गजुरेलको 'जय नेपाल' मोह
गोरखा : दसौं गोरखा महोत्सवका दर्शकलाई मनोरञ्जन गराउन आएका हास्यकलाकार मनोज गजुरेलले ५० मिनेटको प्रस्तुतिपछि बिदा माग्दै भने, ‘जय नेपाल।’ यति भनिसक्दा नसक्दै उनले आफू कांग्रेस नभएको भन्दै बचाउ गरे।
उनले भने, ‘जय नेपाल भनेको सुनेपछि एकाथरीले भन्छन्, ‘मनोज गजुरेल त कांग्रेस पार्टीमा प्रवेश गरेछ।’ अर्काथरी भन्छन्, ‘मनोज गजुरेल त प्रहरी पो रहेछ। तर जय नेपाल भन्दैमा न म कांग्रेस हुँ, न पुलिस। जसले भन्दैन देशको जय भो, त्यसले देश छोडेर गए भो।’
प्रस्तुति सक्नुअघि उनले विदेशी दातासामु हाम्रा राष्ट्रप्रमुख तथा नेताको जोगी प्रवृत्तिप्रति कटु व्यंग्य गरेका थिए। हाम्रा सरकारप्रमुख विदेश जाँदा पनि अर्काको सामु हात थाप्न लालयित हुन्छन्। विदेशी नेपालमा आउँदा पनि उनीहरूसामु हात थाप्न लालायित हुन्छन्। तर भूकम्पका बेला यति दिन्छु, उति दिन्छु भनेर प्रतिबद्धता गरेकाहरूले केही नदिएर हात्ती आयो, हात्ती आयो फुस्सा बनाएकोप्रति उनले आक्रोश पोखे।
‘ठूलो सम्मेलन गरेर नेपाल सरकार दाताहरूको सामु लम्पसार पर्यो। कसैले अलिअलि दिए पनि। कसैले लोप्पा खुवाए। त्यसैले अरूको भर पर्नु हुँदैन। नदिनेको त कुरा छोडौं, दिनेले पनि विभिन्न स्वार्थ राखेर दिएका हुन्छन्। निःस्वार्थी त बाबु पनि हँुदैनन्, त्यसैले आफ्नो काम आफैंले गर्नुपर्छ। अर्काको भर पर्नु हँदैन। धेरै अनुदान र ऋण लिन सक्नुमा पुरुषार्थ सम्झनु लाजमर्दो हो।’