बिदा हुनै लागेकाे वर्ष २०१८ का ११ ठूला घटना जसले संसार हल्लाए
सन् २०१८ थुप्रै कारणले स्मरणयोग्य वर्ष रह्यो। वर्षभर विश्वलाई नै चकित तुल्याउने घटना भइरहे। किम–ट्रम्प वार्ता, अमेरिका–चीन व्यापार युद्धजस्ता घटनाले हलचल ल्याए। राजनीतिक प्रवृत्तिको हिसाबले यो वर्ष खास नौलो रहेन। केही वर्षदेखि जारी दक्षिणपन्थको लहर चलिरह्यो।
इटाली, ब्राजिलमा दक्षिणपन्थी नेताको उदय भयो। थाइल्यान्डमा १७ दिन गुफाभित्र फसेका १२ जना युवाको साहसिक उद्धारले थुप्रैका आँखा छचल्कायो। अमेरिकाको मध्यावधि निर्वाचनमा तल्लो सदनमा डेमोक्य्राटको पकड रह्यो भने माथिल्लो सदन सिनेटमा रिपब्लिकनको। पछिल्ला केही दिन महँगीलगायत विषयमा फ्रान्समा पहेँला भेस्ट लगाएका प्रदर्शनकारीले सडक तताएका छन्।
युरोपेली संघबाट बाहिरिने बेलायतको योजना तल न माथि भएर अल्झेको छ। प्रधानमन्त्री टेरिजा मे संकटमा छिन्। राजकुमार ह्यारीले अभिनेत्री मेगन मार्कलसँग बिहे गरेका छन्, जो बेलायतको शाही परिवारको पहिलो अश्वेत सदस्य बनेकी छन्। भारतमा पाँच राज्यमा भएको विधानसभा चुनावमा सत्तारूढ भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धक्का लागेको छ। यसबाट उनी अपराजेय रहेको भ्रम हटेको छ। यस वर्षको विश्वकप फुटबलमा फ्रान्स विजयी भएको छ। यीबाहेक सन् २०१८ का महत्वपूर्ण घटनाका विवरण यसपटककाे अन्नपूर्ण सम्पूर्णले संग्रह गरेकाे छ ।
१. मानवीय संकट बढ्दो
यो वर्ष यमनको युद्धले खास चर्चा पायो। त्यहाँ युद्ध सुरु भएको चार वर्ष पुगिसकेको छ। अहिले त्यहाँ संसारको सबैभन्दा भयानक मानवीय संकट उत्पन्न हुने चेतावनी विज्ञहरूले दिइरहेका छन्। लडाइँमा त करिब १५ हजार यमनी मारिएका छन्, तर भोकमरीबाट झण्डै ६० हजारले ज्यान गुमाइसकेका छन्। लाखौँ बालबालिका कुपोषणग्रस्त छन्।
उनीहरूको शरीर र दिमागको विकासमा अवरोध उत्पन्न भएको छ। इरानको समर्थन रहेको भनिएको हुथी विद्रोहीको कब्जामा देशको धेरैजसो भूभाग छ। अमेरिकाको समर्थनमा साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा नाकाबन्दी र बमवर्षा गरिरहेको छ। जसको नतिजास्वरूप हाड र छाला मात्र भएका अनगिन्ती बालबालिकाका तस्बिर सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा बाहिरिएका छन्।
त्यस्तै, राष्ट्रपति निकोलस मदुरोको सत्तामा टाँसिने महत्वाकांक्षा र व्यवस्थापकीय अक्षमताका कारण भेनेजुएलामा पनि संकट गहिरिँदै गएको छ। मदुरो मे महिनामा पुनः निर्वाचित भए। करिब २३ लाखले देश छोडिसकेका छन्। आर्थिक संकट छ। मुद्रास्फीति चर्को छ। खानाको अभाव छ। लाखौँ मानिस कुपोषणको शिकार हुने सम्भावना छ। यसबाहेक सेन्ट्रल अफ्रिकन रिपब्लिक, कंगो, दक्षिण सुडानजस्ता स्थानमा पनि युद्धका कारण मानवीय संकट बढ्दो छ।
