तव्य आउनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले समेत ट्विट गरी दुबै देशले आगामी दिनमा गर्नुपर्ने सहकार्यका बारेमा रचनात्मक छलफल भएको बताएका थिए। कुर्दिस मामिलासम्बन्धी विश्लेषक मुट्लु सिभिरोग्लुले यो सम्झौतापछि कुर्दिसमाथि हमला गर्न टर्कीलाई बाटो खुलेको बताउँदै फेरि रक्तपातपूर्ण युद्ध शुरु हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे।
आइएस परास्त भइनसकेको र सिरियामा जारी गृहयुद्ध समाप्त समेत नभएको अवस्थामा सिरियामा तैनाथ सैनिक फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको घोषणालाई लिएर देशभित्र र बाहिर आलोचना भइरहेको छ। दुबै नेताबीच वासिङटनमा भएको भेटवार्ता मुख्यतः सिरियामा सक्रिय आइएस समूह र अमेरिकी फौजको फिर्तीका विषयमा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ।
माक्रोँ चिन्तित
फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकी राष्ट्रपतिको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन्। उनले सिरियामा आइएससँग लड्न विश्वसनीय मित्र आवश्यक भएको पनि चर्चा गरे। अमेरिकाले भने पनि सिरियामा आइएस नष्ट नभएको बताएका छन्। आफ्ना मित्र शक्तिसँग सल्लाह नगरी ट्रम्पले एक्कासि निर्णय गरेको भन्दै दुःख व्यक्त गरे। सिरिया र इराकमा आइएसविरुद्ध अमेरिकी नेतृत्वलाई साथ दिएको स्मरण गराउँदै अमेरिकाले युद्ध बीचैमा छोडेको उनको गुनासो थियो। उनले फ्रान्सेली सैनिक भने सिरियाबाट फिर्ता नहुने स्पष्ट पारे।
फ्रान्सेली सैनिकलाई सम्बोधन गर्दै माक्रोँले भने, ‘सहयोगी हुनुको मतलब काँधमा काँध मिलाएर लड्नु हो। राष्ट्र प्रमुख र सेना प्रमुखका लागि यो निकै महत्वपूर्ण विषय हो।’ यसै विषयमा विवाद हुँदा अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिएका थिए।