फ्रिजको बढ्दो बजार

फ्रिजको बढ्दो बजार

नेपाली बजारमा ३० हजारदेखि पाँचलाखसम्मका फ्रिज घरायसी प्रयोजनभन्दा व्यापारिक प्रयोजनमा खपत हुने गरेको छ।


पछिल्लो समय टीभीसँगै फ्रिज पनि सबैको घरमा देखिन थालेको छ। फ्रिज किचेनको आकर्षण र गृहिणीको सहारा बनेको छ। फ्रिज सामान्य घरदेखि होटल, रेस्टुरेन्टलगायत विभिन्न क्षेत्रमा प्रयोग हुन थालेको छ। पहिले खासगरी फ्रिज बिबाहमा दाइजो दिन मात्र खरिद गरिन्थ्यो। बिबाहमा दाइजो दिन र घरायसी प्रयोजनका लागि प्रयोग हुन्छ भने होटललगायत व्यापारिक प्रयोजनका लागि ब्रान्डेड र राम्रो प्रविधियुक्त फ्रिज प्रयोग हुने व्यवसायी बताउँछन्।

फ्रिज कुनै समय चिसो बनाउन मात्र प्रयोग हुन्थ्यो तर अचेल खाना ताजा राखिराख्न पनि प्रयोग हुन्छ। केही समयअघि साधारण फ्रिज धेरै प्रयोग हुँदै आएको थियो। सामान्य परिवारले पनि यस्ता खालका फ्रिज प्रयोग गर्र्दै आएका छन्। तर पछिल्लो समय स्मार्ट इन्भर्टरसहितका फ्रिज बजारमा आएका छन्। स्मार्ट फ्रिज समयसापेक्ष र प्रविधिका हिसाबले पनि परिस्कृत छन्। साधारण फ्रिजको तुलनामा स्मार्ट इन्भर्टर फ्रिजले ३० प्रतिशत बिजुलीको बचत गर्छ। स्मार्ट इन्भर्टर फ्रिजमा राखिएका खाना साधारण फ्रिजमा भन्दा ताजा र लामो समयसम्म स्वच्छ रहन्छ।

नेपालमा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरेर दर्जनौं ब्रान्डका फ्रिज बजारमा छन्। ब्रान्डेड र ननब्रान्डेड उत्पादनको आफ्नै छुट्टै बजार रहेको व्यवसायीहरू बताउँछन्। पछिल्लो समय साधारण फ्रिजभन्दा स्मार्ट फ्रिज प्रयोगकर्ता बढ्न थालेका छन्। फ्रिज अचेल सबैको सहयोगीको रूपमा देखा परेको छ। बजारमा १३ हजारदेखि साढे चार लाख रुपैयाँसम्मका फ्रिज पाइन्छन्। ९० लिटरदेखि साढे ६ सय लिटरसम्म क्षमताका फ्रिज नेपाली बजारमा उपलब्ध छन्। फ्रिजको प्रयोग सामान्य घरदेखि होटल, पसल, रेस्टुरेन्ट, कोल्डस्टोर, डिपार्टमेन्टल स्टोरलगायत विभिन्न क्षेत्रमा हुँदै आएको छ।

नयाँ बानेश्वर निवासी नारायणी रिजालले गत वैशाखमा स्मार्ट फ्रिज किनिन्। खाना ताजा राख्न उनले स्मार्ट फ्रिज प्रयोग गरेको बताइन्। उनले स्मार्ट फ्रिज किनेपछि धेरै सजिलो भएको बताउँछिन्। ‘आम्दानी र आवश्यकता बढेकाले पनि केही वर्षअघि किनेको साधारण फ्रिज हटाएर स्मार्ट फ्रिज किनेकी हु’, उनले भनिन्। स्मार्ट फ्रिज ल्याएपछि धेरै सजिलो भएको र खाना खेर जाने अवस्थाको अन्त्य भएको उनी बताउँछिन्।

कीर्तिपुर निवासी वसन्त शर्माले गत दसैंमा भ्याकुम र वासिङ मेसिनका साथै स्मार्ट फ्रिज किनेका छन्। उनले धेरै अघिदेखि किनेको साधारण फ्रिज पनि प्रयोगमै ल्याइरहेका छन्। ‘स्मार्ट फ्रिज र साधारण फ्रिज दुवै प्रयोगमा ल्याइरहेको छु’, उनले भने। सामान्य खानेकुरा उनले साधारण फ्रिजमा राख्ने गरेका छन् भने खाना ताजा राख्न स्मार्ट फ्रिज प्रयोग गर्छन्।

