राजनीतिक पात्र अझै द्विविधामा
बाह्रबुँदे सहमति गरेदेखि नेपाली राजनीतिले बाटो बिराएको छ। जति अघि बढ्यो उति गन्जागोल मात्र आइलाग्छ। उद्देश्य पवित्र भए पनि यथास्थितिमा गरिने सबै प्रयास निरर्थक भइरहेका छन्। नेपाली राजनीतिका पात्रहरू लोभलालचको खाडलमा खस्दा यस्तो भएको हो। लोभ–लालचले मानिसलाई दिग्भ्रमित बनाउँछ। आफ्नो भन्दा पराई प्यारो लाग्न थाल्छ। मानिस मूल्यमान्यतादेखि च्युत हुँदै जान्छ।
दलहरूमा अहिले थोरै पनि सिद्धान्त बाँकी देखिँदैन। परम्परा एवम् राष्ट्रिय पहिचान हराएको छ। कांग्रेसले बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई जस्ता नेताको सिद्धान्त र आदर्श बिर्सिसकेको छ। कम्युनिस्टले पुष्पलाल, मनमोहन, मदन भण्डारीका त्याग र बलिदानलाई दोबाटोमा मिल्काएको छ।
लोकतन्त्र लोकका लागि हुन सकेको छैन। लोकतन्त्रको व्याख्या स्वार्थअनुकूल गरिएकाले यस्तो भएको हो। अब्राहम लिंकनले यसको लोकतन्त्रलाई ‘जनताले जनताद्वारा जनताका लागि गरिने शासन प्रणाली’ भने। आजसम्म यसै मान्यतामा लोकतन्त्र अडिएको छ। तर हाम्रो हकमा भने अनुकूलता हेरिकन लोकतन्त्रको व्याख्या हुने गरेको छ।
कुनै पनि देशको आत्मा त्यहाँको संस्कृति र परम्परा हो। अहिले त्यसैमाथि सीधा आक्रमण भएको छ। नवसामन्तवाद भन्दै घोक्रो फुलाउनेहरू तिनै नवसामन्तीलाई अँगालो हाली मनमुटु जोड्न पुगेका छन्। सत्तामा उनीहरूकै वर्चस्व छ। ईश्वरका नाममा शपथ खान लाज मान्नेले जिसस क्राइस्टकी तथाकथित छोरीको हातबाट मदिरा सिञ्चित गराई आफूलाई शुद्ध बनाएका छन्। विदेशीको अगाडि शिर झुकाएर नतमस्तक भएका छन् उनीहरू। आफूलाई खाँटी कम्युनिस्ट भन्नेले नै संसारबाट कम्युनिस्ट मास्न उद्यत् संस्थाको नायिकालाई पुज्न लालायित भए। त्यसरी पुज्न पाउनु प्रगतिशील एवं भाग्यशाली ठानिएको छ।
जनताले जसलाई भरोसा गर्यो उसैबाट धोका मात्र पाइरहेको छ। राजनीतिमा देखिएको यस्तो अवस्थालाई नागरिकले सहजरूपमा लिन सकेका छैनन्। नेपालीको भरोसाको त्यान्द्रो चुँडिएको छ। भित्रभित्रै मन कुँडिएको छ। कुनै बेला छिमेकीले हैरानी दिँदा यिनै नेताले हाम्रो दुःखमा मलमपट्टी लगाएकै थिए। हामी कमजोर हुँदा साहस र धैर्यको पाठ पढाएकै थिए। उत्तरतिर वाणिज्य र पारवहन सन्धि गरी दक्षिणको एकाधिकार अन्त्य गर्ने प्रयास गरेकै हुन्। त्यसरी नाकाबन्दीविरुद्ध देखाएको हिम्मतलाई नागरिकले चोखो मनबाट समर्थन गरेकै थिए। आज त्यो हिम्मत कता हरायो ? शासन सत्ता सही ढंगबाट सञ्चालन नहुँदा स्वार्थ र अभिमान निम्तिन पुग्छ। अहिले त्यो साहस र हिम्मत दम्भमा परिणत हुँदैछ। दम्भले सफलता हासिल हुँदैन। घटनाक्रमले यसलाई प्रस्ट्याइसकेको छ।
लोकतन्त्रमा जनताले छानेको प्रतिनिधिले शासन गर्छन्। उनीहरू सदैव आचरणमा रहनुपर्ने हुन्छ। हामीकहाँ भने त्यस्तो हुन सकेन। निर्वाचनमा जनताले अस्वीकार गरेकालाई समेत नेतृत्वले संरक्षण दिए। त्यसैले यहाँ खरिद–बिक्रीमा लागेका पनि निर्वाचित हुन्छन्। नागरिकको बलियो समर्थन नहुँदासम्म लोकतन्त्र बलियो हुने कल्पना गर्न सकिँदैन। चुनावी नतिजालाई मात्र जनसमर्थन ठान्नु भूल हुनेछ। चुनाव त राजाले पनि गराएकै हुन्। पञ्चायतमा पनि चुनाव हुन्थ्यो। यथार्थमा त्यसले जनसमर्थन पाएन।
