अनलाइन कारोबार : क्लियरिङ बैंकमा खाता अनिवार्य
काठमाडौं : सेयर बजारमा अनलाइन कारोबार गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेका चार क्लियरिङ बैंकमा खाता खोल्नुपर्ने भएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक र सिद्धार्थ बैंकमध्ये कुनै एकमा खाता खोलेर अनलाइन कारोबार गर्न पाइनेछ। अनलाइन कारोबार गर्ने ई–बैंकिङ सुविधा अनिवार्य गरिएको छ। राष्ट्र बैंकले विद्युतीय कारोबारको निश्चित सीमा तोकेको छ। सेयर कारोबारीलाई उक्त सीमामा बाँधिएको छैन।
नेप्सेले पुस ९ गतेदेखि बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोबार सञ्चालनमा ल्याउन लागिएको छ। नेप्सेले शुक्रबार अनलाइन कारोबार गर्न चाहने लगानीकर्ताका लागि १० बुँदे सूचना जारी गरेको छ। लगानीकर्ताले ब्रोकरसँग खोलेको कारोबार खाता र हितग्राही खाता (डिम्याट) अद्यावधिक गर्न भनिएको छ। एक डिम्याट खातासँग एउटा मात्रै बैंक खाता आबद्ध हुनेछ। ब्रोकरसँग कारोबार सम्झौता गरेर आवश्यकता अनुसार रकम जम्मा गरी कारोबार सीमा लिन अनुरोध गरिएको छ।
ब्रोकरको नियमअनुसार लगानीकर्ताले जम्मा गरेको रकमको चार गुणासम्म कारोबार गर्न सक्नेछन्। कारोबारबाट बाँकी रकम बैंकिङ प्रणालीमार्फत फिर्ता लिन ब्रोकरलाई अनुरोध पठाउने र २४ घण्टाभित्र रकम प्राप्त भएको सुनिश्चित गर्नुपर्ने नेप्सेको सूचनामा उल्लेख छ। इमेलका माध्यमबाट ब्रोकरलाई अनुरोध गर्नुपर्ने हुन्छ। त्यसका लागि लगानीकर्ताले प्रयोग गर्ने इमेल एड्रेस ब्रोकरलाई उपलब्ध गराउनुपर्नेछ।
डिम्याट खातामा रहेको फ्री ब्यालेन्समा मात्र बिक्री गर्न पाइनेछ। धितो राखेको वा रोक्का रहेको धितोपत्र बिक्री गर्न पाइँदैन। बिक्री कारोबार भएको भोलिपल्टसम्म बिक्रीबमोजिमको ईडीआईएस ब्रोकरलाई उपलब्ध गराउनुपर्नेछ।