घलेगाउँ स्मार्ट भिलेज

घलेगाउँ स्मार्ट भिलेज

बेसीसहर : सार्क राष्ट्रमै नमुना गाउँको रुपमा चिनिएको पर्यटकीय घलेगाउँ अब स्मार्ट भिलेज बन्ने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘स्मार्ट भिलेज घलेगाउँ’ शुभारम्भ गरेका हुन्। नगरपालिकामा स्मार्ट सिटीको अवधारणा भित्रिएको बेला घलेगाउँलाई नेपालकै पहिलो स्मार्ट भिलेजका रुपमा विकसित गर्न लागिएको हो।

मुख्यमन्त्री गुरुङले स्मार्ट भिलेज बनाउन आवश्यक पूर्वाधार पूरा गर्न सहयोग र सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए। ‘स्मार्ट भिलेज हुन गाउँमा भरपर्दो इन्टरनेट, टेलिफोन सेवा, गाउँ सफा र शान्त हुनुपर्‍र्यो’, मुख्यमन्त्री गुरुङले भने, ‘आवश्यक पूर्वाधार पूरा गर्दै घलेगाउँलाई स्मार्ट बनाउनतर्फ लाग्नुपर्छ।’

गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, आशा कोइराला खनाल, विधान समितिका सभापति नारायण रेग्मी, संविधानसभा सदस्य जमीन्द्रमान घलेलगायतले घलेगाउँ स्मार्ट भिलेज बनेमा लमजुङले पर्यटन विकासमा फड्को मार्ने बताए। ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार स्मार्ट भिलेज बनाउने कार्यक्रम अन्तर्गत सबै घरका छानामा एउटै गाढा रातो रङ लगाइने भएको छ।

स्मार्ट भिलेज बनाउन बाटो वरपर फूल रोपिनेछ। सिँढी निर्माण तथा मर्मत गरिनेछ। घर पालुवा जनावर व्यवस्थापन गरिनेछ। गाउँमा रहेको गुरुङ संग्राहलय, चियावारी, भेडीगोठलाई व्यवस्थित गरिनेछ। यी काम पूरा गर्न १ करोड रुपैयाँ लाग्ने अध्यक्ष घलेले बताए। यसका लागि संघीय सरकारको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, तारा गाउँ विकास समिति, स्थानीय तहसँग बजेट माग गरिएको उनले बताए।

स्मार्ट भिलेज अभियान सफल बनाउन ६ वटा टोल सुधार समिति गठन गरिएको छ। हरेक घरले दैनिक घरआँगन र टोल सफा गर्ने निर्णय गरेको छ। होमस्टेलाई अझ व्यवस्थित बनाउन पूर्णबहादुर गुरुङको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ। गाउँको गुरुङ संस्कृतिलाई व्यवस्थित र उजागर गर्न नवराज घलेको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन भएको छ। अन्य उपसमितिका संयोजक, टोल सुधार समितिका संयोजक, आमा समूह, युवा समूहका अध्यक्ष पदेन सदस्य रहने गरी २१ सदस्यीय पर्यटन समिति गठन गरी स्मार्ट भिलेज अभियानलाई नेतृत्व प्रदान गरिने अध्यक्ष घलेले जानकारी दिए।

समुद्री सतहदेखि करीब २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धन कार्यक्रमसहित होमस्टे सञ्चालनमा ल्याइएको हो। त्यसयता स्थानीयले हरेक वर्ष महोत्सव आयोजना गर्दै आएका छन्। करिब १ सय २० घर रहेको घलेगाउँमा ३२ घरमा होमस्टे सञ्चालन भएको छ। घलेगाउँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समितिले २०७४ सालको उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गरी १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.