जनप्रेमी नेतृत्वको अभाव

जनप्रेमी नेतृत्वको अभाव

रातभरको वर्षापछि आएको भेलले समुद्रका माछा पाखा लाग्छन्। भोलिपल्ट बिहानै एक बालक समुद्रको किनारमा पुग्छन्। समुद्री किनारमा रहेका हजारौं माछा जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेको देखेर भावविह्वल हुन्छन् र एकएक माछा टिप्दै पानीमा फाल्छन्। एकजना सज्जन त्यहीं आइपुग्छन् र भन्छन्– बालक के गरिरहेछौं ? बालक भन्छ –यी किनारमा छट्पटाइरहेका माछालाई प्राण दिने कोसिस गरिरहेको छु। सज्जन थप्छन्— यो काम सम्भव देख्दिनँ बाबु म, यी हजारौं माछालाई कसरी बचाउँछौ तिमी ? बालकले एउटा माछा हातमा लिन्छन्, सज्जनलाई देखाउँछन् र फुत्त पानीमा फालेर भन्छन्— यी एउटा माछा त बचाएँ नि !

आज यो बोध कथाले हाम्रा नेतृत्वगण, सरोकारवाला पक्षको समझमा केही बोध गराउन सक्षम होला त ? चिसोले कठ्यांग्रिएका कैयन् आत्मामध्ये एकदुईजनालाई बचाउन सके पनि समृद्धिमा एउटा इँटा थपिन्थ्यो कि ? यो जाडोमा तुइन चढेर विद्यालय आवतजावत गर्ने केटाकेटीलाई, सिटामोल र सामान्य उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था भएका हाम्रै नेपाली दाजुभाइ, बाआमालाई केही गर्न सके समृद्धिको सानो झलक मिल्थ्यो कि ? राज्यले अनावश्यक ठाउँमा गरेको अर्बौं खर्चलाई दीनदुःखीको छाक टार्न र आङमा न्यानो लुगा पुर्‍याउन सके थोरै समझको विकास भएको मानिन्थ्यो कि ? व्यक्ति र समूह मिलेर कैयन् वृद्धा श्रम र असहायलाई सहयोग पुर्‍याइरहँदा राज्यले आफ्नो दायित्वबोध कहिले गर्ला ?

विश्व शान्ति र विश्व वातावरणको संरक्षणबारे जति चिन्ता छ, त्यसको एक अंश मात्र आफ्ना निरीह जनताका बारेमा चासो राख्ने गरे समृद्धिको भाषण सार्थक हुने थियो।

व्यक्ति धन बढाउन खोज्छ, शिक्षा बढाउन खोज्छ, पदमा बढोत्तरी चाहन्छ तर समझ बढाउन किन खोज्दैन ? प्रेम बढाउन किन खोज्दैन ? सबै विकासका आयाम प्रेम र समझमा आधारित छन् भन्ने बोध कहिले होला ? विवेक पुगेन भनौं भने विवादास्पद अन्तर्राष्ट्रिय कार्यक्रमसमेत देशमा सम्भव हुन्छन्,

घर भएका प्रतिनिधिले समेत घर भाडा बुझ्छन्, विदेश भ्रमण र औषधोपचार बिर्संदैनन्।

विवेक र समझ छ भनौं भने चिसो सिरेटोले कामेका जनताप्रति ध्यान जाँदैन। गाडी चढेर हिँड्दा बाटो भुलेर घर नआएको मानिस कोही होला ? अवश्य छैन, ऊ युटर्न गरेर भए पनि आफ्नो बाटोमा पुग्छ र सकुशल घर पुग्छ। यसलाई समझदारीको सूत्र बनाएर विगतका गल्तीबाट पाठ सिकेर युटर्न गर्दै आगामी कार्ययोजना, सुशासन र समृद्धिलाई नयाँ आयामबाट विकास गर्ने

उच्च तहदेखि निम्न तह र तप्कामा हरेक पद र सुविधामा राजनीतिक भागबन्डाको असर पर्ने हुनाले त्यसको चपेटामा सर्वसाधारण जनता पर्ने गरेका छन्।

