लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन
काठमाडौं : लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार ६० वर्षको उमेरमा निधन भएको छ। लामिछानेको भक्तपुरस्थित चाँगुनारायण नगरपालिका-७ वागेश्वरीस्थित आफ्नै निवासमा निधन भएको हो।
उनी लामो समयदेखि पक्षघात, मृगौलालगायतका रोगबाट पीडित थिए। लामिछाने लोकगीत संकलक तथा गायक हुन्। उनको जन्म २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस ३ मा भएको थियो।
उनी किसान परिवारमा जन्मेका थिए। लामिछानेका घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर, गाई त बाँध्ने पाटको दाम्लो, बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु, पिँडीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेरलगायतका गीत चर्चित छन्। लामिछानेको आजै अन्तयेष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ।