‘किताब जले, कसरी स्कुल जानु'

‘किताब जले, कसरी स्कुल जानु'

कालिकोट : आगलागीका कारण खण्डहर बनेको कालिकोटको पलाँतास्थित खाडागाउँका बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। आइतबार रातिको आगलागीबाट किताब, झोला र विद्यालयको पोसाक जलेपछि यहाँका बालबालिका विद्यालय गएका छैनन्। शैक्षिक सामग्री नभएपछि विद्यालय नगएको बालबालिकाले बताए।

खाडागाउँमा आगलागीबाट ८७ वटा घर जलेका छन्। घरका अन्य सामानसहित किताब पनि जलेपछि बालबालिकाको पढाइ प्रभावित भएको हो। बालबालिकाको पढाइ रोकिएपछि स्थानीयले तत्काल शैक्षिक सामग्रीको व्यवस्था गरिदिन माग गरेका हुन्। भगवती न्यौपाने खाडामै रहेको गणेश आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दै आएकी थिइन्। आगलागीमा उनको घर पनि खरानी भयो। उनको शरीरमा लगाउने कपडादेखि विद्यालयको ड्रेस, कापी कलमलगायत शैक्षिक सामग्री जले। उनी अहिले विद्यालय जानबाट वञ्चित भएकी छन्।

भगवतीले भनिन्, ‘मध्यरातमा गाउँमा आगो लाग्यो, घरमा भएका सबै सामान र मेरा किताब पनि जले। अब पढ्ने किताब र लगाउने कपडा नभएपछि कसरी स्कुल जानु ? ’ उनले आफूसहित कक्षा ५ मा पढ्ने भाइ र कक्षा २ र ३ मा पढ्ने दुई जना बहिनी पनि स्कुल नगएको सुनाइन्। उनीहरू अहिले अरूले दिएका कपडा लगाएर बसेका छन्। योे समस्या भगवती न्यौपानेका चार भाइबहिनीको मात्र होइन, खाडागाउँका विद्यालय उमेरका १ सय ३० जना बालबालिकाको पीडा उस्तै छ। खाडास्थित गणेश आधारभूत विद्यालयका प्रधानाध्यापक सर्पनन्द न्यौपानेले प्रारम्भिक बालविकास केन्द्रमा अध्ययन गर्नेदेखि १२ कक्षासम्म अध्ययन गर्ने बालबालिका विद्यालय जानबाट वञ्चित भएको जनाए। उनका अनुसार खाडास्थित गणेश आधारभूत विद्यालयका मात्र ७४ जना बालबालिका ड्रेस र शैक्षिक सामग्री नहुँदा विद्यालयमा हाजिर भएका छैनन्।

यस्तै, पलाँता गाउँपालिका–२ स्थित राडुनेटा माविमा अध्ययनरत खाडागाउँका ५६ जना बालबालिका पनि ड्रेस र शैक्षिक सामग्री जलेपछि विद्यालय गएका छैनन्। शिक्षक न्यौपानेका अनुसार राडुनेटा माविका ५६ जना बालबालिका ड्रेस र शैक्षिक सामग्री नहुँदा विद्यालय जानबाट वञ्चित छन्। खाडास्थित गणेश आधारभूत विद्यालय पनि ४ दिनदेखि बन्द छ। पलाँता गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानले आगलागीपीडितको अवस्था सामान्य रहेको बताइन्। उनले गाउँपालिकाले पहिलो चरणको राहत बाँडेपछि कसैलाई विद्यालयमा, कसैलाई गाउँका घरमा बास बस्ने व्यवस्था मिलाएको जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.