सात वर्षीय बालकले गरे अष्ट्रेलियन क्रिकेट टिमको कप्तानी
लबर्न : अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गरेका छन् ।बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो ।
अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेलका क्रममा बुधबार मेलबर्न क्रिकेट मैदानमा बालकलाई टस गर्नसँगै लगियो भने कप्तानको क्यापसमेत दिइयो।
सात वर्षीय बालक आर्ची चिलरले कप्तानको भूमिका निर्वाह गर्दा मैदानमा छुट्टै उत्साहा देखियो । खेलमा नियमित कप्तान टिम पाइनसँगै आर्चीले पनि संयुक्त रूपमा कप्तानको जिम्मेवारी निर्वाह गरेका हुन् ।
भारतीय टोलीको नेतृत्व भने विराट कोहलीले गरेका छन् । क्रिकेट अस्ट्रेलियाले आइतबार नै सात वर्षीय बालक आर्चीलाई कप्तान बनाउने निर्णय गरेको थियो । यसको चर्चा विश्वभरका सञ्चारमाध्यममा छाएको थियो ।
आर्ची सानै उमेरदेखि मुटु रोगबाट पीडित छन्। थुप्रै पटक उनको मुटुको गम्भीर शल्यक्रिया भइसकेको छ। आर्ची केवल तीन महिनाको हुँदा चिकित्सकले उनको मुटुको भल्बमा समस्या रहेको पत्ता लगाएका थिए।
त्यसपछि सात घण्टा लगाएर आर्चीको मुटुको शल्यक्रिया गरिएको थियो। त्यसको ६ महिनापछि आर्चीको मुटुको धडकनमा पुनः समस्या देखिएको थियो ।
पछिल्लो पटक सन् २०१७ को डिसेम्बरमा आर्चीको ओपन हार्ट सर्जरी गरिएको थियो। त्यतिबेला चिकित्सकहरूले आर्चीको आमा÷बुवालाई शल्यक्रियाको नतिजा दुःखद पनि आउन सक्ने संकेत दिएका थिए।
आर्ची क्रिकेट भनेपछि हुरुक्कै हुन्छन्। तर, मुटुको गम्भीर समस्याका कारण क्रिकेट खेल्ने उनको सपना भने पूरा हुन सक्दैन। उनी आफ्नै साथीहरूसँग पनि लामो समय खेल्न वा दौडन सक्दैनन्।
केही समयअघि आर्चीका पिताले उनको सपनाबारे सोधेका थिए। त्यतिबेला आर्चीले कप्तानका रूपमा अस्ट्रेलियन क्रिकेट टोलीको नेतृत्व गर्नु आफ्नो सपना भएको बताएका थिए।
It was a special Baggy Green presentation for the Aussies this morning, as young Archie Schiller received his Test cap from his favourite player!#AUSvIND | @MakeAWishAust pic.twitter.com/gGA0gDAhUB
— cricket.com.au (@cricketcomau) December 26, 2018
उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि त्यही सपना पूरा गर्न भारतविरुद्ध तेस्रो टेस्टमा आर्चीलाई अस्ट्रेलियन टोलीको कप्तान बनाइएको हो ।
आर्चीले केही समयअघि एडिलेडमा भएको भारतविरुद्धको पहिलो टेस्टअघि अस्ट्रेलियन टोलीका अन्य खेलाडीसँगै अभ्यास गरेका थिए। त्यतिबेला नै आर्चीलाई तेस्रो टेस्टमा कप्तानको जिम्मेवारीसहित मैदानमा उतारिने योजना बनाइएको थियो।
गत शनिबार मात्र आफ्नो सातौं जन्मदिन मनाएका आर्ची बलिङ गर्न रुचाउँछन्। उनी लेग स्पिनर हुन्। प्रमुख प्रशिक्षक लेंगरसँगको कुराकानीमा आर्चीले आफूसँग भारतीय टोलीका कप्तान कोहलीलाई आउट गर्ने आत्मविश्वास रहेको पनि बताएका छन्।
आर्ची अस्ट्रेलियन क्रिकेटर नाथन लियोनको खेल निकै मन पराउँछन्।
यी दुईबीचको चार टेस्टको शृंखला हाल १-१ को बराबरीमा छ। पहिलो टेस्टमा भारत र दोस्रोमा अस्ट्रेलिया विजय भएका थिए। यस्तोमा यी दुवै टोलीका लागि बाँकी दुई टेस्ट निकै महत्वपूर्ण छ।
अस्ट्रेलिया र भारत विश्व क्रिकेटका महारथी राष्ट्र हुन्। अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँच पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ। वर्तमान विश्व च्याम्पियन पनि अस्ट्रेलिया नै हो। भारतले पनि दुई पटक विश्वकप उपाधि चुमिसकेको छ।