अब 'ख' र 'ग' वर्गका वित्तीय संस्थाले अर्को प्रदेशमा शाखा चलाउन नपाउने
काठमाडौं : अब 'ख' वर्गका विकास बैंक र 'ग' वर्ग फाइनान्स कम्पनीले अर्को प्रदेशमा शाखा संचालन गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गरेर यदि यी दुई वित्तीय संस्थाको शाखा अन्य वा अर्को प्रदेशमा भए २०७७ असार मसान्तसम्म बन्द गरिसक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। अहिले विकास बैंक तथा फाइनान्स कम्पनीको शाखा दुई वा दुईभन्दा बढी प्रदेशमा विस्तार भएका छन्।
त्यस्तै राष्ट्र बैंकल प्रादेशिक रुपमा सञ्चालित विकास बैंक र फाइनान्स कम्पनीको चुक्ता पुँजी निर्धारण गरेको छ। कुनै पनि विकास बैंकले एक अर्ब २० करोड चुक्ता पुँजी बनाएर कुनै एक प्रदेशभरी वित्तीय कारोबार गर्न पाउने छ। फाइनान्स कम्पनीले भने ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएर सोही बमोजिम कार्य गर्न पाउने छन्। प्रदेश स्तरका लघुवित्तलाई २ करोड पुँजी तोकिएको छ।
अर्को प्रदेशबाट शाखा स्थानान्तरण नगरे स्वीकृति लिएको प्रदेशमा विस्तार गर्न पाउने छैन। चुक्ता पूँजी पुरा गर्ने बेलामा मर्जर वा प्राप्तिलाई प्राथमिकतामा राख्न पनि निर्दशनमा भनिएको छ।