क्यानोइङमा रमाउँदा
जीवनमै पहिलोपटक ‘क्यानोइङ’ गरियो। हेर्दै आँखा तिर्मिराउने नुवाकोटको थानापातीस्थित ५२ मिटर अग्लो झरनाबाट डोरीको भरमा सतहसम्म पुग्दा अनौठो अनुभव भयो। भुइँमा ओर्लिएपछिको आनन्द व्यक्त गर्न गाह्रो छ। यस्तो लाग्यो, मैले संसार जितेको छु।
म भित्री मधेसमा हुर्कें। सानातिना पहरा देख्दा पनि रिंगटा लाग्छ। बाल्यकालमा भित्री मधेसका ससाना थुम्का चढ्थेँ। त्यसपछि काभे्रका पहाडहरू चढेँ। तर यस्तो रिंगटा लाग्ने छाँगाबाट डोरीको भरमा कहिल्यै ओर्लिएकी थिइनँ। यो साहसिक तथा सुन्दर त्यो अवसर दिलाएको थियो, फ्रेन्डस् एडभेन्चर टिम प्रालिले।
यात्रामा सँगै थियौं मंगोलियन हर्टका गायक राजु लामा। ब्यान्डकै ड्रमर सन्तोष मगरदेखि क्यानोइङ एसोसिएसनका अध्यक्ष राजन लामा र दोर्जे लामा पनि साथै थिए। जाडो महिना, पानीमा रुझ्नुपर्ने डर। त्यसैले, सुरुमा जान आनाकानी गरेँ। पछि सोचेँ, नयाँ अनुभव बटुल्न किन नजाने ?
छाँगास्थलमा पुग्दा स्थानीयवासीले सयपत्री माला र अविरले स्वागत गरेपछि मन फुरुंग भयो। राजधानी नजिकै भए पनि थानापाती गाउँ सुविधाबाट वञ्चित रहेछ। हामी चढेको बोलेरो कच्ची बाटो हुँदै जसोतसो गाउँसम्म त पुग्यो र छाँगाको फेदीसम्म भने पुग्न सकेन। बुट्ट्यानहरू समाउँदै, खोल्साहरू तर्दै दुई घण्टा हिँडेर झरनाको माथि पुग्यौं।
५२ मिटर अग्लो झरनाको टुप्पामा पुगेर तल हेर्दा आँखा तिर्मिरायो। डर लाग्यो। भयमिश्रित उत्साह पनि जाग्यो। चिसो पानी हेर्दा शरीरमा काँडा उम्रिरहेको थियो। अनुभव प्राप्त साथीहरू दबिन्द्र तामाङ, भक्तविश्व तामाङ र नवाङ तामाङले मेरो आत्मविश्वास बढाउँदै थिए। क्यानोइङ गर्दा अपनाउनुपर्ने सावधानीबारे उनीहरूले बताए। कुनै भवितव्य भए उद्धारका लागि निश्चिन्त रहन उनीहरूले सुझाए। त्यसपछि हाम्रो टोलीका सदस्यहरूले पालैपालो २५, १२ र ५२ मिटरको सफल क्यानोइङ गरे।
अग्लो झरनाबाट तल हेर्दा गाउँ पूरै देखिन्थ्यो। गाउँलेहरू तल भेला भएर रमाइलो मानिरहेका थिए। उनीहरू रमिता हेर्न मात्रै आएका जस्ता देखिँदैनथे। आफ्नो ठाउँको प्राकृतिक स्रोत पर्यटकीय स्थलको रूपमा प्रयोग भएको देखेर उनीहरू दंग थिए। पर्यटकको आगमन बढेसँगै गाउँको मुहार फेरिनेमा पनि उनीहरू आशावादी थिए।
नेपाल भ्रमण वर्ष–२०२० पनि मनाउने तयारी सरकारले गरेको छ। यस्तो बेला नुवकोटाको थानापातीको झरना र त्यहाँको पर्यटनलाई बढाउन सके गाउँको मुहार फेरिने पक्का छ। फ्रेन्ड्स टिम गाउँमा पर्यटकको आगमन बढाउन तल्लिनरत छ। हजारौं युवा दैनिक खाडीमा भासिरहेको बेला उनीहरू भने आफ्नै गाउँठाउँलाई पर्यटकीयस्थल बनाउन लागि परिरहेका छन्।