सिरहामा लागूऔषध बरामद, भन्सार छलेको मटर पनि समातियो
सिरहा : जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रवार मोटरसाइकलसहित लागूऔषध बरामद गरेको छ । प्रहरीले सिरहा नगरपालिका–७ स्थित भित्री सडकखण्डबाट स२प ९६२६ नम्बर मोटरसाइकल र त्यही मोटरसाइकलबाट झोलामा राखिएको डाइलेक्स डिसी लेखिएको सय एमएलको १११ बोतल प्रतिबन्धित लागूऔषध बरामद गरेको हो । बरामद गरिएको लागूऔषध र मोटरसाइकल जिल्ला प्रहरीमा ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले सिरहा नगरपालिका–१७ स्थित दशगजाबाट बिआर १ जिए ४३१५ नम्बरको भारतीय ट्रकमा लोड गरिएको २१० बोरा हरियो मटरसहित ट्रक नियन्त्रणमा लिएको छ । शंकास्पद ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसी माधवराज खरेलले जानकारी गराए । उनका अनुसार बरामद गरिएको हरियो मटर र सवारी साधन आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको छ ।
एक हप्ता अगाडी पनि भारत तस्करी भइरहेको अवस्थामा २६ क्वीन्टल केराउ र ३२ क्वीन्टल ६६ किलो मरिच नियन्त्रणमा लिएको थियो । तेस्रो मुलुकबाट आयात भएको मटर, केराउ र मरिच सिरहाको नाकाबाट भारत तस्करी भइरहेको खुलेको छ।