२. जलवायु परिवर्तनको खतरा
पृथ्वीको जलवायु परिवर्तन भइरहेको छ। यसको मुख्य कारण हो, मानिस। वैज्ञानिकहरूले यसबारे दशकौँदेखि चेतावनी दिँदै आएका छन्। राष्ट्रसंघीय निकाय आईपीसीसीले अक्टोबरमा जनाएअनुसार करिब १२ वर्ष यही प्रक्रिया जारी रहे हामी फर्किन नसक्ने विन्दुमा पुग्नेछौँ। यस वर्ष शक्तिशाली आँधी आए, डढेलो फैलियो, तापक्रम अहिलेसम्मकै उच्च रह्यो।
डब्लूडब्लूएफले हालै एक प्रतिवदेन सार्वजनिक गरेको छ। जसअनुसार मानिसका कारण १९७० यता मात्रै जीवजन्तुको ७० प्रतिशत संख्या मारिन पुगेको छ। जतिसुकै गहिरो समुद्रमा पनि प्लास्टिक प्रदूषण हुन थालेको छ। नोभेम्बरमा इन्डोनेसियामा मृत फेला परेको एउटा ह्वेलको पेटमा झण्डै छ किलोग्राम प्लास्टिक फेला परेको थियो। यी सबै तथ्यलाई हेर्दा मानवीय गतिविधिका कारण वातावरणीय क्षति बढिरहेको छ।
३. इथियोपिया र इरिट्रियाबीच शान्ति सम्झौता
इथियोपिया र इरिट्रिया १२ वर्ष लडे। युद्ध सन् २००० मा समाप्त भयो। झण्डै ८० हजारले ज्यान गुमाए। तर, उनीहरूबीच औपचारिक शान्ति सम्झौता हुन सकेको थिएन। त्यसैले इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अबिय अहमदले जुन महिनामा आफू इरिट्रियासँग शान्ति सम्झौता गर्न तयार रहेको बताउँदा सबै चकित भए।
नभन्दै जुलाई महिनामा उनी इरिट्रिया गए र सम्झौता भयो। इरिट्रियाका राष्ट्रपति इसाया अफेर्की र अहमदले सम्झौतामा हस्ताक्षर गरे। त्यसयता शान्ति प्रयासले मूर्तरूप लिन थालेको छ। दुवै देशले एकअर्काकहाँ दूतावास पुनः खोलेका छन्। व्यावसायिक उडान पनि सुरु भएका छन्। सीमाबाट सशस्त्र फौज हटाउने प्रक्रिया सुरु भएको छ।
छिमेकीसँग मात्र होइन, देशभित्र पनि अहमदले केही उल्लेखनीय सुधार गरेका छन्। राजनीतिक बन्दीलाई छोडेका छन्, संकटकाल अन्त्य गरेका छन्। इरिट्रियालाई कतिपयले ‘अफ्रिकाको उत्तर कोरिया’ समेत भन्ने गर्छन्। तर, पछिल्लो समय यो देशले विदेश नीति नरम बनाएको छ।
सीमा विवाद सल्ट्याउन सोमालिया र जिबुटीसँग सम्झौता गरेको छ। यसको प्रतिक्रियास्वरूप संयुक्त राष्ट्रसंघले इरिट्रियामाथि लगाएको हतियार किनबेचमाथिको प्रतिबन्ध फुकुवा गरेको छ।
४. विश्वव्यापी ‘मी टू’ आन्दोलन
एक दशकअघि बीउ रोपिएको ‘मी टू’ आन्दोलनले गत वर्ष अमेरिकामा तहल्का मच्चाएको थियो। हलिउड निर्माता हार्भी वाइन्स्टिनले दर्जनौँ महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि यो आन्दोलनले चर्चा पायो।
