नक्कली रिन्पोछेको नागरिकता खारेज गर्न माग
काठमाडौं : चिनियाँ नागरिक समेत रहेका भूपतिबज्र लामाले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको नागरिकतामा रिम्पोछे उल्लेख गरी भ्रम फैलाएको भन्दै खारेज गर्न माग गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बौद्धनाथ क्षेत्र विकास समिति र नेपाल बौद्ध महासंघले नागरिकतामै उल्लेख गरी गुरु रिम्पोछे (आचार्य पद्मसम्भव) भनेर बौद्धधर्मालम्बीहरुमा भ्रम फैलाएकाले तत्काल नागरिकता खारेज गरी कारवाही गर्न माग गरेको हो ।
रिन्पोछे पद नागरिकतामा उल्लेख गर्न नमिल्ने र उल्लेख गरेकै भरमा रिन्पोछे बन्न नसक्ने भन्दै यो घटनाले बौद्धधर्म प्रति ठूलो नोक्सानी पुगेको नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मारिन्छेन शेर्पाले बताए ।
नेतालाई आर्थिक प्रलोभनमा पारेर २०७३ असार ७ गतेदेखि मेलाम्ची तथा बौद्ध घ्याङ गुठी प्रमुख समेत बनेका चिनियाँ लामा भूपतिबज्र लामाले बौद्धधर्मालम्वीलाई गुम्रहमा पारेको अध्यक्ष शेर्पाले बताए ।
गुठीमा मनोमानी गरी विश्व सम्पदा सूचिमा रहेको बौद्धनाथ चैत्यलाई जथाभावि रुपमा ड्रिल गरी प्वाल पारेर क्षति पु¥याएकाले तत्काल कारवाही गर्न बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले माग गरेको छ । चैत्य परिसरमा श्रद्धालु भत्तजनले पूजापाठ गर्दा समेत अवरोध गरेर धर्मलाई व्यक्तिगत बनाउन खोजेको उनको आरोप छ ।
गुठीमा समेत व्यवस्थापन समिति गठन नगरी आर्थिक हिनामीना गर्दै आएको बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्ग जीत लामाले बताएका छन् । सरकारले विकास समिति गठन गरी बौद्ध चैत्यको संरक्षण सम्बद्र्धन गर्ने जिम्मा दिएको भए पनि लामाले गुठीको अध्यक्ष भन्दै आफुखुसी गतिविधि गर्ने आरोप छ ।