वर्ष २०१८ का चर्चित व्यक्ति खसोग्गी को हुन् उनी ? किन भयो उनको हत्या ?
‘टाइम’ म्यागजिनले यस वर्ष मारिएका र जेलमा राखिएका पत्रकारहरूलाई संयुक्त रूपमा वर्ष–व्यक्तिको उपाधि दियो। म्यागजिनले अक्टोबरमा मारिएका साउदी पत्रकार जमाल खसोग्गी, गत जुन महिनामा अमेरिकाको मेरिल्यान्डस्थित ‘क्यापिटल ग्याजेट’ पत्रिकामा भएको गोलीबारीमा मारिएका पत्रकार, म्यानमारमा कैद गरिएका ‘रोयटर्स’का पत्रकार र फिलिपिन्समा मुद्दा लगाएर सताइएकी पत्रकार मरिया रेसालाई वर्ष–व्यक्ति घोषित गर्यो।
‘सत्यविरुद्धको युद्ध’ जारी रहेको बताउँदै उक्त म्यागजिनले यी पत्रकारले सत्यको ‘संरक्षक’ भएर काम गरेको बताएको छ। वर्षव्–यक्तिको उपाधि सामूहिक रूपमा पाए पनि यस वर्ष साउदी सत्ताले हत्या गरेका पत्रकार जमाल खसोग्गी सबैभन्दा बढी चर्चामा रहे। उनको हत्याले साउदी अरब र मध्यपूर्वमा त हलचल ल्यायो नै, विश्वभर अभिव्यक्ति स्वतन्त्रतामा पुनः लगाम कस्ने प्रयास हुँदै गरेको पुष्टि पनि गर्यो। अन्नपूर्ण सम्पूर्णको यसपटकको अंकमा उनीबारेको विशेष सामग्री छ।
को थिए खसोग्गी ?
खसोग्गी १३ अक्टोबर, १९५८ मा मदिनामा जन्मेका थिए। उनी साउदी अरबका नामी पत्रकारमध्ये एक थिए। अमेरिकाको इन्डियाना स्टेट युनिभर्सिटीमा अध्ययन पूरा गरेपछि उनी देश फर्केका थिए।
उनले अफगानिस्तानमा सोभियत आक्रमणसम्बन्धी रिपोर्टिङ गरेका थिए। सन् १९८० र ९० को दशकमा अल–कायदाका संस्थापक ओसामा बिन लादेनसँग अनेकौँ पटक अन्तर्वार्ता लिएका थिए। त्यसैले उनलाई लादेनको उदयसम्बन्धी विज्ञ मानिन्थ्यो।
दशकौँसम्म खसोग्गीले साउदी राजपरिवारको निकट रहेर काम गरे। उनले साउदीको गुप्तचर प्रमुख राजकुमार तुर्की बिन फैजलको सल्लाहकारका रूपमा समेत काम गरेका थिए। तर, गत वर्ष सत्तामा युवराज मोहम्मद बिन सलमान (एमबीएस) हाबी हुँदै गएपछि खसोग्गीले उदारताको पक्षमा आवाज उठाउन थालेका थिए। त्यसैले उनलाई खतराका रूपमा हेरिन थालिएको विश्लेषकहरूको बुझाइ छ। खसोग्गीले आलोचनाको स्वतन्त्रता हुनुपर्ने माग गरिरहेका थिए।
दरबारसँग दूरी बढ्न थालेपछि अघिल्लो साल उनी अमेरिका गए। त्यहाँ बसेर उनले मासिक रूपमा ‘वासिङ्टन पोस्ट’मा स्तम्भ लेख्न थाले। आफ्ना लेखमा उनी एमबीएसको आलोचना गर्थे। पोस्टका लागि पहिलो स्तम्भमै उनले एमबीएसको निर्देशनमा भएको धरपकडमा आफू पनि पर्ने डर उत्पन्न भएको बताएका थिए।
मारिनुभन्दा तीन दिनअघि मात्र खसोग्गीले ‘बीबीसी’लाई अन्तर्वार्ता दिएका थिए। उनी गायब भएपछि बीबीसीले सो अडियो रेकर्ड सार्वजनिक गर्यो। त्यसमा खसोग्गीले आफू साउदी सत्ताको ‘विपक्षी होइन, एक लेखक’ मात्र भएको बताएका थिए। ‘म आफ्नो मनको कुरा लेख्ने र भन्ने स्वतन्त्र वातावरण चाहन्छु,’ उनले भनेका थिए। तर, साउदी संस्थापनको विपक्षी होइन भन्दाभन्दै पनि खसोग्गी बाँचेनन्। उनको हत्या गरियो।
कसरी मारिए ?
