ए डिभिजन लिग : हिमालयन शेर्पाको जित
काठमाडौं : हिमालयन शेर्पा क्लबले लिगको ११औं खेलमा फराकिलो जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बुधबार भएको खेलमा शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–१ गोलले हरायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
शेर्पाको जितमा ४६औं मिनेटमा गोहा प्याट्रिकले खाता खोले। ५४औं मिनेटमा विशोन गुरुङले गोल गर्दै शेर्पाको अग्रता दोब्बर बनाए। विश्वास श्रेष्ठले ६१औं र ८०औं मिनेटमा दुई गोल थपेका थिए। ८७औं मिनेटमा ब्रिगेड ब्वाइजका वर्तमान गुरुङले सान्त्वना गोल फर्काएका जिए। जितसँगै १७ अंक बनाएको शेर्पा पाँचौं स्थानमा उक्लिएको छ। ६ अंक बनाएको ब्रिगेड १३औं स्थानमा छ।
यसैगरी एन्फामै भएको अर्को खेलमा जाउलाखेल युथ क्लबले मच्छिन्द्र फुटबल क्लबलाई २–१ गोलले हरायो। जावलाखेलको जितमा अरुज सिंहले ५५औं मिनेटमा पेनाल्टी गोलमार्फत पहिलो गोल गरेका थिए। दोस्रो गोल ६५औं मिनेटमा फोडे फोनानाले थपेका थिए। दोस्रो गोलपछि रक्षात्मक देखिएको जाउलाखेलविरुद्ध मच्छिन्द्रले ९०औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो। मच्छिन्द्रका लागि अल्बा आडेमोलाले गोल गरेका थिए। जितसँगै ११ अंक बनाएको जाउलाखेल नवौं स्थानमा उक्लिएको छ। ६ अंक बनाएको मच्छिन्द्र तालिकाको १२औं स्थानमा छ।
यसैगरी सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा भएको अर्को खेलमा फ्रेन्ड्स र एनआरटी क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। एनआरटीले ४३औं मिनेटमा सुरुआती गोल गरेको थियो। एनआरटीका सुशील लामाले गोल गरे। फ्रेन्ड्सले ७८औं मिनेटमा बारबरी गोल फर्काएको थियो। फ्रेन्ड्सका असीम भुुसालले बराबरी गोल गरेका थिए। बराबरीसँगै नौ अंक बनाएको फ्रेन्ड्स ११औं स्थानमा छ।
पाँच अंक बनाएको एनआरटी १४औं स्थानमा छ। लिगअन्तर्गत बिहीबार शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लब र दोस्रो स्थानमा रहेको संकटाबीच प्रतिस्पर्धा हुनेछ। १० खेलमा अपराजित मनाङको ३० र संकटाको २५ अंक छ। दुई टोलीबीचको अन्तर पाँच अंक रहेकोले संकटालाई हराएमा मनाङ दुई खेलअघि नै च्याम्पियन बन्नेछ।