कसरी लेख्ने फिल्म समीक्षा ?

कसरी लेख्ने फिल्म समीक्षा ?

काठमाडाैँ : विगतमा पत्रकार वा मिडियामा पहुँच हुनेले मात्र फिल्म समीक्षा लेख्थे। तर, अचेल सबैसँग ‘मिडिया’ छ। फेसबुक, ट्वीटर र युट्युबजस्ता साइटमा फिल्म समीक्षा लेखेर पोस्ट गर्ने अवसर जो कोहीलाई छ। धेरैले यस्ता प्लेटफर्म सदुपयोग पनि गरिरहेका छन्।

फिल्मको कलात्मक पक्षको उन्नतिका लागि फिल्म समीक्षाले धेरै योगदान दिन सक्छ। त्यसैले फिल्मको समीक्षा गर्ने ‘कल्चर’ जतिसक्दो छिटो हुर्किनुपर्छ। फिल्म समीक्षा लेख्न चाहनेले कुन–कुन पक्षमाथि टिप्पणी गर्नु उपयुक्त होला त ? 

आइडिया

फिल्मले दर्शकलाई देखाउने नै कथा हो। कथालाई ‘आइडिया’ पनि भनिन्छ। सकेसम्म फिल्मकर्मी ताजा आइडियामै फिल्म बनाउन खोज्छन्। दर्शक पनि बासी कथाभन्दा नवीनताले भरिएको कथा हेर्न रुचाउँछन्। निर्माताहरूले पनि फरक लाग्ने

कथामै लगानी गर्ने हुन्। त्यही भएर नेपालमा बेलाबखत ठूला–ठूला विषयका कथामा फिल्म बनाउने प्रयास भएका छन्। फिल्मको कथालाई लेखक र निर्देशकको क्रिएटिभिटीको पहिलो खुड्किलो मान्न सकिन्छ। निश्चय नै समीक्षकले ताजा कथालाई प्रोत्साहित र चल्तीका कथालाई निरुत्साहित गर्नुपर्छ। कथा छनोटमा विविधता देखिए फिल्मको कला–पक्ष पनि फस्टाउँछ। 

पटकथा
फिल्मको कथा रोचक, ताजा र अद्भूत हुनु राम्रो हो। तर, वास्तवमा त्यो त्यति बेला मात्र राम्रो हुन्छ, जब त्यसलाई कलात्मक ढंगले पटकथामा रूपान्तरित गरिन्छ। चार–पाँच पृष्ठको कथालाई लेखकले लगभग १ सय २० पृष्ठजतिको पटकथामा उतार्ने काम गर्छ।

पटकथामा दृश्य र संवादहरू हुन्छन्। फिल्मको दृश्य भन्नाले घटना भनेर बुझ्नुपर्छ। कथा मात्र होइन घटना र पात्रले बोल्ने संवाद पनि ताजा हुनुपर्छ। कथा नयाँ तर घटना र संवाद पटक–पटक हेरिँदै र सुनिँदै आएका पर्‍यो भने त्यसले फिल्मलाई फितलो बनाउँछ। त्यसैले समीक्षा लेख्नेले धेरैभन्दा धेरै फिल्म हेर्नुपर्छ।

अनि, मात्र घटना र संवाद ताजा हुन् कि होइनन्, फिल्टर गर्न सकिन्छ। पटकथाको अर्को महत्वपूर्ण पाटो हो चरित्रचित्रण (क्यारेक्टराइजेसन)। कथाका पात्रलाई समेत रोचक बनाउन चरित्रचित्रणमा मेहनत गर्नुपर्ने हुन्छ। समीक्षकले यो पक्षमा पनि ध्यान दिनुपर्छ।

अभिनय
फिल्मको दृश्य मजबुत हुनुमा धेरै पक्षको योगदान रहेको हुन्छ। तर, साधारण दर्शकले त्यसको जस कलाकारलाई बढी दिने गरेको पाइन्छ। कलाकारकै कारण धेरैले फिल्म हेर्ने हुनाले यसो हुनु स्वनभाविक हो। कलाकारले दर्शकलाई अभिनयमार्फत मोहित पार्छन्। फिल्मका अरू पक्ष दमदार भए पनि अभिनय राम्रो भएन भने त्यसले बिझाउँछ।

त्यसैले अभिनय पक्षमाथि टिप्पणी गर्न छुटाउनु हुँदैन। धेरैलाई अभिनयको मूल्यांकन गर्न सजिलो हुन्छ भन्ने लाग्छ। तर, यो सजिलो छैन। अनुहारको भाव, शरीरको मुद्रा र संवाद सम्प्रेषणमा मात्र ध्यान दिएर पुग्दैन।

कलाकारको अभिनय फिल्मभरि नै संयमित छ कि छैन ? हेक्का राख्नुपर्छ। नेपालमा भड्किलो (लाउड) अभिनय गर्ने कलाकार बढी छन्। कतिपय निर्देशकले यस्तै खाले अभिनय गर्न लगाउँछन्। तर, त्यस्तो अभिनयले दर्शकलाई यातना दिने काम मात्र गर्छ। 

