सुरक्षित पाइप, फिटिङ

सुरक्षित पाइप, फिटिङ

ट्यांकीको टिकाउपन र गुणस्तरलाई ध्यानमा राखी प्लास्टिकको पाइपको प्रयोग सुरु भयो।


काठमाडौं : घर बनाउने हरेक मानिसको चाहना हुन्छ। वर्षौंदेखिको कमाइ बचाएर घर बनाइन्छ। सुन्दर र बलियो घरले जीवनभर खुसी दिलाउँछ। घरसँगै पानीको पनि आवश्यकता पर्छ।

घरको भान्सा, शौचालय र करेसाबारीमा पानी चाहिन्छ। गुणस्तरीय पाइप छनोट गर्न नसक्दा घरको सुन्दरता खोसिन्छ। हिलटेक ट्यांक उद्योगका अध्यक्ष कमल जेनको भनाइ छ, ‘कमसल पाइप प्रयोग गर्दा पानी चुहिने खतरा हुन्छ। उच्चकोटीको पाइपले घरका साथै पानीको शुद्धता बचाइ राख्छ।’

पाइपमा आत्मनिर्भर

नेपालीमा उपयोग प्रवृत्ति अत्यधिक छ। त्यसको तुलनामा उत्पादन न्यून। पछिल्लो चार महिनामा चार खर्ब ८३ अर्ब रुपैयाँ बराबरका बस्तु नेपाल भित्रिएका छन्। बदलिदो जीवनशैली र विलासिताका वस्तुको प्रयोगमा खर्च धेरै छ। पाइप, सिमेन्ट, जस्तापाता, रडजस्ता औद्योगिक वस्तुमा लगभग आत्मनिर्भर छौं। घरका धारामा स्वच्छ र स्वस्थकर पानी पुर्‍याउने पाइप उत्पादनमा नेपाली उद्योग आत्मनिर्भर भएको इन्टर टेक पाइप एन्ड फिटिङका निर्देशक विनित अग्रवाल दाबी गर्छन्।

इन्टर टेक पाइप एन्ड फिटिङका निर्देशक विनित अग्रवाल पाइप एन्ड फिटिङमा स्वदेशी उद्योगले मुलुकको माग पूर्ति गर्न सक्षम भएको बताउँछन्। नेपालमा ४०, ५० वटा प्लास्टिकको पाइप एन्ड फिटिङ उत्पादन गर्ने उद्योग छन्। ‘मुलुकको माग धान्न सक्ने क्षमता स्वदेशी उद्योगमा छ। विदेशबाट आयात हुने पाइपका कारण ९५ प्रतिशत माग मात्र पुर्ति गर्न सकेका छौं’, अग्रवालले भने, ‘भारतसँगको खुला सिमाना र आयातमा रमाउने मानसिकताले यस्तो भएको हो।’ व्यवसायीसँग पाइपको वार्षिक कारोबारको एकीन विवरण नभए पनि उनीहरूका अनुसार सरदर १० अर्ब रुपैयाँको कारोबार हुन्छ।

प्लास्टिक पाइपको सुरुवात

हिमाल स्टिल, श्री स्टल, हुलास स्टिललगायत उद्योगले एक दशकअघि नेपालमा पाइपको माग धानेका थिए। ती उद्योगले जीआई (फलामे) पाइप उत्पादन गर्दै आएका छन्। ग्रामीण भेगमा अहिले पनि खानेपानी वितरणमा जीआई पाइपको प्रयोग हुन्छ। अहिले बजारमा प्लास्टिक पाइपकै एकाधिकार छ। विज्ञान प्रविधिको विकाससँगै पुराना मान्यता धरमरिन थालिसकेको छ। केही वर्ष अघिसम्म फलाम बलियो हुने र प्लास्टिक कमसल भनेर प्रयोग नगर्नेहरू पनि प्लास्टिकका सामग्री प्रयोग गर्न थालेको निर्देशक अग्रवालले बताए। आर्थिक वर्ष २०६२ सालदेखि नेपाली उद्योगीले प्रविधियुक्त पीपीआर र सीपीभीसी पाइप उत्पादनमा अग्रसरता देखाउन थालेका थिए।