सम्भावना खोज्नु जरुरी छैन र ? मुटुमा आएको समस्या खुट्टाको उपचार गरेर समस्या समाधान हुँदैन। समस्या पहिचान गर्न सक्ने समझको विकास नभएकै हो त ? छोराले गृहकार्य गरेन भने चक्लेट दिन्न भनेर गरिने जस्ता सर्त सरकार र नागरिकका बीचमा लाग्यो भने विकृत भावना र भ्रष्टाचार वृद्धि हुँदै जानुको विकल्प छैन। राष्ट्रमा सल्बलाइरहेको ज्यादती, बेथिति र कमजोरीलाई अब धेरै समय लुकाएर राख्न सक्ने अवस्था देखिँदैन। किनकि समृद्धि एउटा शैली बन्नुपर्छ। समृद्धि आचरण, बफादारी, स्वाभिमान र आत्मसम्मानबाट आउनुपर्छ। व्यक्तिको स्वभाव लुकाएर लुक्दैन, अझै बोलेर व्याख्या गरेर आफ्नो यथार्थ लुकाउन खोज्दा त झनै लुक्दैन। विश्व शान्तिको चिन्ता गर्नुभन्दा आफ्नै घरलाई शान्त राख्ने, आफूभित्रबाट शान्त रहेर आत्मसमीक्षा गर्दै सबै परिस्थिति नियाल्न सक्ने हो भने वास्तविकता आफैं थाहा हुनेछ। किनकि बोलीले नै हो बिगार्ने, शान्त रहँदा झूट बोल्नु जरुरी नै हुँदैन। कुरा मिलाउनै पर्दैन, सत्य लुकाएर लुक्दैन।

समृद्धिको अर्थ भौतिक सम्पदाको विकास मात्र अवश्य होइन, राष्ट्र र जनताबीचको हार्दिकता र रेखदेख पहिलो कसी हो। यहाँ त हुनेले हुनेलाई नै बढी दिन्छन् नहुनेका प्रति दया र परोपकार भाव खासै देखिन्न ! भएकालाई नै दिनु के सहयोग ? कुनै दुःखीलाई सहयोग गर्दा उसको आत्मा खुसी भएको क्षण कति आनन्ददायक हुन्छ। आफूसँग भएका चिज अरूलाई पनि काम आउन सकोस्, आफ्नो विवेकले अरूलाई पनि समेट्न सकोस्। अरूको दुःखमा आफ्नो पनि थोरै सहयोग पुग्न सकोस् भन्ने भावना हो समृद्धि। समृद्धिको रूपमा आफूलाई आर्थिक रूपमा सम्पन्न गर्दै जीवनशैलीलाई भड्किलो बनाउनु मात्र होइन कि दुःखीलाई दिने कला जान्नु पनि हो ! कसैको हाँसोमा हाँसो थप्नु मात्र कहाँ हो र, कसैका आँसुमा आफ्नो दुई थोपा आँसु मिसाउनु पनि समृद्धिरूपी सहयोग हो। समृद्धिका अनन्त आयाम छन्, त्यसको समझदारीपूर्वक

विवेकपूर्ण प्रयोग नहुँदासम्म समृद्धिको भाषणले जनतालाई राहत मिल्दैन।

सबै संघसंस्था, सबै सरोकारवाला पक्षबाट राष्ट्रको मुहार फेरेरै छाड्छौं, राष्ट्रलाई गरिबी, अशिक्षा र अभावबाट मुक्त गराइछोड्छौं। हामी सरकारमा आउँछौं र त्यो गर्छौं, हाम्रो नेतृत्व नहुँदा राष्ट्रले संकट भोगेको छ। तर जुन जोगी आए पनि कानै चिरेका भनेझैं जुन सरकार र जसले नेतृत्व लिए पनि राष्ट्रले र जनताले केही नयाँ कुरा पाएका छैनन्। आज राष्ट्रमा जता हेरे पनि अशान्ति, अपराध, कालोबजारी, अनियमितता फस्टाइरहेको छ। धनी र गरिबको खाडल झन् प्रस्ट रूपमा बढ्दैछ। उच्च तहदेखि निम्न तह र तप्कामा हरेक पद र सुविधामा राजनीतिक भागबन्डाको असर पर्ने हुनाले त्यसको चपेटामा सर्वसाधारण जनता पर्ने गरेका छन्। जति योजना र भाषण अनि छिमेकी मुलुकको सहयोग र आश्वासन पाए पनि कार्यान्वयनमा सधैं पछाडि परेको हाम्रो विकास र विस्तार अनि कार्यान्वयनमा भागीदारको कमजोरीले राष्ट्र गरिबी, प्रदूषित बनेर माथिल्लो तहमा आउनुबाहेक अरू प्रगति हात पर्न सकेको छैन।

सच्चा राष्ट्रप्रेमी, जनप्रेमी नेतृत्वको अभाव सधैं खट्किरह्यो। सकारात्मक सोच प्रभावकारिता र शान्तिजस्ता जीवनका प्रमुख आयामबीच सन्तुलन नहुनासाथ समृद्धि हात लाग्दैन, यसप्रति सजगता अपनाउनैपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.