खानी खोज्दैछौं
सिद्धार्थ ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरना हो । सन् १९९० देखि स्थापित ग्रुपले रियल स्टेट, बैंकिङ, होटल, सर्भिस, बिमा, उद्योगलगायत संञ्चालन गरिरहेको छ। ग्रुपले सन् २००३ देखि सिद्धार्थ सिमेन्ट उत्पादन गर्दै आएको छ। सिद्धार्थ सिमेन्टका कन्ट्री म्यानेजर विकासकुमार झासँग निर्दोष घोरसाइनेले गरेको कुराकानीको अंश :
सिद्धार्थ सिमन्टको यात्रालाई कसरी मूल्यांकन गर्नु भएको छ ?
सिद्धार्थ ग्रुप अन्तर्गतको एक उत्पादन हो, सिद्धार्थ सिमेन्ट। ग्रुपले सन् २००३ देखि सिमेन्ट उत्पादन गरिरहेको छ। स्थापनकालदेखि नै उद्योगले गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आइरहेको छ। सिमेन्टको गुणस्तरप्रति ग्राहकको सन्तुष्टी छ। साथै, माग पनि राम्रै छ।
सिद्धार्थ सिमेन्टको गुणस्तर कस्तो छ ?
सरकारले तोकेको मापदण्डअनुसार सिमेन्ट उत्पाद गर्दै आएका छौं। गुणस्तर भएको प्रमाण दिने एनएस चिन्ह पाएका छौं। त्यसका लागि विभिन्न समयमा नापतौल विभागमा गुणस्तरको स्तर जाँच गराइरहेका छौं। प्रत्येक दिनको उत्पादनलाई कम्पनीको ल्याबमा जाँच पास गरेर मात्र बजारमा पठाउने गरेका छौं। यसले गर्दा पनि सिमेन्टको गुणस्तर उच्च स्तरीय छ।
सिद्धार्थ सिमेन्टको बजार हिस्सा कति छ ?
नेपालमा ४०, ५० भन्दा धेरै सिमेन्ट उद्योग छन्। ठ्याक्कै प्रतिशतमा यत्ति नै बजार हिस्सा छ भन्ने अवस्था छैन। उद्योगको उत्पादन क्षमताअनुसारको सिमेन्ट बिक्री गरिरहेका छौं। हाम्रो सिमेन्ट पूर्वको कोसीदेखि पश्चिमको महाकालीसम्म आधिकारी बिक्रेतामार्फत उपत्पादन बिक्री गरिरहेका छौं। हाम्रो प्रमुख बजार भनेको काठमाडौं, भैरहवा, बुटबल, नाराणघाट, विराटनगर हो। सिमेन्टको मुख्य कुरा यातायातको भाडा हो। उद्योग भैरहवामा छ।
कति प्रकारको सिमेन्ट उत्पादन गर्छौं ?
हामी दुई प्रकारको सिमेन्ट उत्पादन गछौं। ओपीसी र पीपीसी। हाम्रो प्रमुख उत्पादन पीपीसी हो। विगतमा नेपालमा ओपीसीको बजार हिस्सा न्यून थियो। पछिल्लो समय बजार बढेको छ। ओपीसी सिमेन्ट मात्र उत्पादन गर्ने उद्योगको ब्रान्ड चर्चित छ। सिद्धार्थले ओपीसीमा ती उद्योगको जस्तो ब्रान्डिङ गर्न सकेको छैन। हामी पीपीसीका लागि परिचित छौं। हाम्रा ग्राहक पनि पीपीसीकै छन्। हामी तीनवटा प्लान्टबाट सिमेन्ट उत्पादन गर्छन्। त्यसमा ओपीसीको प्लान्ट पनि सानो क्षमताकै छ।
दैनिक कति बोरा सिमेन्ट उत्पादन हुन्छ ? त्यसमा ओपीसी र पीपीसीको हिस्सा कति छ ?
हाम्रो उत्पादन क्षमता भनेको २५ हजार बोरा हो। विद्युत्, क्लिंकर, बजार विस्तार सबै राम्रो भएमा २५ हजार बोरा प्रतिदिन उद्योगको क्षमता हो। अहिले अधिकत २० हजार उत्पादन गरिरहेका छौं। त्यसमा ७५ प्रतिशत पीपीसी र २५ प्रतिशत ओपीसी छ।
अहिले उद्योगले लोडसेडिङको मार खेप्नु परेको छैन ? यसले उत्पादन क्षमता बढाउन कतिको मद्दत गरेको छ ?
