न्यू इयर @ लेकसाइड, पोखरा
पोखरा : पाहुनाको स्वागतका लागि भव्य स्वागतद्वार। त्यसपछि बुद्धमन्त्र अंकित रंगीचंगी ध्वजापताकाको तोरण। सफा र चिरिच्याट्ट पारिएको सडक। दायाँबायाँका सबैजसो पसलबाट गुञ्जने तिब्बती धुन। कुनैबाट भने सनातन धर्म परम्पराको संगीत। अघि बढ्दै जाँदा सांगीतिक धुनहरू पनि बदलिँदै जान्छ। कतैबाट पश्चिमा संगीतको ध्वनी फैलन्छ त कतै पूर्वीय।
सजावटको विविधताले पसलहरू पनि हेरिरहूँ झैं लाग्छन्। कफी सपहरूको डेकोरेसनले छुट्टै आकर्षण थपेको छ। रेस्टुरेन्टहरूका फरक सजावटले कतै परम्पराको झल्को दिएका छन् त कतै आधुनिकताको। मुस्कुराउँदै स्वागत गर्ने स्टाफको सत्कार झनै बेग्लै र विशिष्ट। हो, यतिबेलाको लेकसाइडको दृष्य हो यो। देशको पर्यटकीय केन्द्र पोखरा। पोखराको पनि पर्यटकीय केन्द्र लेकसाइड। अंग्रेजी नयाँ वर्षको छेको पारेर एउटा पर्व नै चल्छ यहाँ। रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखरा शाखाको आयोजनामा पुसको १३ देखि १७ गतेसम्म चल्ने ‘पोखरा सडक महोत्सव’ फेवाताल किनारको यो ठाउँमा यसरी पर्व चल्न थालेको यसपटक २० औं वर्ष भएको छ।
देशभर हुने मेला महोत्सवमध्ये सबैभन्दा धेरै मानिस सहभागी हुने भएकैले आयोजकले बिगेस्ट फेस्टिभलको दाबी पनि गर्दै आएका छन्। वर्षमै सबैभन्दा धेरै पर्यटक अंग्रेजी नयाँ वर्षमा भित्र्याउने यो पर्वको सुरुआतको कथा रोचक छ। रेबान पोखराका संस्थापक उपाध्यक्ष गणेशबहादुर भट्टराई भन्छन्, ‘यूरोपेली पर्यटक नयाँ वर्ष र क्रिसमस मनाउन कि थाइल्यान्डतिर जान्थे कि भारतको गोवातिर।’ भारतको गोवामा फुड एन्ड म्यूजिक फेस्टिभल देखेको र त्यस्तै केही गर्ने सोच पलाएको उनको भनाइ छ। ‘पहिलो महोत्सव आयोजना गर्न राजा वीरेन्द्रको जन्मोत्सवको अवसर पनि पारेका थियौं’, उनले भने, ‘पहिला लेकसाइड मिनी फेस्टिभल भनेका थियौं, अहिले यति ठूलो महोत्सव भयो।’
भट्टराईका अनुसार, सुरुताका रेस्टुरेन्ट सञ्चालक आफैंले ३ हजार, ५ हजार १० हजार र १५ हजारका दरले पैसा उठाएर फेस्टिभल आयोजना हुन्थ्यो तर अहिले मुलुककै ठूला उद्योगी यो महोत्सवका लागि लाखौं रुपैयाँको प्रायोजन गर्न तयार छन्। पछिल्ला वर्ष त स्वदेशी पर्यटकले पनि यो बेला पोखरालाई गन्तव्य बनाइरहेका छन्। रेबान पोखराका अध्यक्ष बुधराज भुजेलले भने, ‘सबै पोखरेलीको महोत्सवजस्तो हुनाले पनि भव्य हुने गरेको छ।’ रेबानका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेल पोखरा सडक महोत्सवलाई कल्चर, फुड र म्युजिकको त्रिवेणी भएको टिप्पणी गर्छन्। उनका अनुसार, यसपालिको महोत्सवमा २७ देशका खानाका परिकार महोत्सवमा हुनेछन्।
कल्चर, फुड र म्यूजिकको मजा लिँदै नयाँ वर्ष मनाउने गज्जबको गन्तव्य हो लेकसाइड।
तीन किलोमिटर सडकमा महोत्सव चल्छ। सडकमै ओर्लन्छन् रेस्टुरेन्टका किचन र कुर्ची टेबल पनि। पारिलो घाममा सडकमै खानपिन चल्छ। नारा ‘सडकमै खाऊँ, सडकमै नाचौं, सडकमै रमाऔं’ ले नै बताउँछ, महोत्सवको अवस्था। रेबानका महासचिव गणेशबहादुर थापाका अनुसार वर्षका ३६५ दिन कुनै न कुनै कुनामा हुने संस्कृति यो महोत्सव अवधिका ४/५ दिनमै देख्न पाइन्छ। रेबान पोखराका पूर्वअध्यक्ष गोपी भट्टराई खानाको हाइजिनमा समस्या नहुने बताउँदै थप्छन्, ‘टेस्ट पनि फरक फरक पस्कन्छौं।’ परिकार हेरेरै पाहुनाले खाना अर्डर गर्न सक्छन्।’
रेबान उपाध्यक्ष लक्ष्मण बरालले पर्यटकलाई संस्कृति देखाउने पर्व भएकाले हरेक वर्ष नेपालका कुनाकन्दराबाट जातजातिका संस्कृतिलाई डाक्ने परम्परा नै पोखरा सडक महोत्सवको महत्वपूर्ण विशेषता भएको जानकारी दिए। महोत्सवमा चीनको हाइनान प्रान्तबाट त्यहींको सांस्कृतिक टोली पनि समावेश हुने आयोजकको भनाइ छ। महोत्सवमा कहिले जापानी, कहिले कोरियाली, कहिले थाई, कहिले अन्य देशका संस्कृति प्रस्तुत हुन्छन्।
अंग्रेजी नयाँ वर्षको यो समय पोखरामा भरिभराउ हुने पर्यटकमध्ये ८० प्रतिशत नेपाली हुन्छन्। चार सयभन्दा बढी पर्यटकीय होटलमा एकै दिन ३० हजार पाहुनालाई बस्ने बन्दोबस्ती मिलाउन सक्ने क्षमता पनि रहेको आयोजकको भनाइ छ।