जमाल खसोग्गी आफ्नी प्रेमिका हेतिस सेन्गिजसँग विवाह गर्न चाहन्थे। सेन्गिजसँग उनको ‘इन्गेजमेन्ट’ भइसकेको थियो। विवाहका लागि साउदीमा रहेकी उनकी पूर्वपत्नीसँग सम्बन्ध–विच्छेदको कागज लिन आवश्यक थियो। त्यसैले सेप्टेम्बर २८ का दिन उनी टर्कीको स्तानबुलस्थित साउदी महावाणिज्यदूतावास पुगे। तर, उनलाई कागज दिइएन। बरु अक्टोबर २ मा फेरि आउन भनियो।
त्यो दिन दूतावासमा आफूसँग राम्रो व्यवहार गरिएको खसोग्गीले साथीभाइलाई बताएका थिए। कुनै समयस्याबिनै कागजात उपलब्ध गराइने आश्वासन पनि उनलाई दिइएको थियो।
अक्टोबर २ मा उनी प्रेमिका सेन्गिजसहित दूतावास गए। ‘टर्कीको भूमिमा उनीमाथि केही नराम्रो होला भन्ने उनले सोचेका थिएनन्,’ सेन्गिजले वासिङ्टन पोस्टलाई बताएकी छन्। सीसीटीभी फुटेजमा उनी अन्तिम पटक सवा १ बजे दूतावास पस्दै गरेका देखिन्छन्।
तर, उनलाई शंका भने थियो। किनभने, खसोग्गीले प्रेमिकालाई दूतावासबाहिर पर्खेर बस्न भनेका थिए। उनले सेन्गिजलाई दुई वटा फोन नम्बर पनि दिएका थिए। आफू बाहिर नआए टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका एक जना सल्लाहकारलाई फोन गर्न पनि अह्राएका थिए। सेन्गिज दूतावासबाहिर १० घण्टाभन्दा बढी पर्खिइन्। तर, खसोग्गी फर्केनन्। त्यसपछि उनले भनिएको मानिसलाई फोन गरेर यसबारे जानकारी दिइन्।
ढाँट्यो साउदीले
खसोग्गी बेपत्ता भएपछि साउदी अरबमाथि शंका तेर्सियो। तर, दुई सातासम्म साउदी अरबले उनका बारेमा आफूलाई केही जानकारी नभएको दाबी गरिरह्यो। एमबीएसले नै एक अन्तार्वार्तामा खसोग्गी ‘केही मिनेट वा एक घण्टाभित्र दूतावासबाट बाहिर निस्केको’ बताए। उनले आफूहरूसँग ‘लुकाउने केही नभएको’ दाबी पनि गरे।
टर्कीले भने खसोग्गी दूतावासभित्रैबाट गायब भएको दाबी गरिरह्यो। खसोग्गी बेपत्ता प्रकरणको अन्तर्राष्ट्रीयकरण भयो। संसारभरका सञ्चारमाध्यमले उनीमाथि रिपोर्ट प्रकाशन-प्रसारण गर्न थाले। साउदी सरकारमाथि दबाब बढ्दै गयो। फेरि टर्कीका अनुसन्धानकर्ताले खसोग्गी दूतावासभित्रै मारिएको प्रमाण आफूसँग रहेको दाबी गर्न थाले। किस्ता–किस्तामा नयाँ–नयाँ विवरण बाहिरिन थाले। अन्ततः साउदी सत्ता गल्यो।