सन् २०१८ मा भने यो विश्वभर फैलिएको छ। दशौँ हजारले आफ्ना पीडा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पोखेका छन्। स्पेन, इटाली, फ्रान्स, अरबजस्ता क्षेत्रमा त्यहीँको भाषामा ‘मी टू’ अर्थ दिने ह्यासट्याग प्रचलित भएका छन्।
इन्टरनेटमा ‘मी टू’ सम्बन्धी सर्च उच्च छ। सन् २०१८ को नोबेल शान्ति पुरस्कार पनि यौन हिंसा अन्त्यका लागि सक्रिय कंगोका डाक्टर डेनिस मुक्वेगे र याजिदी महिला नादिया मुरादलाई प्रदान गरियो।
चीन, भारत हुँदै यो आन्दोलन नेपालसम्म पनि आइपुग्यो। केही महिलाले काठमाडौँका पूर्वमेयर केशव स्थापितलाई अनुचित व्यवहार गरेको आरोप लगाए। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले आफूलाई दुव्र्यवहार गरेको दुई विद्यार्थीको आरोप छ।
‘मी टू’ विश्वव्यापी बन्दै गर्दा यसको दीर्घकालीन प्रभाव कस्तो होला ? के यसले लामो समयपछि पनि यौन उत्पीडन, लैंगिक विभेद अन्त्य गर्न सहयोग पुर्याउला ? यी विषयमा बहस चलिरहेका छन्।
५. जमाल खसोग्गीको हत्या
अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा पत्रकार जमाल खसोग्गीको हत्या भयो। साउदी अरबबाट आएका १५ जना गुप्तचरको टोलीले उनको हत्या गरी शरीरलाई टुक्राटुक्रा पारेर नष्ट गरेको थियो। यो वर्ष सबैभन्दा बढी चर्चामा आएकामध्ये एक विषय बनेको छ, खसोग्गीको हत्या।
टर्कीले लगातार साउदीमाथि हत्याको जिम्मेवारी लिन दबाब दिइरह्यो। झण्डै दुई साता झुटो बोलेपछि साउदी अरब हत्या भएको स्विकार्न बाध्य भयो। तर, पश्चिमा शक्तिराष्ट्रले यसबारे दह्रो अडान लिन नसक्दा खसोग्गी हत्या यसै सेलाउने सम्भावना देखिएको छ।
अमेरिकी गुप्तचर एजेन्सी सीआईएसमेतले हत्यामा साउदी युवराज मोहम्मद बिन सलमान सहभागी भएको निष्कर्ष निकाले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदीसँगको सम्बन्धमा कुनै असर नपर्ने दोहोर्याएका छन्।
यसअघि नै उनले साउदीसँग एक सय अर्ब डलरको हतियार बेच्ने सम्झौता गरिसकेका छन्। यो घटनाले विश्वभर पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरू खतरामा रहेको देखाएको छ। त्यसैले यस वर्ष ‘टाइम’ म्यागजिनले खसोग्गी र मारिएका तथा जेलमा परेका अन्य पत्रकारलाई वर्षव्यक्ति घोषित गरेको छ।
६. सिरियामा असदको पकड
अप्रिल १४ मा सिरियाली सेनाले सरकारविरोधी सबै शक्तिलाई पूर्वी गुटाबाट लखेटेको घोषणा ग¥यो। दमास्कससँगै जोडिएको सो स्थानमा दुई महिनासम्म भीषण लडाइँ चलेको थियो। जसमा १७ सय मानिस मारिए। सन् २०११ को विद्रोहपछि भयानक भुमरीमा फसेको सिरियामा पुनः बसर अल असदको सरकार हाबी हुँदै गएको छ।
