मेगा बैंकले ७.८५ प्रतिशत लाभांश दिने
काठमाडौं : मेगा बैंकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १ प्रतिशत बोनस सेयरसहित ७.८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक संचालक समितिको बैठकले १.००२३३ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनसहित ६.८५ प्रतिशत नगद लाभांश बाँड्ने निर्णय गरेको हो।
नगद र बोनस सेयर गरी ८० करोड ७६ लाख ५३ हजार ४ सय ४६ रुपैयाँ ३९ पैंसा लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ। मेगा बैंकको हालको चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५ सय ७८ रुपैयाँ रहेको छ।प्रस्तावित बोनसपछि मेगाको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४ सय ५३ रुपैयाँ पुग्नेछ।
मेगा बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निक्षेप ६८ प्रतिशतले र कर्जा ७७ प्रतिशतले वृद्धि गरेको छ भने बैंकको मुनाफा ३९५ प्रतिशतले वृद्धि भई ४० करोड २५ लाख ३ हजार रुपैयाँ कायम भएको छ।
बैंकले प्रतिशेयर १५ रुपैयाँ ४४ पैंसा खूद मुनाफा आर्जन गरेको छ भने अघिल्लो वर्ष सोही अवधिमा बैंकले प्रतिसेयर ६ रुपैयाँ ८८ पैंसा खुद मुनाफा कमाएको थियो।लाभांश वितरणलगायतका अन्य निर्णयका लागि बैंकले पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।