अक्टोबर १९ मा साउदीले आफ्ना पुराना दाबीलाई उल्ट्याउँदै खसोग्गी दूतावासभित्रै मारिएको स्वीकार गर्यो। तर, उनको हत्या कसरी भयो भन्नेबारे एकदमै हास्यास्पद विवरण सार्वजनिक गरियो। पहिले त दूतावासभित्रै भएको ‘कुटाकुट’ मा उनी मारिएको साउदीले जनाएको थियो। यस्तो दाबीलाई कसैले पत्याएनन्। त्यसपछि साउदीको सरकारी टेलिभिजनले एक जना गुप्तचर अधिकारीको निर्देशनमा खसोग्गी मारिएको बतायो।
हत्याबारे साउदी अधिकारीहरूले फरक–फरक विवरण सार्वजनिक गरे। उनलाई साउदी फर्काउन खोज्दा घाँटी थिचिएर उनको मृत्यु भएको पनि बतायो। टर्कीका सञ्चारमाध्यमले खसोग्गीको कपडा लगाएर साउदी गुप्तचरले देश छोडेको रिपोर्टसमेत सार्वजनिक गरे।
यी सारा अनुमान, आरोप–प्रत्यारोप र स्वीकारोक्तिका बीच १५ नोभेम्बरमा साउदी अरबका सरकारी वकिलले खसोग्गीलाई धक्कामुक्कीपछि घातक सुई दिएर मारिएको बताए। उनको शवलाई दूतावासभित्रै टुक्रा–टुक्रा पारिएको पनि उनले स्विकारे। त्यसपछि शरीरका टुक्राटुक्री स्थानीय सहयोगीलाई दिएर नष्ट गर्न लगाइएको ती वकिलले बताए।
युवराजको संलग्नता ?
टर्कीका राष्ट्रपति एर्दोगानले खसोग्गी हत्याको निर्देशन साउदी अरबको ‘उच्चतम तह’ बाट आएको बताए। उनले हत्याको योजना थुप्रै दिन पहिले बनाइसकिएको दाबी पनि गरे।
टर्कीका अनुसार खसोग्गीको हत्याअघि नै साउदी अरबबाट तीन वटा टोली इस्तानबुल पुगेको थियो। योजनाबद्ध हत्या गर्ने उद्देश्यले त्यहाँ १५ जना साउदी नागरिक आएका थिए। तिनीहरूले खसोग्गी दूतावासमा पस्नुअघि नै सुरक्षाका लागि राखिएका सीसीटीभी क्यामरा हटाइसकेका थिए।
ती व्यक्ति साउदीका गुप्तचर भएको टर्कीको आरोप छ। जसमध्ये एक जना पोस्टमार्टममा दक्ष डाक्टर थिए। उनीहरूले हड्डी काट्ने आरा बोकेरै ल्याएका थिए। ती सबै निजी तथा व्यावसायिक जेटबाट इस्तानबुल विमानस्थलमा उत्रिएको र त्यहीँबाट फिर्ता भएको पनि टर्कीले जनाएको छ। खसोग्गी दूतावासमा प्रवेश गर्नुभन्दा दुई घण्टा त्यो समूह दूतावास पुगेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ। त्यसमध्ये केही चाहिँ महावाणिज्यदूतको आवासतर्फ गएका थिए।
दूतावासमा पस्नेबित्तिकै घाँटी थिचेर उनको हत्या गरिएको र उनको शरीरलाई आराले टुक्र्याइएको टर्कीले बताएको छ। केही सञ्चारमाध्यमले उनलाई पहिले यातना दिइएको पनि जनाएका छन्।
साउदी सरकारले भने हत्याको योजनामा उच्च तह संलग्न नरहेको दाबी गरिरहेको छ। यसको आदेश एमबीएसले नदिएको बताउँदै आएको छ। हत्यामा संलग्नलाई सुपुर्दगी गर्नुपर्ने टर्कीको माग पनि साउदी अरबले अस्वीकार गरेको छ।
‘सास लिन गाह्रो भो !’