इस्लामिक स्टेटलगायत आतंकवादी संगठन पराजित हुँदै गएका छन् भने रुसले आफ्नो उपस्थिति बलियो बनाएको छ। टर्की, रुस, अमेरिका नेतृत्वको पश्चिमा गठबन्धन आदिको स्वार्थमा विभक्त छ, सिरिया। केही समयअघि असदले त्यहाँ रासायनिक हमला गराएको दाबी पश्चिमा शक्तिले गरेका थिए। अमेरिका, बेलायत र फ्रान्सले सरकारी निशानामा हवाई हमला पनि गरे।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फर्काउने घोषणा गरेका छन्। इस्लामिक स्टेट पराजित भइसकेको उनको दाबी छ। यसले पश्चिमा गठबन्धनमा हलचल ल्याएको छ। अमेरिकी सेना फर्किंदा नियन्त्रण पुनः इस्लामिक स्टेटको हातमा जान सक्ने चिन्ता व्यक्त गरिएको छ। कतिपयले ट्रम्पको कदमबाट सिरियामा रुस अझ बलियो बन्ने दाबी गरेका छन्। फ्रान्सले भने आफ्ना सैनिक सिरियामै रहने बताएको छ।
७. पाकिस्तानका कप्तान खान
पाकिस्तानको राजनीतिमा सन् २०१८ महत्वपूर्ण वर्ष रह्यो। लामो समय राजनीतिमा रहेका नवाज सरिफको पतन भयो भने क्रिकेटमा सन्न्यासपछि राजनीतिमा आएका इमरान खान प्रधानमन्त्री बने। सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गरेर चुनाव लड्न अयोग्य घोषणा गरेसँगै खान पाकिस्तानी राजनीतिको मियो बनेका छन्। उनी पाकिस्तानका बाइसौँ प्रधानमन्त्री त बने, तर उनको सामुन्ने चुनौतीको पहाड पनि कम अग्लो छैन।
सैनिक अधिनायकत्व, आतंकवाद, भ्रष्टाचारजस्ता घरेलु समस्यासँग जुधिरहेको छ पाकिस्तान। त्यसबाहेक, भारत, चीन र अमेरिकासँगको सम्बन्धले पनि उनको सरकारको प्रदर्शनलाई प्रभावित पार्नेछ। किनभने, पाकिस्तान शीतयुद्धकालीन समयदेखि नै भूरणनीतिक दाउपेचको केन्द्रमा रहँदै आएको छ। पाकिस्तानले जहिले पनि आतंकवादीसँग साँठगाँठ गरेको आरोप भारतले लगाउने गर्छ।
अमेरिकामा ट्रम्पको उदयसँगै पाकिस्तानलाई दिँइदै आएको सहयोग रोक्का भएको छ। चीनले पाकिस्तानमा ठूलो रकम लगानी गरेको छ। तर, देशभित्र र बाहिरका शक्तिले पाकिस्तान बारम्बार ऋणपासोमा पर्ने चेतावनी दिँदै आएका छन्। देशको अर्थतन्त्र संकटमा छ। विदेशी मुद्रा सञ्चिति घटेर खान संकटमा छन्। उनले हालै साउदी अरब र चीनको भ्रमण गरेर सहयोगको याचना गरे। तर, सोचेजस्तो भरथेग पाएनन्। आगामी केही वर्षको प्रदर्शनले ६५ वर्षीय खान पाकिस्तानी राजनीतिको शिखरमा रहनेछन् या छैनन्, टुंगो लगाउनेछ।
८. चौथो कार्यकालमा पुटिन
यो वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि फलिफापयुक्त रह्यो। उनी चौथो कार्यकालका लागि राष्ट्रपतिमा सहजै विजयी भए। सन् २००० मा पहिलो पटक राष्ट्रपति बनेका उनी रुसलाई पुनः शक्तिराष्ट्रका रूपमा उभ्याउन सफल भएका छन्। त्यसैले यस वर्ष उनी ७६.७ प्रतिशत मत पाएर विजयी भए। यससँगै उनी स्टालिनपछि रुसमा सबैभन्दा लामो समय शासन गर्ने व्यक्ति बनेका छन्।