छायांकन
फिल्मको छायांकन पक्ष सुन्दर छ भनेर धेरै समीक्षकले लेखेको पढ्न पाइन्छ। तर, कुनै पनि छायांकन के कारणले सुन्दर हुन्छ ? त्यो बुझेर मात्र लेख्दा अर्थपूर्ण हुन्छ। हामीकहाँ झकिझकाउ लाइट, ट्रली, क्रेन र ड्रोन चलाएर खिचेमा छायांकन सुन्दर मान्ने गरिन्छ।

कतिपय अवस्थामा हेभी लाइट र हेभी इक्विपमेन्ट प्रयोग गरिएको छायांकन सुन्दर नै हुन्छ। तर, अनावश्यक दृश्यमा पनि त्यस्तो खालको छायांकन हुनु नराम्रो हो। क्यामेरा फिक्स्ड राखेर खिचेका फिल्मको पनि छायांकन पक्षको प्रशंसा हुने गर्छ। 

ब्याकग्राउन्ड म्युजिक
हामीकहाँ फिल्मको गीत–संगीतमाथि टिप्पणी गर्ने चलन बढी छ। तर, गीत जतिसुकै सुमधुर भए पनि फिल्मको कथामा त्यो कत्तिको अपरिहार्य छ भन्ने चाहिँ केलाइँदैन। अनावश्यक ठाउँमा कथाको बहावलाई बिथोल्ने गरी राखिएको मीठो गीत पनि आलोचनाको विषय हुन सक्छ।

बरु, फिल्ममा गीतभन्दा ब्याकग्राउन्ड म्युजिक अर्थात् पाश्र्वसंगीत अनिवार्यजस्तै छ। यसले फिल्मको इमोसनल पक्षलाई उठाउने र बिसाउने काम गर्छ। घटनाको मुडअनुसार पाश्र्वसंगीत समावेश गरिन्छ। नेपाली फिल्ममा लाउड म्युजिक प्रयोग गर्ने चलन छ। त्यसलाई समीक्षकले निरुत्साहित गर्नुपर्छ। 

सम्पादन
समीक्षकहरूले सजिलैसँग लेखिदिन्छन्, फिल्ममा कैँची चलाउन पुगेको छैन, सम्पादन पक्ष फितलो छ, फिल्मलाई चुस्त बनाउन सकिन्थ्यो, आदि आदि। के सम्पादन पक्षको मूल्यांकन गर्न त्यस्तो सजिलो छ ? पक्कै पनि छैन। वास्तवमा फिल्मको सबैभन्दा बुझ्न गाह्रो पक्ष भनेकै सम्पादन हो।

समीक्षकले एक पटक फिल्मको सम्पादन कार्य कसरी हुन्छ, त्यो प्रत्यक्ष हेरेर बुझ्न आवश्यक छ। फिल्मका सटहरू गाँस्दा इफेक्ट प्रयोग गरेमा सम्पादन राम्रो मान्ने गलत प्रवृत्ति यहाँ छ। फिल्म सम्पादकको काम कुनै पनि फिल्मलाई सलल बगाउनु हो। सलल बगेको फिल्ममा दर्शकले सम्पादन नै देख्दैन।

निर्देशन
पटकथा, अभिनय, छायांकन र सम्पादन सबै राम्रो छ तर निर्देशन पक्ष कमजोर छ भनेर कहिलेकाहीँ समीक्षामा पढ्न
पाइन्छ। यस्तो लेख्नु हास्यास्पद हो। निर्देशक फिल्मका सबै क्रिएटिभ प्रोसेसमा सहभागी हुन्छ। उसले सबै विधामा आफ्नो ‘कलात्मक चेत’लाई प्रयोग गर्छ।

सम्पूर्ण फिल्मको कोरियोग्राफ निर्देशकले गर्छ। कुनै पनि दृश्यलाई कति क्रिएटिभ बनाइएको छ, त्यसमा निर्देशकको मूल्यांकन हुन्छ। राम्रो निर्देशकले हरेक दृश्यलाई परिपक्व बनाउँछ। दृश्यको परिपक्वताका आधारमा निर्देशकको ‘पर्फमेन्स’बारे टिप्पणी गर्न सकिन्छ। 

रेटिङ
धेरैजसो समीक्षकले फिल्मलाई रेटिङ दिन बिर्सिदैनन्। पाँचमा कति तारा दिने भन्ने कुराले समीक्षामा धेरै अर्थ राख्छ। रेटिङ नदिएर लेख्ने समीक्षक पनि हुन्छन्। तर, रेटिङले मात्र कुनै पनि समीक्षा ‘पर्फेक्ट’ हुन्छ। समीक्षकले आफ्नो समीक्षामा विभिन्न सीमितताका कारण सबै पक्षबारे लेख्न सक्दैनन्।

समीक्षामा कहिले प्रशंसाका वाक्य धेरै हुन्छन् त कहिले आलोचनाका वाक्य धेरै हुन्छन्। प्रशंसा र आलोचनालाई सन्तुलनमा राख्ने काम रेटिङले गर्छ। समीक्षाको निचोड पनि हो रेटिङ। रेटिङ दिने बेला फिल्म मात्र होइन, त्यो कुन ठाउँ, कुन परिवेश, कस्तो बजेट र कस्तो पूर्वाधारमा बनेको भन्ने पक्षलाई पनि मनन गर्न जरुरी छ। अन्नपूर्ण सम्पूर्णबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.