नोभेम्बर महिनामा टर्कीले खसोग्गीको हत्याको क्रममा रेकर्ड गरिएको अडियो साउदी अरब, अमेरिका, बेलायत, जर्मनी र फ्रान्सलाई दिएको बतायो। ती कुनै पनि देशले यसलाई सार्वजनिक गर्न चाहेनन्। तथापि, केही सञ्चारमाध्यममा यसका विवरण चुहिए।
टर्कीको एक सञ्चारमाध्यमका अनुसार खसोग्गीको हत्या भइरहँदा साउदीका महावाणिज्यदूतले हत्यामा संलग्न एजेन्टलाई भनिरहेको थिए, ‘यो सब बाहिर गर ! तिमीहरूले मलाई अप्ठ्यारोमा पार्ने भयौ।’
डिसेम्बर १० मा यसबारे ‘सीएनएन’ले एउटा विवरण प्रकाशित गर्यो। जसअनुसार खसोग्गीले आफ्नो अन्तिम क्षणमा ‘मैले सास फेर्न सकिनँ’ भनेका थिए। यो उनको अन्तिम बोली थियो। अडियो रेकर्डमा उनको शवलाई आराले टुक्रा पारेको आवाज पनि सुन्न सकिने स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। खोजी जारी रहे पनि खसोग्गीको शव अझै भेटिएको छैन।
साउदीले यो घटनामा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरेको छ। तीमध्ये ११ जनामाथि मुद्दा चलाइएको छ। सरकारी वकिलले पाँच जनालाई मृत्युदण्डको माग गरेका छन्। तर, तीमध्ये कसैको पनि परिचय खुलाइएको छैन। त्यसैले अनुसन्धान र अभियुक्तप्रति शंका गर्नुपर्ने प्रशस्त ठाउँ रहेको विश्लेषकले बताएका छन्।
दुई उच्चाधिकारीलाई बर्खास्त पनि गरिएको छ। गुप्तचर निकायका उपप्रमुख अहमद अल असिरी र एमबीएसका एक सहयोगी साउद अल कठानीलाई पदबाट हटाइयो। हत्यामा संलग्नमध्ये चार जनाको एमबीएस तथा गृह मन्त्रालयका वरिष्ठ अधिकारीसँग निकट सम्बन्ध रहेको बताइन्छ।
अन्तर्राष्ट्रिय जगत्को बेवास्ता
खसोग्गी हत्याबारे खुलासा भएलगत्तै साउदी अरब संकटमा परेजस्तो देखियो। तुरुन्तै थुप्रै देशसँग उसको कूटनीतिक सम्बन्ध चिसियो। अन्तर्राष्ट्रिय स्तरमै यो घटनाको भत्र्सना गरियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इतिहासकै सबैभन्दा खराब ढाकछोप’ को संज्ञा दिए।
क्यानडा, फ्रान्स, बेलायतले हत्यामा संलग्न भनिएकाविरुद्ध प्रतिबन्ध लगाए। तर, साउदी युवराजमाथि औँला उठाइएन। जर्मनी, फिनल्यान्ड र डेनमार्कले साउदीसँगको हतियार सम्झौता रद्द गरे। रुस, चीनलगायत देशले कुनै टिप्पणी आवश्यक सम्झेनन्।
लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका रक्षक भनिने पश्चिमा मुलुकले साउदी अरबको आलोचना गरे पनि हत्याका लागि जिम्मेवार ठहर्याउने गरी कुनै कदम चालेनन्। ट्रम्पले अमेरिका र साउदी अरबको सम्बन्धमा कुनै परिवर्तन नआउने घोषणा गरे। अमेरिकी सञ्चारमाध्यमका अनुसार सीआईएकी प्रमुख जिना ह्यास्पेलले नै खसोग्गी हत्याको रेकर्डिङ सुनेकी थिइन्।
त्यसैले हत्यामा युवराज एमबीएस नै संलग्न भएको निष्कर्ष उनले निकालेकी थिइन्। तर, ट्रम्पले यसलाई स्विकारेनन्। सिनेटले हत्यामा एमबीएस संलग्न भएको भन्दै संकल्प प्रस्ताव पारित गरे पनि ट्रम्पले उनको साथ छोड्न अस्वीकार गरे।
टर्कीका विदेशमन्त्री मेवलुत कावुसोग्लुले युरोपेली देशहरूले यो घटनालाई बेवास्ता गरेको आरोप लगाएका छन्। ‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका हिमायती हौँ भन्ने थुप्रै युरोपेली देशले यसप्रति आँखा चिम्लिरहेका छन्,’ हालै उनले दोहा फोरममा भने। उनले अब साउदीविरुद्धको कारबाही युरोपेली युनियन र अमेरिकामा निर्भर रहेको पनि बताए।
किन गरियो खसोग्गीको हत्या ?
