फेरिए उत्तर कोरियाली राजदूत
काठमाडौं : नेपालका लागि उत्तर कोरियाली राजदूत फेरिएका छन्। उत्तर कोरियाले दक्षिण अफ्रिकामा राजदूत भइसकेका जो योङ मेनलाई नेपालका लागि राजदूतमा नियुक्ति गरेको छ। राजदूत जो पत्नीसहित अघिल्लो बुधबार काठमाडौं आइपुगेका छन्।
नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हक कार्यकाल पूरा गरी मंसिर १६ मा स्वदेश फर्किसकेका छन्। २०३१ जेठ २ मा नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
पूर्वप्रधानमन्त्रीहरू टंकप्रसाद आचार्य, कीर्तिनिधि विष्ट, माधव नेपालसहित अन्य धेरै नेताहरूले उत्तर कोरियाको भ्रमण गरेका छन्।
सूचना तथा सञ्चारमन्त्री भएका बेला तत्कालीन माओवादी नेता कृष्णबहादुर महराले समेत उत्तर कोरियाको भ्रमण गरेका थिए। तिलगंगा आँखा अस्पतालले उत्तर कोरियाली आँखा चिकित्सकहरूलाई विभिन्न तालिम दिँदै आएको छ।
काठमाडौं महानगरपालिका, भक्तपुर नगरपालिकाले उत्तर कोरियाली विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना गरेका छन्। ०७१ सालमा उत्तर कोरियाली नेतृ आन म्याङ ओकेले नेपाल भ्रमण गरेकी थिइन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि उत्तर कोरियाली राजदूत जोले कार्यभार सम्हाल्ने छन्। दक्षिण अफ्रिकाको राजदूत रहँदा जोले नामिबिया, तान्जानिया, मालावी, जाम्बिया, स्वाजिल्यान्ड र जिम्बावेको समेत राजदूतको जिम्मेवारी सम्हालेका थिए।
दूतावासमा कार्यरत उत्तर कोरियाली कूटनीतिज्ञ चोल जुन पार्क गैंडाको खाग तस्करीमा मुछिएपछि जोसमेत विवादमा तानिएका थिए। खाग तस्करीमा मुछिएपछि दक्षिण अफ्रिकाले पार्कलाई फिर्ता पठाएको थियो।
राष्ट्र संघको नाकाबन्दीका बाबजुद उत्तर कोरियाले नेपालमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको छ। ललितपुरस्थित दूतावासको प्रत्यक्ष संरक्षणमा उत्तर कोरियालीहरूको लगानीमा अस्पताल, रेस्टुरेन्ट र सूचना प्रविधिसम्बन्धी कम्पनी सञ्चालित छन्।
उत्तर कोरियालीले तनहँुमा ‘ने कोर्यो’ अस्पताल र काठमाडौंका विभिन्न स्थानमा रेस्टुरेन्ट र आईटी कम्पनी सञ्चालन गरिरहेका छन्। हालै अमेरिका भ्रमणबाट फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई त्यहाँका विदेशमन्त्री माइक पोम्पेओले नेपालमा उत्तर कोरियालीको उपस्थिति र लगानीबारे जिज्ञासा राखेका थिए। गृह मन्त्रालयले झन्डै ५ वर्षअघि पर्यटक भिसामा आएर हाइड्रोपावर कम्पनीको सुरुङ खन्नमा संलग्न ५४ जना उत्तर कोरियाली मजदुरलाई निष्काशन गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको वार्तापछि उत्तर कोरियाले नेपालमा लगानी ह्वात्तै बढाएको छ। न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी कार्यान्वयन गर्न नेपालसँग बारम्बार आग्रह गर्दै आएको छ। सरकारले भने उत्तर कोरियालीले लगानी गरेका उद्योगलाई धमाधम स्वीकृति दिँदै आएको छ। नेपालस्थित राष्ट्र संघीय कार्यालय, अमेरिकी, जापानी र दक्षिण कोरियाली दूतावासका अधिकारीले कूटनीतिक र राजनीतिक भेटमा उत्तर कोरियामाथि राष्ट्र संघले लगाएको नाकाबन्दी कार्यान्वयन गर्न माग गर्दै आएका छन्।
तत्कालीन नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लीजले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा र नेकपाका अध्यक्षद्वयमध्ये एक पुष्पकमल दाहालसँगको भेटमा समेत उत्तर कोरियामाथि राष्ट्र संघीय नाकाबन्दी कार्यान्वयन गर्न आग्रह गरेकी थिइन्।