उत्तर कोरियालाई ५० करोड डलर जरिवाना
अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले दिएको आदेशमा वाम्बियरको मृत्यु हुनुमा कोरिया दोषी भएको उल्लेख छ। उनले वाम्बियरको खर्च, आर्थिक नोक्सानी क्षाथिपूर्तिका लागि उक्त रकम दिनुपर्ने बताएका छन्। वाम्बियरका बाबुआमाले उत्तर कोरियामा वाम्बियरलाई पक्राउ गरी चरम यातना दिइएको दाबी गर्दै आएका छन्। वाम्बियर भर्जिनिया विश्वविद्यालयका विद्यार्थी थिए। उनी घुम्नका लागि साथीहरूसँगै उत्तर कोरिया गएका थिए। उत्तर कोरियाली अधिकारीहरूले प्रचार सामग्री चोरेको अभियोगमा मार्च २०१६ मा पक्राउ गरी वाम्बियरलाई १५ वर्षको जेल सजाय दिएका थिए।
उत्तर कोरियाबाट अचेत (कोमा) अवस्थामा अमेरिका फर्किएलगत्तै उनको जुन २०१७ मा मृत्यु भएको थियो। पाँच दिनको उत्तर कोरिया भ्रमणमा जानुअघि वाम्बियरको स्वास्थ्य अवस्था राम्रो थियो। वाम्बियरको मृत्यु हुँदाताका अमेरिका र उत्तर कोरियाबीचको तनाव शिखरमा पुगेको थियो। खासगरी उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र प्रणालीको विकासका कारण दुबै मुलुकबीच तनाव सिर्जना भएको थियो।
अदालतबाट भएको आदेशले सांकेतिक विजय मात्र भएको दर्शाउँछ किनभने उत्तर कोरियाले अदालतमा आफ्नो पक्ष राखेको छैन। अदालतको आदेशबमोजिमको क्षतिपूर्ति दिलाउन अहिल्यै सम्भव देखिन्न। यद्यपि अदालतको आदेशका कारण वाम्बियरका परिवारजनका लागि क्षतिपूर्ति रकम अमेरिकी सरकारबाटै प्राप्त गर्ने बाटो खुलेको छ। साथै अदालतले तोकिएबमोजिमको रकम अन्य देशमा रहेका उत्तर कोरियाली बैंक खाताबाट जफत गर्न सकिनेछ।
एपी