साउदी सत्ताको कुदृष्टि एक जना पत्रकारमाथि किन पर्यो ? यसबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। कतिपयले साउदीको राजपरिवारमा रहेको शक्तिसंघर्षको नतिजास्वरूप यो हत्या भएको दाबी गरेका छन्। पछिल्ला वर्षमा एमबीएस परिवारभित्रका आफ्ना प्रतिस्पर्धीविरुद्ध आक्रामक बन्दै गएका छन्।
राजकुमारहरूलाई अपहरण गर्ने, थुन्ने काम उनीबाट हुँदै आएको छ। लेबनानी प्रधानमन्त्रीलाई समेत उनले कैद गरेका थिए। यस्तो समयमा खसोग्गीले विदेशमा बसेर संसारको आँखामा पर्ने सञ्चारमाध्यममा आफ्नो आलोचना गर्नु एमबीएसलाई सह्य थिएन।
त्यसमाथि खसोग्गीको सम्बन्ध कतार र टर्कीसँग पनि थियो। यी देश अहिले यो क्षेत्रमा एमबीएसको बेलगाम महत्वाकांक्षाका अघिल्तिर बाधा बनेर उभिइरहेका छन्। त्यसैले जुलाई महिनामै उनले खसोग्गीलाई देशमा फिर्ता गर्न आदेश दिएका थिए।
खसोग्गी साउदी सत्ताको विरोधी थिएनन्।
उनी कुनै क्रान्तिकारी पत्रकार पनि थिएनन्। लामो समय सत्ता र शक्तिसँग निकट भएर काम गरेका व्यक्ति थिए। त्यसैले कतिपय सत्ताको दाउपेचका कारण उनी मारिएको ठान्छन्। अझ केही त उनले विगतमा गुप्तचर प्रमुखको सल्लाहकारका रूपमा काम गरेकाले कुनै सूचना लुकाउनका लागि उनको हत्या गरिएको हुन सक्ने आशंका पनि गर्छन्।
यीमध्ये कारण जेसुकै भए पनि खसोग्गी हत्याले एउटा तथ्य उजागर गरेको छ। त्यो के हो भने सत्ताले जहिले पनि अभिव्यक्तिलाई संकुचित तुल्याउन चाहन्छ। त्यसैले अभिव्यक्ति स्वतन्त्रताका लागि लड्नेहरू जहाँसुकै असुरक्षित छन्।
मानवअधिकार, लोकतन्त्रका जतिसुकै मन्त्र जपे पनि कसैलाई चुप लगाउन सत्ताको दुरुपयोग भए अन्तर्राष्ट्रिय समुदायले ठूलो फरक पार्न सक्नेछैन। अन्तर्राष्ट्रीयकरण भएको विषय त यसरी सेलाउँछ भने सानो दायरामा काम गरिरहेका पत्रकारहरूको हबिगत कस्तो होला ? अनुमान लगाउन सकिन्छ।
विश्वभर अनुदार दक्षिणपन्थ हाबी हुँदै गएको छ। ती सत्ता मानिसको अभिव्यक्तिमा अंकुश लगाउन उद्यत छन्। विश्वभर हजारौँ–लाखौँ पत्रकार, लेखक, एक्टिभिस्ट खसोग्गीझैँ सत्तासँग लडिरहेका छन्। बेलायतस्थित इक्वेडरको दूतावासमा वर्षाैंदेखि थुनिएका जुलियन असान्ज र उनीजस्ता व्यक्ति संकटमा छन्।
त्यसैले खसोग्गी र उनीजस्ताको हत्यामा अन्तर्राष्ट्रिय समुदाय उदासीन देखिनु विडम्बना मात्रै होइन, ठूलो दुःखान्त हो। यो हत्याबाट साउदी सत्ता चोखै उम्किने हो भने त्यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई एक कदम पछाडि धकेल्नेछ।
एजेन्सीको सहयोगमा के. गिरी