हिंसा रोक्न अमेरिकी जनतासँग हतियार खरिद
वासिङटन : अमेरिकाको बाल्टिमोर प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हतियार जनतासँग खरिद गरेको छ। अमेरिकाको पूर्वी क्षेत्रमा रहेको बाल्टिमोर नगरमा हिंसात्मक घटना बढ्दै गएपछि प्रहरीले आमजनतासँग रहेका त्यस्ता हातहतियार किनेर फिर्ता लिएको हो।
गत साता सञ्चालित तीनदिने अभियानका क्रममा गैरकानुनी समेतका हातहतियार खरिद गरिएको प्रहरीले जनाएको छ। यो शहरमा लगातार चार वर्षदेखि वर्षेनि ३ सयभन्दा बढी व्यक्तिको एकअर्का विरुद्ध आक्रमणबाट मृत्यु भएको छ। प्रहरी प्रवक्ताले प्रहरी अधिकृतहरूले १ हजार ८६० वटा हातहतियार संकलन गरेको जानकारी दिए। नगरका मेयरले ट्विट गरी एउटा रकेट लन्चर समेत बरामद भएको जनाएका छन्।
अधिकारीहरूले ठूलो म्यागजिन लाग्ने हतियारको २५ डलर, ह्यान्डगन र राइफलको १ सय डलर, अर्ध स्वचालित राइफलको २ सय डलर र स्वचालित राइफलको ५ सय डलर दिने घोषणा गरेका थिए। बाल्टिमोर नगर परिषद्का अनुसार यो अभियानका लागि २ लाख ५० हजार अमेरिकी डलर बजेट व्यवस्था गरिएको थियो। स्थानीय पत्रिका ‘बाल्टिमोर सन’ले उक्त कार्यक्रम समय, रकम र स्रोतको बर्बादी भनी टिप्पणी गरेको छ।
प्रहरी प्रमुख गेरी गटलले नगर निवासीसँग बन्दुक नै नभएको अवस्थामा बन्दुकको प्रयोगबाट हुने हत्या र हिंसात्मक घटनामा स्वतः कमी आउने दाबी गरे। अमेरिकी संविधानको दोस्रो संशोधनले मानिसलाई हतियार राख्न पाउने अधिकार दिएको छ। अमेरिकाका एक तिहाइ घरपरिवारमा हातहतियार रहेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार अमेरिकामा सन् २०१७ मा हातहतियारको प्रयोगबाट झण्डै ४० हजार मानिसको मृत्यु भएको थियो।