सहिद स्मारक लिग : दुई खेलअगावै मनाङ च्याम्पियन

सहिद स्मारक लिग : दुई खेलअगावै मनाङ च्याम्पियन

काठमाडौं  : मनाङ मर्स्याङ्दी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा  मनाङले बलियो प्रतिद्वन्द्वी संकटा क्लबलाई ३–१ गोलले हराउँदै उपाधि जितेको हो । साविक विजेता मनाङ दुई खेलअगावै च्याम्पियन बन्यो ।

मनाङ लिगको ११औं चरणसम्म अपराजित रहने टोली हो । मनाङले यस उपाधिसँगै कीर्तिमान पनि रचेको छ । मनाङले यसअघि २०७० सालको सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको थियो । मनाङको लिगमा यो कीर्तिमानी आठौं उपाधि हो । मनाङले यसअघि २०४२–२०४३, २०४३–२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा लिग जितेको थियो ।

शतप्रतिशत जित निकालेको मनाङले ११ खेलबाट ३३ अंक बनाएको छ । २५ अंक बनाएको संकटा दोस्रो स्थानमा छ । मनाङलाई हराउन सकेको भए संकटाको पनि उपाधि जित्ने सम्भावना कायम रहन्थ्यो । तर, संकटा मनाङसामु निरीह देखियो । उपाधिसँगै मनाङले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । च्याम्पियन मनाङले सन् २०१९ मा आयोजना हुने एएफसी एसियन कप खेल्ने अवसरसमेत प्राप्त गरेको छ ।

संकटाविरुद्ध सशक्त प्रदर्शन गरेको मनाङले ४४औं मिनेटमा संकटाको आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो । मनाङका विशाल राईको कर्नर प्रहारलाई पन्च गर्दै बचाउने क्रममा संकटाका गोलरक्षकको आत्मघाती गोल भएको थियो । पहिलो हाफमा मनाङको दुईवटा प्रहार क्रसबारमा लागेर फर्किएको थियो । ८१औं मिनेटमा मनाङका पुजन उपरकोटीले मैदान छिर्नासाथ गोल गरे ।

उनले विशाल राईको कर्नर पासमा हेड गोल गरेका थिए । उनी सुजल        श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । दोस्रो हाफमा एकपछि अर्को आक्रमण बुनेको मनाङले ८७औं मिनेटमा तेस्रो गोल गर्दै उपाधि पक्का बनाएको थियो । मनाङका लागि तेस्रो गोल अफ्रिकी खेलाडी एडेलाजा सोमिडेले गरे । उनले विशाल राईको पासमा हेडमार्फत गोल गरेका थिए । मनाङको एउटा प्रहार दोस्रो हाफमा पनि क्रसबारमा लागेर फर्किएको थियो । मनाङका हेमन गुरुङको मात्र तीनवटा प्रहार असफल भएको थियो । मध्य भागमा औसत प्रदर्शन गरेको संकटाको अग्रपंक्ति कमजोर बन्यो । सुरुदेखि नै रक्षात्मक देखिएको संकटाले ८९औं मिनेटमा सान्त्वना गोल फर्कायो । संकटाका लागि सेड्रिक आबाले गोल गरेका थिए । उनले एकल प्रयासमा डीबक्स भित्रबाट गोल गरेका थिए ।

यसैगरी एन्फा मैदानमै भएको अर्को खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा च्यासलले सुरुआती अग्रता लिएको थियो । च्यासलका सन्तबहादुर गुरुङले ३०औं मिनेटमा गोल गरे । उनले सजित थापामगरको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा पेनाल्टी अवसर गुमाएको एपीएफले ५४औं मिनेटमा बराबरी गोल फर्काएको थियो । एपीएफका लागि श्यामकुमार नेपालीले बराबरी गोल गरे । श्यामकुमारको करिब २५ यार्ड लामो प्रहारले सोझै जाली चुमेको थियो । यसअघि एपीएफका सुदीप शिखाकारको पेनाल्टी प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले बचाएका थिए । बराबरीसँगै १७ अंक बनाएको एपीएफ छैटौं स्थानमा छ । १५ अंक बनाएको च्यासल आठौं स्थानमा छ । लिगमा अब सबै टोलीले दुईदुई खेल खेल्नेछन् ।

सबैको मेहनतले उपाधि

खेलपछि मनाङका प्रशिक्षक सुमन       श्रेष्ठले लिगमा अपराजित रहँदै दुई खेलअगाडि नै उपाधि जित्दा खुसी लागेको बताए । ‘यसपटक खेलाडीले धेरै राम्रो खेले । प्रशिक्षकका रूपमा मैले र नाइजेरियाका प्रशिक्षक पुजा टोपेले पनि उत्तिकै मेहनत गरेका छौं । सुरुमा हाम्रो खेल त्यति राम्रो थिएन । विस्तारै सुधार गर्दै गयौं । कुनै खेल हारेनौं । यस उपाधिमा खेलाडी, क्लब व्यवस्थापन, समर्थक सबैको योगदान छ । मनाङ सधैं नेपाली फुटबलको राम्रो टिम हो । उपाधिमा विदेशी खेलाडीको प्रदर्शन पनि थप सहयोगी बन्यो’, सुमनले भने । उनले बाँकी दुई खेल पनि जितेर कीर्तिमान रच्ने दाबी गरे ।

सन् २००४ मा धनकुटा जिल्ला फुटबल संघको प्रशिक्षक रहेका सुमनले विस्तारै पीएलए क्लब, आर्मीको क्षेत्रीय टोली र ब्वाइज युनियन क्लबमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । एएफसीबाट ‘ए’ लाइसन्स प्राप्त सुमनले लिगमा ठूलो क्लब सम्हालेको यो पहिलोपटक हो ।

यसैगरी संकटाका प्रशिक्षक सल्यान खड्कीले आफ्नै गल्तीले पहिलो गोल खानु नै हारको टर्निङ प्वाइन्ट भएको बताए । ‘पहिलो हाफमा हामीले राम्रो खेलेका थियौं । मौका पाए पनि गोल भएन । मनाङलाई हराएर उपाधि जित्ने योजना सफल भएन । गोल खाएकाले दोस्रो हाफमा गोल गर्न अगाडि बढ्दा काउन्टरमा थप गोल खायौं । मनाङ बलियो टोली हो । हामीले राम्रो टक्कर दियौं’, खड्कीले भने । उनले संकटाले अब दोस्रो स्थानका लागि थप मेहनत गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.