एम्बुलेन्सको अनुचित प्रयोग रोक
सडकमा साइरन बजाउँदै दौडिएपछि मार्गप्रशस्तको सुविधा पाउने यातायात साधन हो एम्बुलेन्स। संवेदनशील अवस्थाका बिरामीलाई अस्पतालसम्म पुर्याउने जिम्मा लिएकाले एम्बुलेन्सलाई त्यस्तो सुविधा दिइएको हुन्छ। त्यसैले एम्बुलेन्सको भन्नासाथ मानव कल्याणको प्रतिबिम्बका रूपमा लिइन्छ। मानव कल्याण कार्यलाई कतैबाट पनि अवरोध नहोस् भनेर यस्ता सुविधा दिइएको हुन्छ। मानव कल्याण कार्य नै व्यापारको माध्यम बनाइयो भने के हुन्छ ? अवश्य पनि मानव कल्याण कार्यमाथि नै शंका उब्जिन्छ। सुविधा र सेवा पाउनुपर्नेले पाउँदैनन्। अनुचित प्रयोग बढ्दै जान्छ। पछिल्लो समय एम्बुलेन्सको यस्तै अनुचित प्रयोग बढ्दै गएको पाइएको छ।
दुर्गम भेगका निम्ति खरिद र सहयोगस्वरूप प्राप्त अधिकांश एम्बुलेन्स धनुषामा अनुचित प्रयोग भएको भेटिएको छ। यसले एम्बुलेन्सजस्तो संवेदनशील विषयमा दुरुपयोगको यो हद देखिनु दुर्भाग्य हो। यद्यपि धनुषा मात्र एक्लो उदाहरण होइन। यसभन्दा पहिला पनि एम्बुलेन्सको अनुचित प्रयोगका अनेक घटना सार्वजनिक भइसकेका छन्। रक्तचन्दन तस्करीजस्तो आपराधिक क्रियाकलापमा समेत एम्बुलेन्स प्रयोग भएको घटनाले यसप्रतिको जनविश्वास नै कमजोर बनाएको छ। युद्ध र संकटकालीन समयमा पनि एम्बुलेन्सलाई सुरक्षा जाँचबाट मुक्ति दिइएको हुन्छ। त्यस्तो उन्मुक्तिलाई नै राज्यविरुद्धको कार्यमा उपयोग गर्न थालियो भने उन्मुक्तिमाथि नै प्रश्न गर्नुपर्ने हुन्छ।
नेपालमा सञ्चालित एम्बुलेन्सबारे भने धेरै पक्षबाट ध्यान दिन जरुरी छ। अधिकांश एम्बुलेन्स अन्तर्राष्ट्रिय मापदण्डअनुसारका छैनन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार एम्बुलेन्समा कम्तीमा एउटा अक्सिजन सिलिन्डर, आरामदायी बेड, केही लामो आकार हुनुपर्छ। सामान्य जिपलाई साइरन र बत्ती जोडेर एम्बुलेन्स बनाइएको उदाहरण प्रशस्त छ। त्यस्तै अधिकांश एम्बुलेन्स निकै लामो समयदेखि प्रयोगरत अवस्थामा छन्। एम्बुलेन्सको निरन्तर परीक्षण र तिनको निरन्तर मर्मत–सम्भार गर्न आवश्यक छ, तर एम्बुलेन्सको निरन्तर जाँच गर्ने निकायको अभाव छ। जीवन सुरक्षाका लागि उपयोग हुने साधन नै जीवनका लागि खतरनाक नबनून् भनेर सुनिश्चितता गर्ने निकायको अभाव पूर्ति गर्न आवश्यक छ।एम्बुलेन्सलाई व्यापारको विषय बनाउनु खतरा हो। नियमअनुसार, जुन स्थानका लागि भनेर एम्बुलेन्स किनिन्छ वा सहयोगस्वरूप लिइन्छ, त्यहाँ मात्रै चलाउन र बिरामीको ओसारपसार गर्न पाइन्छ। तर ग्रामीण स्थानका लागि खरिद गरिएका वा सहयोगस्वरूप लिइएका एम्बुलेन्स ठेक्कामा वा बिक्रीपश्चात् सहरी क्षेत्रमा सञ्चालन भएको पाइन्छ। यस्तो दुरुपयोगले जुन ठाउँका लागि एम्बुलेन्स ल्याइएको हो, त्यहाँका वासिन्दाले त्यसको सेवा लिन पाएका छैनन्। यस्ता दुरुपयोग नहोस् भनेर सरकारले सञ्चालनमा रहेका सबै एम्बुलेन्सबारे छानबिन गर्न आवश्यक छ। कुन–कुन एम्बुलेन्स कहाँ, कसले, कसरी प्रयोग गरिरहेको छ भन्नेबारे स्पष्ट आँकडा निर्माण गर्न आवश्यक छ। त्यस्तो आँकडाले एम्बुलेन्स दुरुपयोगबाट जोगाउनेछ। एम्बुलेन्स दुरुपयोग नहोस् भनेर सरकारी तवरबाटै चासो र तदारुकता आवश्यक छ।
एम्बुलेन्स दुरुपयोग रोक्न खरिद प्रक्रियाबाटै सुपरिवेक्षण जरुरी छ। एम्बुलेन्स खरिदका लागि सरकारले राजस्वमा भारी मात्रामा छुट दिने गरेको छ, तर यस्तो छुट कहाँ कसरी दिने भन्नेबारे नियमनको आवश्यकता छ। सरकारले आवश्यक पूर्वतयारी छ, छैन, छानबिन हुनुपर्छ। एम्बुलेन्स खरिद गरेको संस्थाको प्रकृति, त्यसलाई सञ्चालन गर्ने व्यवस्था सबैको स्पष्ट मापदण्डको आवश्यकता छ।
सेवा प्रवाहको बलियो माध्यम हो एम्बुलेन्स। मानव स्वास्थ्यसँग प्रत्यक्ष साइनो राख्ने भएकाले एम्बुलेन्स दुरुपयोग गम्भीर अपराध हो। त्यसैले एम्बुलेन्सको अनुचित प्रयोग रोक्न कारबाहीको व्यवस्था पनि अर्को आवश्यकता हो। एम्बुलेन्सको गरिमा कायम राख्न, मानव कल्याणको गरिमा जोगाउन र सेवा प्रवाहलाई सहज बनाउन सरकारले एम्बुलेन्सको सेवा प्रवाहबारे निरन्तर छानबिन गरिरहन जरुरी छ।