बंगलादेशको आमनिर्वाचनमा दुई बेगमको भिडन्त

बंगलादेशको आमनिर्वाचनमा दुई बेगमको भिडन्त

ढाका : बंगलादेशमा संसद्का लागि हुने आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिना र विपक्षी नेतृ खालिदा जियाको दलबीच प्रतिस्पर्धा हुँदै छ। प्रधानमन्त्री हसिनाकी प्रतिद्वन्द्वी खालिदा जिया ढाकाको जेलमा बन्दी छन्। तैपनि दुबै नेतृहरू चुनावमा विजयी हुने आशामा छन्।

बंगलादेशका ‘झगडालु बेगम’हरू विगत तीन दशकदेखि एकअर्काविरुद्ध लडिरहेका छन्। यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासीन हुने रेकर्ड बनाउनेछिन्। यी दुबै महिला नेतृहरू सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रूपमा सक्रिय छन्। हाल ७३ वर्ष पुगेकी खालेदा जिया पूर्व सैनिक तानाशाहकी श्रीमती हुन् भने हसिनाका बंगलादेशका संस्थापक नेताकी छोरी हुन्।

यी दुबै महिला नेतृले जनआन्दोलनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्शादलाई सत्ताच्युत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए। विडम्बना, सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो। त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन् र प्रतिशोधको राजनीति चरम विन्दुमा पुगेको छ। हसिना आगामी निर्वाचनबाट चौथोपटक प्रधानमन्त्री हुने तयारीमा छन्। चुनावी मतसर्वेक्षणमा उनको पक्षमा पहिलेझैं मत प्राप्त नहुने देखाएको छ।

सरकारले विपक्षीमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप उनीमाथि छ। विपक्षी दलकी अध्यक्ष जिया भ्रष्टाचारको आरोपमा १७ वर्ष लामो जेल सजाय भोगिरहेकी छन्। उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप राजनीतिक प्रेरित रहेको भन्दै आलोचना गरिरहेको छ। बंगलादेशी कानुनबमोजिम जियाले चुनाव लड्न पाउँदिनन्। बीएनपीले चुनाव स्वच्छ र पारदर्शी रूपमा हुन नसक्ने दाबी गरेको छ। हालैका महिनामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ।

जिया अहिले बाथ तथा मधुमेह रोगबाट पीडित छन्। उनको हालैमात्र घुँडाको प्रत्यारोपण गरिएको थियो। उनी आफैँले मुश्किलले मात्र हिँड्न सक्छिन्। उनी राजनीतिमा पुनः सक्रिय हुने सम्भावना निकै कम देखिएको छ। ‘उहाँको राजनीतिक यात्रा समाप्त भइसक्यो’, ढाकास्थित एक कूटनीतिज्ञले भने। जियाको एकमात्र सम्भावना भनेको औषधोपचारका लागि विदेश जान पाउने अधिकारको खोजी मात्र हो। जियाको कमजोर परिस्थितिले उनको परिवारमै संकटको बादल मडारिएको छ।

जियाका कान्छा छोराको सन् २०१५ मा निर्वासनकै क्रममा बैंककमा मृत्यु भएको थियो। उनका जेठा छोरा तारिक रहमान सन् २००८ देखि लन्डनमा निर्वासित छन्। तारिकले सन् २००१ को निर्वाचनमा जियालाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अक्टोबरमा तारिकविरुद्ध आजीवन कारावासको सजाय सुनाइएको छ। उनीमाथि सन् २००४ मा हसिनाले ढाकामा आयोजना गरेको चुनावी र्‍यालीमा ग्रिनेड आक्रमणको नेतृत्व गरेको आरोप छ। उक्त आक्रमणमा २० जनाको मृत्यु भएको थियो।

विश्लेषकहरूको भनाइमा चर्चामा नरहे पनि चुनावमा जियाको प्रभाव निकै छ। ‘हो, केही समयका लागि दुई बेगमबीचको शक्ति संघर्ष ओझेलमा परेको देखिएको छ’, इलिनोइस स्टेट युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक अलि रियाजले भने, ‘तर खालिदा जियाको राजनीतिक युग सकिएको अहिल्यै ठोकुवा गर्नु ठीक होइन। जिया चुनावमा उम्मेदवार नभए पनि उहाँको नाम र प्रभाव सकिएको छैन।’ जियाको कठिनाइ सन् २०१४ को चुनाव बहिष्कार गर्ने निर्णयपछि अझ बढेको हो। हसिनाले बंगलादेशमा चुनावी सरकार गठन गर्ने प्रणाली खारेज गरेपछि चुनावमा व्यापक धाँधली भएको बीएनपीको आरोप छ।