पीपीआर पाइप पहिलो पटक नेपाल भित्र्याउने उद्योगका रूपमा जगदम्बा र हिलटेकलाई लिइन्छ। नेपालमै पीपीआर र सीपीभीसी पाइप उत्पादन हुन थालेपछि विस्तारै फलामे पाइपको प्रयोग घट्ने क्रम सुरु भएको अग्रवाल बताउँछन्। नेपालीहरू प्रविधिमैत्री बन्नुका साथै नेपाली उद्योगले नै सीपीभीसी र पीपीआर पाइप उत्पादन कार्यमा लाग्नु नै प्रमुख कारण हो। एचडीपी, पीपीआर, पीभीसी, सीपीभीसी, बोरिङ, कन्डुप पाइप इन्टर टेक पाइप एन्ड फिटिङबाट उत्पादन हुँदै आएको छ। १० वर्षदेखि वुटबलमा उद्योग सञ्चालनमा छ। १६ एमएमदेखि एक सय १० एमएमसम्मको पाइप उत्पादन हुन्छ। एक सय ६०, एक सय ८० र दुई सय एमएमसम्मको पाइप उत्पादन गर्ने तयारीमा रहेको अग्रवाल बताउँछन्।

नेपाल हिलटप इन्डस्ट्रीका सिनियर मार्केटिङ म्यानेजर विनोद महत वार्षिक १५ देखि २० प्रतिशत पाइपको बजार बढिरहेको बताउँछन्।। ‘पीपीआर र सीपीभीसी पाइप उत्पादन गर्ने ५÷६ वटा नेपाली कम्पनी छन्। विदेशबाट आयात गर्ने कम्पनी पनि धेरै छन्’, उनले भने, ‘पीपीआर र सीपीभीसी पाइप प्रयोग गर्ने ग्राहकले पाइपकै कारण जटिल समस्या भोग्नु परेको छैन।’

प्लम्बरले धारा जडानका जीआई पाइपको तुलनामा पीपीआर र सीपीभीसी पाइप रोज्ने गर्छन्। जीआई पाइप गह्रौ हुने भएकाले एउटै व्यक्तिले जडान गर्न सक्दैन। जडान गर्न हेल्परको आवश्यक पर्छ। पीपीआर पाइप मेसिनले जडान गर्ने गरिन्छ भने सीपीभीसी पाइप गमले जोडिन्छ। जडान गर्न सजिलो हुने भएकाले प्लम्बरको रोजाइमा पर्ने नै भयो। सस्तो र किफायती हुने भएकाले पनि ग्राहकलाई आर्थिक भार कम हुन्छ। नेपाटपले १३ वर्षदेखि नेपालमै पीपीआर पाइप उत्पादन गरी बिक्रीवितरण गरिरहेको छ। कम्पनीले २० एमएमदेखि एक सय १० एमएमसम्मका पीपीआर पाइप र १६ देखि ६३ एमएमसम्मको सीपीभीसी पाइप उत्पादन गरिरहेको छ। ग्रामीण क्षेत्रमा पानीको मुहानदेखि घरदैलोमा पानी वितरण गर्न एचडीपीई पाइपको प्रयोग हुने गरेको छ। कम्पनीले १६ एमएमदेखि पाँचसय एमएमसम्मका एचडीपी पाइप उत्पादन गरिरहेको छ।

सीपीभीसी पाइपमा प्रयोग गरिएको प्रविधिले पाइपमा आगोले नसमात्ने अध्यक्ष जेनको दाबी छ। यी पाइपले पानीको उच्च चाप थेग्नुका साथै लिकेजको समस्या पनि हुँदैन। हिलटेकले १० वर्षदेखि काठमाडौंको बालाजुबाट पाइप उत्पादन गर्दै आएको छ। उद्योगले विशेषगरी पीपीआर र सीपीभीसी पाइप उत्पादन गर्छ। वार्षिक रूपमा नयाँ आयोजना निर्माण हुने क्रमसँगै पाइपको खपत पनि बढिरहेको अध्यक्ष जेनले बताए। उनका अनुसार हिलटेकको बजार वार्षिक रूपमा १५ देखि २० प्रतिशतले बढ्दो छ।