बाह्रबुँदे र यसले तय गरेको बाटो नेपाली मौलिक मार्ग होइन भन्ने प्रमाणित हुँदैछ।
अहिले सरकार निकै कमजोर देखिन्छ। हेर्दा दुईतिहाइ देखिए पनि भित्रभित्रै खोक्रो भएको भान हुन्छ। आफ्नै दललाई समेत सरकारले रिझाउन सकेको छैन। प्रतिपक्ष भने यति कमजोर छ, उसको विरोधको स्वर सरकारको कानसम्म पनि पुग्दैन। अहिले विपक्षले काम गर्न दिएन भन्नु हास्यास्पद दाबी हो। सत्ता होस् वा प्रतिपक्ष दुवैको सिद्धान्त हराइसकेको छ।
हिजो रैतीबाट नागरिक बनाऔं भन्ने नेता यिनै हुन् ? प्रश्न आवश्यक छ किनभने आज यिनैले नागरिकलाई दास बनाउने प्रयत्न गरिरहेका छन्। सरकार यस्तो निरंकुश बन्दैछ, स्वस्थ आलोचनासमेत सुन्ने साहस गर्दैन। यस्तो थेत्तरो प्रवृत्तिले मुलुकको भलो हुँदैन। अब त रूपान्तरण हुनुपर्ने हो तर छाँटकाँट देखिँदैन। नेतृत्व सफल भइदियो भने राजनीति बहकिँदैन। सक्षम नेतृत्वले राष्ट्रलाई मूल बाटोमा हाँक्न सक्छ।
पृथ्वीनारायण शाहकै पालादेखि क्रिस्चियनहरूले हात हाल्न खोजेका हुन्। इतिहासबाट यो तथ्य उजागर भइसकेको छ। त्यो बेला उनको सक्षम एवम् बुद्धिमत्तापूर्ण नेतृत्वले क्रिस्चियनहरू सफल हुन सकेनन्। आज देश चलाउनेहरू नै लोभ–लालचमा फस्न पुगेका छन्। फलस्वरूप खरिद–बिक्रीको अस्त्र प्रयोग गर्दै इसाईकरण गर्न सफल हुँदैछन्। हजारौं वर्ष पुरानो हाम्रो हिन्दु पहिचान सुनियोजित रूपमा हटाइएको छ। जनताले उच्चारणसम्म नगरेको, धर्मनिरपेक्षता जर्बजस्त छिराइएको छ।
परिस्थितिको सही आकलन गर्न राजनीतिक पात्रमा अझै दुविधा देखिन्छ।
जुन बाटोमा नेपाली राजनीति हिँडेको छ, त्यो मूल बाटो होइन। यो त विकृत पुँजीवादको विकराल रूप मात्र हो। यहाँ धेरै विज्ञले रचनात्मक सुझाव दिँदा पनि सरकारले सहज रूपमा लिएको छैन। यसो भनिरहँदा नेपाली नेतृत्वको नियतमा शंका गरिएको होइन। अनेकौं दुःखकष्ट खेपेर यहाँसम्म आइपुगेको हो अहिलेको नेतृत्व। नेतामा विचलन नआइदिए देशले स्थिरता पाउँछ भन्ने आशा मात्र गरिएको हो।
बाह्रबुँदेताका नेपालका लागि तत्कालीन अमेरिकी राजदूत मोरियार्टीले भनेका थिए, ‘यो बाह्रबँदेले नेपाल अस्थिर बनाएरै छोड्छ।’ कुन मनसायले उनले बोले, उनै जानून्। यथार्थमा त्यही हुँदैछ। बाह्रबुँदे र यसले तय गरेको बाटो नेपाली मौलिक मार्ग होइन भन्ने प्रमाणित हुँदैछ। अहिले आएर जनमानसले पनि यसबारे चिन्तन गर्न थालेका छन्।
अग्रगमनको नाउँमा राष्ट्रमा विग्रहको खेती गर्न थालिएको छ। यसमा नेपाली राजनीतिका मुख्य नायक संवेदनशील हुनैपर्छ। नेपाली राजनीतिलाई अब आफ्नो बाटोमा हिँडाउनैपर्छ। आफ्नो बाटो त्यही हो, जुन बाटो हिँड्दा हाम्रो परम्परा, धर्म, संस्कृति र सभ्यतालाई संसारभर चिनाउन सकिन्छ। नेपाली पहिचानलाई विश्वले सम्मान गर्न सक्छ, जसबाट गुमेको स्वाभिमान र एकता पुनः प्राप्त हुन्छ। देशले समृद्धिको मार्ग तय गर्छ।