भूराजनीतिक दाउपेच र घरेलु राजनीतिमा उनी सफल देखिएका छन्। सिरियामा रुसको उपस्थिति बलियो बनाएर उनले नेटो गठबन्धनलाई चुनौती दिएका छन्। क्रिमिया विलयपछि उनको छविमा थप सुधार भएको छ। उनको एउटै चिन्ताको विषय भनेको अर्थतन्त्र हो। अस्थिर तेलको मूल्य र नाकाबन्दीका कारण रुसी अर्थतन्त्र खुम्चिएको छ। मार्च महिनामा पूर्व दोहोरो गुप्तचर सेर्गेई स्क्रिपाल र उनकी छोरी बेलायतको सालिसबरीमा रासायनिक आक्रमणमा परेपछि पुटिनमाथि कूटनीतिक दबाब बढ्यो।
उनीहरूलाई रुसले आक्रमण गरेको आरोप बेलायतले लगायो। दुई देशबीच भनाभन चर्किंदै गएपछि एकअर्काका कूटनीतिक कर्मचारीलाई देशनिकाला समेत गरियो। रुसमाथि थप नाकाबन्दी पनि लाग्यो।
९. प्यालेस्टाइनको निराशा
मार्च ३० मा गाजा स्ट्रिपमा छ साता लामो प्रदर्शन आयोजना गरिएको थियो। अमेरिकाले तेल अभिभबाट दूतावास जेरुसलेम सार्ने निर्णयको विरोधमा आन्दोलन चलिरहेको थियो। तर, इजरायलले निर्दयतापूर्वक प्रदर्शनकारीमाथि गोली बर्सायो।
३० मार्चदेखि १५ मेसम्ममा कम्तीमा १ सय १० जनाले ज्यान गुमाए। १३ हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भए। १४ सयभन्दा बढीलाई गोली लाग्यो। यत्रो प्रदर्शन हुँदा एक जना मात्र इजरायली सैनिक सामान्य घाइते भए। राष्ट्रसंघको महासभामा इजरायली बलप्रयोगको भत्र्सना भयो। अमेरिकाले इजरायलको प्रतिरक्षामा साना देशहरूलाई सहयोग रोक्का गर्ने धम्कीसमेत दियो।
कुवेतको मध्यस्थता प्रयासलाई पनि अमेरिकाले रोकिदियो। मे १४ मा अमेरिकाले जेरुसलेममा दूतावास खोलेरै छाड्यो। अन्य केही देशलाई पनि इजरायलले लोभ्याएर दूतावास सार्न लगाएको छ। त्यसैले यो वर्ष मुक्तिको आन्दोलन गरिरहेका प्यालेस्टाइनीका लागि निराशाको वर्ष रह्यो।
१०. अमेरिका–चीन व्यापार युद्ध
डोनाल्ड ट्रम्पले भन्दै आएका थिए, सामान आयातमा कर लगाउनु राम्रो कुरा हो। यो वर्ष उनले त्यसलाई कार्यान्वयन गरे। परिणाम जे हुनु थियो, त्यही भयो। अहिले चीन र अमेरिकाबीच व्यापार युद्ध चलिरहेको छ। जसले विश्वव्यापी असर पार्ने अनुमान गरिँदै छ। जनवरीमा ट्रम्प प्रशासनले आयातीत वासिङ मेसिन र सोलार प्यानलमा कर बढायो।
मार्चमा स्टिल र आलमुनियममा कर लगायो। त्यहाँसम्म ठीकै थियो। तर, जब अमेरिकाले ५० अर्ब डलरको चिनियाँ सामानमा कर लगायो, तब चीनले पनि बदला लियो। जुलाईसम्ममा अमेरिकाले २ सय ५० अर्ब डलरको चिनियाँ सामानमा कर लगाइसकेको छ। त्यसबेला ट्रम्पले ट्वीट गरेका थिए, ‘व्यापार युद्ध राम्रो हो, जित्न पनि सजिलो हुन्छ।’