पञ्चकन्या ग्रुपले १३ वर्षदेखि पीपीआर र आठ वर्षदेखि सीपीभीसी पाइप उत्पादन तथा बिक्री गरिरहेको छ। कम्पनीले २० एमएमदेखि एक सय १० एमएमको पीपीआर र १५ एमएमदेखि एक सय एमएमको सीपीभीसी पाइप उत्पादन गरिरहेको छ। नेपालमा करिब ५० का हाराहारीमा प्लास्टिको पाइप उत्पादन गर्ने उद्योग छन्।

प्लास्टिकको पाइप किन ?

पीपीआर र सीपीभीसीको आयु जीआईको तुलनामा अधिक हुन्छ। नेपाली कम्पनीले दाबाका साथ ५० वर्षको ग्यारेन्टीसहित पीपीआर र सीपीभीसी पाइप बेच्ने गरेका छन्। चुहावट नहुनुका साथै खिया लाग्ने, कुहिने र चर्किने समस्या हुँदैन। तातो तथा चिसो पानीले पनि क्षति पुर्‍याउँदैन। पाइपमा ९० डिग्री तापक्रसम्मको पानी प्रवाह गर्दा पनि फुल्ने, तन्किने समस्या आउँदैन। प्लास्टिकको सामग्री प्रयोग गरेर निर्माण गरिएकाले साल्ट र एसिडिक रियाक्सन हुँदैन। यी पाइप वातावरणमैत्री हुनुका साथै पुनप्रयोग गर्न सकिन्छ। भित्री भाग चिल्लो हुने भएकाले पानीको वेगलाई प्रभावित गर्दैन। साथै सीपीभीसी पाइप आगोले समात्दैन।

जीआई प्रविधि १७औं शताब्दीमा युरोपबाट सुरु भएको थियो। जीआई फलामको पाइप पनि भनिन्छ। यो पाइप हेर्दा फलामजस्तो देखिए पनि जिंक कोटेड गरिएको हुन्छ। जिंक कोटेड गरिएकाले पानीको सम्पर्कमा आउँदा पनि सहजै खिया लाग्नबाट बचाउँछ। उच्च चापको पानीको सम्पर्कमा आउँदा जिंक बग्ने सम्भावना उच्च हुन्छ। जीआई पाइपमा छिट्टै समस्या आउने गरेको छ। दोस्रो विश्वयुद्ध अघिसम्म खानेपानीको पाइपमा जीआईकै विरासत थियो। विश्वयुद्धपछि भने प्लास्टिक र तामाको पाइप प्रयोगमा आउन थालेसँगै जीआईको एकाधिकार तोडिन पुगेको देखिन्छ। क्लोरिनेटड पोलिभिनायल क्लोराइड (सीपीभीसी) पाइप सन् १९६० मा स्वीट्जरल्यान्डको जेनेभामाबाट उत्पादन सुरु भएको थियो। भने, पोलिप्रोपिलिन र्‍यान्डम (पीपीआर) पाइपको सुरुवात सन् १९७० मा जर्मनबाट भएको थियो।

प्लास्टिक प्रयोग गरेर निर्माण गरिएकाले सुरुवाती समयमा सीपीभीसी र पीपीआरले अपेक्षित रूपमा बजार हिस्सा ओगट्न सकेको थियो। फलामको बलियो हुन्छ भन्ने मान्यता छ। त्यही मान्यताले लामो समयसम्म घरदैलोमा पानी पुर्‍याउने पाइपको रूपमा जीआई अग्रणी स्थानमै रह्यो। समय सधैं एकनासले बग्दैन। विज्ञान प्रविधिको विकाससँगै पुराना मान्यता धरमरिन थालिसकेका छन्। त्यसैको पछिल्लो उदाहरण भएको छ, जीआई पाइप। अहिले गाउँदेखि सहरसम्म घरदैलोमा पानी पुर्‍याउने सारथी भइरहेको छ, पीपीआर र सीपीभीसी पाइप तथा फिटिङ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.