एन्फा निर्वाचनमा आर्थिक चलखेल, अडियो रेकर्ड सार्वजनिक
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि गत वैशाखमा भएको निर्वाचनमा ठूलो आर्थिक चलखेल भएको दाबी जिल्ला फुटबल संघका पदाधिकारीले गरेका छन्। एन्फाअन्तर्गत काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको नतिजा प्रभावित पार्न अध्यक्षमा निर्वाचित कर्माछिरिङ शेर्पा समूहले ठूलो मात्रामा आर्थिक चलखेल गरेको आरोप लगाए।
उनीहरूले निर्वाचनअघि जिल्ला संघका पदाधिकारीलाई प्रभावमा पार्न एकदेखि १२ लाख रुपैयाँसम्म आर्थिक प्रलोभन दिएको भन्दै ‘अडियो रेकर्ड’ समेत सार्वजनिक गरेका छन्। अडियो रेकर्डमा निर्वाचित अध्यक्ष शेर्पा, मानार्थ अध्यक्ष तासी घले, उपाध्यक्ष पंकज नेम्बाङ, महासचिव इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन जोशी, सदस्यहरू दावा लामा, मधुसूदन उपाध्याय, दीपक खाती, नवीन पाण्डेलगायतको आवाज रहेको दाबी गरिएको छ। ‘अडियो रेकर्ड’ पत्रकार सम्मेलनमा उपस्थित सञ्चारकर्मीलाई समेत सुनाइएको थियो।
जिल्ला पदाधिकारीहरूले निर्वाचनका समयमा निर्वाचन समिति, अदालत र मताधिकार प्राप्त प्रतिनिधिलाई आर्थिक प्रलोभनमा पारेको, निर्वाचनअघि मताधिकार प्राप्त व्यक्तिलाई भारतका विभिन्न स्थानमा लगेर क्लोज क्याम्पमा राखेको, हवाई टिकटमा ठूलो धनराशि खर्च गरेको र निर्वाचन समितिलाई मार्ने धम्की दिएको आरोप पनि लगाएका छन्।
पत्रकार सम्मेलनमा संघका पदाधिकारीले विदेशी नागरिक नवीन पाण्डेलाई विश्व फुटबल महासंघ (फिफा) कंग्रेसमा नेपालको प्रतिनिधिका रूपमा सहभागी गराएको र रूस विश्वकपका लागि फिफा टिकट खरिदमा व्यापक अनियमितता गरेको आरोप पनि लगाए। उनीहरूले यी विषयमा राखेपलगायतका निकायमा उजुरी गर्दा पनि कुनै कारबाही नभएको प्रति दुःख ब्यक्त गरे।
उनीहरूले आवश्यक प्रमाणसहित युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को सार्वजनिक लेखा समिति, फिफा र एसियाली फुटबल महासंघ (एएफसी) मा उजुरी दिने पनि बताएका छन्। फिफा र एएफसीको इथिक्स कमिटीमा उजुरीका लागि भिडियो रेकर्डको अंग्रेजी भाषामा अडिट रिपोर्टको लिखितपत्र पनि तयार गरिएको छ। पत्रकार सम्मेलनमा काठमाडौंका अध्यक्ष विराटजंग शाही, भक्तपुरका अध्यक्ष गौतम सुजखू, धादिङका अध्यक्ष दीपक खतिवडा र ललितपुरका अध्यक्ष पुरुषोत्तम थापालगायतको उपस्थिति थियो।