जति बेला लोडसेडिङ थियो। त्यस समय प्लान्टको क्षमता पनि कम थियो। जेनेटर चलाएर १०,१२ हजार बोरा सिमेन्ट उत्पादन गरिरहेका थियौं। लागत मूल्य बढे पनि उत्पादन गरिरहेका थियौं। लोडसेडिङको अन्त्य भएपछि उत्पादन क्षमता पनि बढाएका छौं। उत्पादनको अवस्था राम्रै छ। तर समय समयमा क्लिंकरको अभाव हुने भएकाले पूर्णक्षमतामा सञ्चालन हुन सकिरहेको छैन।
सिमेन्टको मूल्यमा बारम्बार उतारचढाब आइरहन्छ। यस्तो किन भइरहेको छ ?
कच्चा पर्दाथको मूल्य र सिमेन्टको मूल्य एकअर्कासँग सम्बन्धित हुन्छ। क्लिंकरको मूल्य घट्बढ हुँदा सिमेन्टको मूल्यमा त्यसको प्रभाव देखिन्छ। कुनै पनि वस्तु मूल्य स्थिर राख्ने प्रणाली नै छैन। बढ्ने र घट्ने क्रम भइरहन्छ।
पछिल्लो समय बहुराष्ट्रिय कम्पनी सिमेन्टमा लगानी भित्र्याइरहेका छन्। यसले स्वदेशी सिमेन्ट उद्योगलाई कस्तो प्रभाव पार्छ ?
जुन हिसाबले ठूला लगानीका स्वदेशी र विदेशी उद्योग बजारमा आइरहेका छन्। यसले पक्कै पनि प्रतिस्पर्धा बढाउँछ। ब्रान्डका रूपमा स्थापित भएका उद्योगलाई यसले खासै प्रभाव पार्दैन। भर्खर स्थापना भएका र नयाँ खुल्ने क्रममा रहेका बजारमा उपस्थिति जनाउन गाह्रो हुन्छ। त्यसका लागि बजार विस्तार हुनुपर्यो। मुलुकमा जति काम हुनुपर्ने हो, त्योरूपमा पूर्वाधार निर्माणले गति लिएमा नयाँ आउने उद्योगले पनि माग धान्न गाह्रो हुन्छ।
अहिले उद्योग सञ्चालन कतिको सहज छ ? सरकारबाट के कति सहयोग प्राप्त गर्नु भएको छ ?
सरकारले उद्योग सञ्चालनका लागि आवश्यक वातावरण निर्माण गरिदिने हो। अहिले त्यस किसिमको वातावरण निर्माण भएको देखिएको छैन। औद्योगित व्यवसायीलाई लोडसेडिङ अन्त्य गरेर सहजता प्रदान गरेको छ। उद्योगले आफ्नो क्षमताअनुसार बजार पाइरहेका छैनन्। त्यसका लागि सरकारले पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्छ।
सरकारले पूर्वाधारको क्षेत्रमा ठूला लक्ष्य राखेको छ। तर त्यसको कार्यान्वयन पक्ष फितलो छ। नेपाल विकास उन्मुख राष्ट्र भएकाले निर्माण उद्योगका लागि सम्भावना छ।
सिद्धार्थ सिमेन्टले आफ्नै क्लिंकरबाट कहिले सिमेन्ट उत्पादन गर्छ ?
विशेष गरेर नेपालमा दुई प्रकारका सिमेन्ट उद्योग छन्। चुन ढुंगा र बिना चुन ढुंगा। अहिले नयाँ आउने अधिकतम चुन ढुंगासहितको हो। हाम्रो ग्रेन्डिङ मिल हुन्। हामीले अन्य उद्योगसँग क्लिंकर खरिद गरेर सिमेन्ट उत्पादन गर्दै आएका छन्। आफै क्लिंकर निर्माण गरेर सिमेन्ट उत्पादन गर्नेतर्फ अहिले उद्योग केन्द्रित छ। त्यसका लागि आवश्यक खानी खोज्ने क्रममा छौं। नेपालका धेरै जस्तो खानी ओगटिएका छन्। तर, पनि खानी खोज्ने कोसिसमा छौं।