प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई बद्नाम हुन नदिन मेरो राजीनामा : झा
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्।
दूरसञ्चार क्षेत्रको नियामक निकायको अध्यक्ष पदमा बस्न अयोग्य भनी हटाइएका झालाई केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः नियुक्ति दिएपछि सत्तारुढ दल नेकपा भित्रैबाट सरकारको आलोचना भएको थियो।
झाको नियुक्ति विरोध गर्दै उनलाई हटाउन प्रधानमन्त्रीमाथि दबाब सिर्जना गर्न नेकपाका ४३ केन्द्रीय सदस्यले केही दिन अघि हस्ताक्षर संकलन गरी बुझाएका थिए।
दबाब बढ्दै गएपछि प्रधानमन्त्रीले झालाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले बुधबार संसदीय दलको बैठकमा झाले राजीनामा गरेको बताएका थिए। झाले आफूले राजीनामा दिएको पुष्टी गरेका छन्।
अन्नपूर्ण पोस्टसँग कुरा गर्दै झाले आफ्नो विषयमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई बद्नाम गराउने कोसिस भएकाले आफू पदमा बसिरहन नचाहेको बताएका छन्। ‘मेरा कारण उहाँहरुलाई बद्नाम हुन नदिन राजीनामा गरेको हुँ’, उनले भने, ‘मेरो मानमर्दन गर्ने गरी गरिएको अभियोजन विरुद्ध कानुनी उपचार खोज्नेछु।’
झालाई ओली नेतृत्वको सरकारले अयोग्य भनी हटाए पुनः अध्यक्षमा नियुक्त गरेको थियो।