स्तुपामा प्वाल पार्नेलाई कारबाहीको माग
काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति माननीय पवित्रा निरौलाले बौद्धनाथ स्तुपा विरुप बनाउनेलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिएकी छन्। विश्व सम्पदा बचाउनका निम्ति सबै जना लाग्नुपर्ने उल्लेख गर्दै उनले स्तुपा बिरुपपार्ने प्रयास थालिएकाप्रति दुःखसमेत व्यक्त गरेकी हुन्।
पुरातात्विक सम्पदा संरक्षणमा मद्दत पुगोस् भन्ने उद्देश्यले सञ्चार केन्द्र नेपालले आज शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपाल विश्वसामु सांस्कृतिक र पुरातात्विक सम्पदाकै कारण विश्सामु चिनिएकाले यसको जगेर्ना गर्नुपर्नेमा जोड दिइन्। बौद्ध, भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ लगायतका सांस्कृतिक र पुरातात्विक सम्पदाकै कारण नेपाल विश्वसामु चिनिएको निरौलाले भनिन्, –‘हाम्रो पहिचान राख्ने यी सम्पदाहरुलाई जोगाउने कर्तव्य हामी सबैको हो।’
कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदाको सूचीमा रहेको बौद्धनाथको विषयमा गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गर्ने कुरामा आफूँ प्रतिवद्ध रहेको बताए । सय वर्ष नाघेका सांस्कृतिक तथा धार्मिक सम्पदाहरुको खोजी गरी त्यसको संरक्षण गर्न विभाग कटिबद्ध रहेको बताए । उनले युनेस्कोले नेपालका थप १५ वटा सम्भाव्य स्थलहरु सूचीकृत गर्ने कार्यलाई अगाडि बढाएको जानकारी दिए।
विभागले भुकम्पबाट क्षतिग्रस्त भएका ७ सय ५३ वटा सम्पदाहरुको पुननिर्माण हुनुपर्नेमा २७ प्रतिशत पूर्ण रुपमा सम्पन्न भईसकेको, ३२ प्रतिशत सम्पन्न हुने क्रममा र बाँकी केही वर्षभित्रै सम्पन्न गर्ने बताए। यसैबीच बौद्धनाथ क्षेत्र विकास समितिले विज्ञप्ति जारी गरी बौद्ध सम्पदा र नेपालको अस्तित्वमाथि प्रहार गरेको भन्दै विरोध जनाएको छ।
पुरातत्व विभाग र क्षेत्र विकास समितिको कुनै स्वीकृति नै नलिई बौद्ध स्तूपामा ड्रिल मेसिन प्रयोग गरी प्वाल खोपी स्तुपालाई कुरुप बनाएको विज्ञप्तिमा छ । यसबाट सम्पदालाई अतुलनीय क्षति पुगेको समितिको ठहर छ ।