उक्त चुनावपछि भड्किएको हिंसामा दर्जनौं व्यक्तिको मृत्यु भयो। अर्को वर्ष राष्ट्रव्यापी सडक तथा रेलमार्ग अवरुद्ध पार्ने अभियान चलाइयो। उक्त अभियानको मुख्य उद्देश्य मध्यावधि चुनावका लागि हसिनालाई बाध्य पार्नु थियो तर चुनाव भएन। बरु १५० भन्दा बढी मानिस मारिए। जियाको दलको आह्वानमा भएको यस आन्दोलनले आममानिसलाई क्रुद्ध बनायो। विश्लेषकहरूका अनुसार बीएनपीमाथि जाइलाग्न हसिनालाई यो आन्दोलनले उल्टै मद्दत गरेको थियो।

‘चुनाव बहिष्कार गर्ने तथा नाकाबन्दी गर्ने निर्णय दुबै आत्मघाती ठहरिए’, ढाकास्थित राजनीतिशास्त्री प्राध्यापक अताउर रहमानले भने, ‘यो अभियानले पार्टीलाई कमजोर बनायो र विपक्षीमाथि जाइलाग्न ठूलो अवसर सिर्जना गर्‍यो। यो परिस्थितिले त्यसयता एकदलीय राजनीतिक प्रणालीका रूपमा हसिनाको दल उभिएको छ।’

केही मानिसको विश्वासमा जियाको परिवारले बीएनपीमाथिको नियन्त्रण गुमाउने स्थिति देखा परिसकेको छ। पार्टीका निमित्त अध्यक्ष रहेका जियाका छोराले लन्डनबाटै भिडियो संवादमा पार्टीका सम्भावित उम्मेदवारको अन्तर्वार्ता गरेका थिए। ‘यसले के संकेत गरेको छ भने जियाको वंश अझै पनि निकै बलियो छ र पार्टीभित्र बलियो प्रभाव कायम राखेको छ’, ओस्लो विश्वविद्यालयका प्राध्यापक मुबासर हसनले टिप्पणी गरे।

निर्वाचनका बेला रोहिंज्या शिविर बन्द गरिने

 बंगलादेशमा रहेका रोहिंज्या शरणार्थी शिविरहरूलाई निर्वाचनका बेला बन्द गरिने भएको छ। देशभरका शिविरमा रहेका झण्डै दश लाख रोहिंज्या मुस्लिमहरूलाई आगामी तीन दिन शिविर बाहिर निस्कन नदिने व्यवस्था गर्न लागिएको अधिकारीले सोमबार जानकारी दिएका छन्।

विषेशगरी दक्षिणपूर्वी सीमा क्षेत्रका जिल्लामा रोहिंज्या शरणार्थीहरू बस्दै आएका छन्। म्यान्माको सरकारी सेनासँगको मुठभेडपछि रोहिंज्या समुदायका लाखौं व्यक्ति शरणका लागि बंगलादेश छिर्न बाध्य भएका हुन्। निर्वाचन आयोगले सबै अधिकारीलाई कोक्स बजारबाट शरणार्थीलाई निर्वाचन अवधिभर नियन्त्रणमा आह्वान गरेको छ।

 ‘सुरक्षाको कारणले यस्तो गर्नुपरेको हो, गैरसरकारी संस्थाका कार्यकर्ताहरूलाई पनि बन्देज गरिएको छ, आपत्कालीन अवस्था बाहेक अन्य अवस्थामा उनीहरूलाई पनि शिविरमा आवतजावत गर्न नपाइने गराइएको छ’, अधिकारीले भने। डिसेम्बर ३० मा हुने संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दल र खालिदा जियाको दलका बीचमा प्रतिस्पर्धा हुन लागेको छ।  एएफपी 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.