निर्यात प्रवर्द्धन गर्न अनुदान वृद्धि
काठमाडौं : सरकारले स्वदेशी उत्पादनको निर्यात प्रोत्साहन गर्न निर्यात मूल्यको तीनदेखि पाँच प्रतिशतसम्म अनुदान दिने भएको छ। मन्त्रिपरिषद् बैठकले यसै साता स्वीकृत गरेको ‘निर्यातमा अनुदान प्रदान गर्ने’ कार्यविधिमार्फत यो सुविधा उपलब्ध गराउन लागिएको हो। कार्यविधिले वस्तु निर्यात गर्दा कुल निर्यात मूल्यको तीनदेखि पाँच प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको हो। यसअघि दुई प्रतिशत मात्रै नगद अनुदान दिने व्यवस्था थियो।
‘नयाँ व्यवस्थाले निर्यातकर्ता, किसान तथा र उद्योगीलाई प्रोत्साहन मिल्नेछ’, मन्त्रालयका प्रवक्ता नवराज ढकालले भने, ‘पाँच प्रतिशत नगद अनुदानले निर्यात वृद्धि हुन्छ।’ यस वर्षको बजेटमा सरकारले आयातदर प्रतिस्थापन गर्न निर्यातजन्य वस्तुमा पाँच प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको थियो। नयाँ कार्यविधिले उत्पादनलाई वर्गीकरण गरी नगद अनुदान दिने व्यवस्था गरेको छ। यसअनुसार १५ उत्पादनलाई निर्यात मूल्यको पाँच र ११ उत्पादनलाई तीन प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ।
५० प्रतिशत मूल्य अभिवृद्धि भएको निर्यातजन्य वस्तुलाई पाँच प्रतिशत र ३० प्रतिशत मूल्य अभिवृद्धि भएकालाई तीन प्रतिशत अनुदान दिने व्यवस्था छ। स्वदेशी वा आयातित कच्चापदार्थ प्रयोग गरी उत्पादन गरिने कृषिजन्य, वनजन्य, औद्योगिक, घरेलु तथा हस्तकला सामग्रीमा पनि पाँच प्रतिशत नगद अनुदान दिने व्यवस्था छ।
नयाँ व्यवस्थाले निर्यातकर्ता, किसान तथा र उद्योगीलाई प्रोत्साहन मिल्नेछ ।
नगद अनुदान प्राप्त गर्न मापदण्ड तोकिएको छ। स्वदेशमै प्राप्त हुने वा उत्पादन हुने कृषि, वन तथा खानीजन्य वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पूरा गरेको र प्रमाणीकरण गरेको हुनुपर्नेछ। आयातनिर्यात अनुमतिपत्र (एक्जिम कोड) तथा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ता, निर्यातित वस्तुको बिलबिजक तथा भन्सारको प्रज्ञापनपत्र, वस्तु निर्यात गरेबापत निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंक दाखिला प्रमाणलगायत कागजात अनिवार्य राख्नुपर्नेछ।
पाँच प्रतिशत अनुदान पाउने वस्तुमा प्रशोधित चिया, कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज तथा त्यसबाट निर्माण भएका सामग्री, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल हुन्। यस्तै प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामग्री, मिनरल वाटर, परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरिने शर्तमा तरकारी, बेसार, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची र प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल, पाउडर)पनि पाँच प्रतिशत अनुदान दिइनेछ।
तीन प्रतिशत अनुदान पाउनेमा स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्यांग्रा पस्मिना तथा त्यसबाट निर्माण भएका सामान छन्। यस्तै स्वदेशी प्रशोधित जुट तथा जुटका सामान, सुन, चाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, ऊनीजन्य वस्तु, पोलिस्टर यार्न, फाइबर भिस्कोर्स यार्न, एक्रेलिक यार्न र कटन यार्न, तामाका हस्तकला, पूजा, रसजावट तथा भाँडाकुडाका सामानमा पनि तीन प्रतिशत अनुदान दिइनेछ।