तर, यो युद्धको असर अमेरिकी उपभोक्ताले सहनु परिरहेको छ। सेयर बजार तल झर्यो, अमेरिकाको व्यापार घाटा झनै बढ्यो। चीनसहित अन्य व्यापारिक साझेदारले पनि अमेरिकी निर्यातमा कर बढाइदिए। यसबाट अमेरिकी किसानले विदेशी बजार गुमाए। अमेरिकी उत्पादकले रोजगारी घटाए। व्यापार युद्धको रस्साकस्सी चलिरहेको छ। कसले जित्ला ? अनेकौँ अनुमान लगाइँदै आएको छ।
एकथरीको नजरमा यसले उदाउँदो चीनको महाशक्ति बन्ने महत्वाकांक्षामा धक्का पुग्नेछ भने अर्काथरीको विचारमा अन्ततोगत्वा अमेरिका दोस्रो हुन बाध्य हुनेछ। युरोपेली युनियनसँग त ट्रम्पले नयाँ सम्झौता गरिसकेका छन्। चीनसँग पनि बढेको कर ९० दिनका लागि स्थगित गर्ने सम्झौता गरेका छन्। तर, अमेरिकाको आग्रहमा चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेकी वित्तीय प्रमुख मेङ वाङझाउलाई क्यानडामा पक्राउ गरिएपछि यो मुद्दा फेरि बल्झिएको छ।
चीनले बदलामा दुई क्यानडाली नागरिकलाई नियन्त्रणमा लिएको छ भने अनौपचारिक रूपमा आइफोनको सट्टा चिनियाँ नागरिकलाई स्वदेशी स्मार्टफोन खरिद गर्न आग्रह गरेको छ।
११. किम जोङ उनको नयाँ अवतार
एक वर्षअघिसम्म उत्तर कोरियाली सर्वोच्च नेताले अमेरिकी राष्ट्रपतिलाई भेट्लान भन्ने अनुमान गर्न पनि मुश्किल थियो। तर, २०१८ मा किमले एउटा होइन, दुइटा होइन, तीन वटा शिखर सम्मेलन गरे। त्यो पनि दक्षिण कोरिया, चीन र अमेरिकाका राष्ट्रपतिसँग। किमले मुन जे इन र सी जिनपिङसँग तीन–तीन पटक भेट गरे भने डोनाल्ड ट्रम्पसँग एक पटक।
सन् २०१७ को अन्त्यमा आणविक क्षेप्यास्त्र परीक्षण गरेर समाचारमा छाएका किम यो वर्षको सुरुवातसँगै कूटनीतिमा प्रवेश गरे। उनको कूटनीतिक डेब्यूको वर्ष निकै सफल र भव्य रह्यो। अन्तर्राष्ट्रिय सम्बन्ध सामान्य बनाउने किमको प्रयासलाई छिमेकी दक्षिण कोरियाले मात्र होइन, चीन र अमेरिकाले पनि प्रोत्साहन गरे। उच्चस्तरीय द्विपक्षीय भ्रमण भए।
किमले पहिले हिउँदे ओलम्पिकको अवसर पारेर बहिनी किम यो जोङलाई दक्षिण कोरिया पठाए। अप्रिलमा दुई देशका राष्ट्रपतिबीच पान्मुन्जोममा पहिलो शिखरवार्ता भयो। मेमा उनीहरूबीच पुनः बैठक भयो। त्यसपछि सिंगापुर पुगेर किमले ट्रम्पसँग ऐतिहासिक वार्ता गरे। दुई देशका नेता पहिलो पटक जुन १२ मा आमनेसामने बसे।
दक्षिण र उत्तरबीचको युद्ध औपचारिक रूपमा अन्त्य गर्ने सहमति बन्यो। अमेरिकी र उत्तर कोरियालीबीच अहिले आणविक निश्शस्त्रीकरणका विषयमा वार्ताको प्रयास भइरहेको छ। त्यो सफल भए वा नभए पनि किमले आफ्नो कूटनीतिक छवि स्थापित गरेका छन्। दक्षिण कोरियासँग सम्बन्ध नयाँ ढंगले अघि बढेको छ। रेलमार्ग, सडकमार्ग जोड्ने तयारी भएको छ। चिनियाँ राष्ट्रपतिसँग तीन पटक लगातार भेटेर किमले पुरानो सम्बन्ध र अन्तरनिर्भरतालाई पुनर्जीवन दिएका छन्।