उपाधिको छिनोफानो यसै चरणमा हुनसक्ने
काठमाडौं : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत ११औं चरणका खेल बुधबारदेखि सुरु हुँदैछ। एन्फा मैदानमा हुने खेलमा बुधबार ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा तथा जाउलाखेल युथ र मच्छिन्द्र क्लब भिड्नेछन्। हल्चोक मैदानमा एनआरटी र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ। बुधबार खेल्ने कुनै पनि टोली उपाधि दौडमा छैनन्।
तर उपाधिको होडमा रहेको मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबबीचको खेल पनि ११औं चरणमै परेकोले सम्भवतः यही चरणबाट उपाधिको छिनोफानो हुनेछ। मनाङ र संकटाको खेल भने बिहीबार हुनेछ। शीर्ष स्थानमा रहेको मनाङ लिगमा अपराजित टोली पनि हो। मनाङले १० खेलमा शतप्रतिशत नतिजा निकालेको छ। ३० अंक बनाएको मनाङ दोस्रो स्थानमा रहेको संकटाभन्दा पाँच अंकले अगाडि छ। त्यसैले ११औं चरणमा मनाङले संकटालाई हराएमा मनाङ दुई खेलअघि नै च्याम्पियन बन्नेछ।
यदि मनाङ संकटासँग हारेमा उपाधि होड अझै लम्बिनेछ। १० खेलबाट २३ अंक बनाएको थ्रीस्टार तेस्रो स्थानमा छ। थ्रीस्टार यसअघि नै उपाधिबाट बाहिरिएको छ। चौथो स्थानमा रहेको २३ अंक छ। चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १८ अंक छ। पाँचौं स्थानमा रहेको एपीएफको १६ अंक छ। नेपाल पुलिस क्लब १५ अंकसहित छैटौं स्थानमा छ। सातौं र आठौं स्थानमा रहेको हिमालयन शेर्पा र च्यासलले समान १४ अंक बनाएका छन्।
यसैगरी नवौं स्थानमा रहेको सरस्वतीको १० अंक, १०औं र ११औं स्थानमा रहेका जाउलाखेल र फ्रेन्ड्सको समान आठ अंक, १२औं र १३औं स्थानमा रहेका मच्छिन्द्र र ब्रिगेडको समान ६ अंक र अन्तिममा रहेको एनआरटीको चार अंक छ। एन्फाले पहिलो पटक फुटबलको माहोल सिर्जना गर्ने भन्दै रेलिगेसनबिनाको लिग सञ्चालन गरेकाले लिगको रौनकता त्यति देखिएको छैन। मनाङ र संकटाबीचको ११औं चरणको खेलसँगै लिगको रौनकता झनै घट्ने छनक देखिएको छ।
कुल पाँच करोड ८० लाख रुपैयाँ लगानीमा सञ्चालिन हुने लिगको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ। यसैगरी उपविजेताले ३५ लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। चौथो, पाँचौं र छैटौं हुने टोलीले क्रमशः १५ लाख, सात लाख र पाँच लाख रुपैयाँ हात पार्नेछन्। लिगको अनुशासित टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट विधाका स्ट्राइकर, रक्षक, गोलरक्षक, मिडफिल्डर र प्रशिक्षकलाई जनही एक थान मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। लिगको विजेता टोलीले सन् २०१९ मा आयोजना हुने एएफसी एसिएन कप खेल्ने अवसरसमेत प्राप्त गर्नेछ।