निजामती क्षेत्रमा कार्यरत दाहालले केही महिनाअघि मात्र स्मार्ट फ्रिज ल्याएका हुन्। खाना ताजा राख्न उनले स्मार्ट फ्रिज प्रयोग गरेको बताए। उनी भन्छन्, ‘फ्रिजले जीवन धेरै सहज बनाउँदै गएको छ। आवश्यकताअनुसार फ्रिज प्रयोग गर्ने गर्छु।’ अनामनगरकी रिजाल र र कीर्तिपुरका दाहाल मात्र होइन अधिकांश नेपालीको अत्यावश्यक वस्तु बन्न थालेको छ फ्रिज। प्रविधिको विकाससँगै नेपालीको आवश्यकता बढ्न थालेको हो। सुरुमा साधारण फ्रिज राख्नेले अचेल स्मार्ट फ्रिज प्रयोग गर्न थालेका छन्। खासगरी सहरी क्षेत्रमा स्मार्ट फ्रिजको माग बढ्दो क्रममा छ। ग्रामीण क्षेत्रमा होम अप्लाइन्सका अन्य सामानसँगै साधारण फ्रिज प्रयोग गर्नेको संख्या पनि कम्ती छैन।

वेस्टर्र्न रेफ्रिजेरेसन प्रालिका बिक्री प्रबन्धक दिनेश कार्कीले सामान्य घरभन्दा पनि व्यापारिक प्रयोजनका लागि फ्रिज बिक्री गर्दै आएको बताउँछन्। डिमार्टमेन्टल स्टोर, होटल, रेस्टुरेन्ट, कोल्ड स्टोरलगायत क्षेत्रमा फ्रिज बिक्री गर्दै आएको उनले जानकारी दिए। वेस्टर्न प्रालिले वार्षिक तीन हजार पाँच सय वटा फ्रिज बिक्री गर्दै आएको छ। नेपाली बजारमा ३० हजारदेखि पाँचलाखसम्मका फ्रिज बिक्री हुने गरेको उनले जानकारी दिए। यस्ता फ्रिज घरायसी प्रयोजनभन्दा व्यापारिक प्रयोजनमा खपत हुने गरेको छ। नेपाली बजारमा जापानिज र इन्डियन ब्रान्डका फ्रिज भित्रिने गरेको छ। त्यसमध्ये इन्डियन ब्रान्डका फ्रिजले बजार ओगटेका छन्।

आईएफबी होम एप्लाइन्सका कर्पोरेट म्यानेजर मिनु महर्जनले अहिले फ्रिज नराखेको जानकारी दिइन्। ‘हामी सिजनका बेला मात्र सामान ल्याउने गर्छौं, अचेल फ्रिज राखेका छैनौं’, उनले भनिन्। खासगरी फ्रिज फागुनदेखि मंसिरसम्म खपत हुने गर्छ। अचेल फ्रिजको माग हुँदैन। फ्रिजको माग नहुने हुँदा व्यापारीहरूले सिजनका बेला मात्र फ्रिज ल्याएर बिक्री गर्ने गर्छन्।

युनिभर्सल इलेक्ट्रोनिक प्रालिका बिक्री प्रबन्धक जगदिश चन्दले खासगरी सहरी क्षेत्रमा हिटाचीका फ्रिज प्रयोग हुने गरेको बताए। साधारण फ्रिजभन्दा डेढदेखि दुई लाखसम्म पर्ने यस्ता स्मार्ट फ्रिजबाट उपभोक्ताले थप लाभ लिन सकेको उनी बताउँछन्। हिटाची फ्रिजको हिस्सा नेपालमा थोरै भए पनि यसले उपभोक्ताको विश्वास जितेको उनी बताउँछन्। पछिल्लो समय इन्डियन फ्रिजको मागप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ। उनका अनुसार नेपाली बजारमा कोरियन कम्पनीका फ्रिजले बजार लिइरहेको छ।

हिटाचीका फ्रिज गुणस्तरीय हुने भएकाले इन्डियन फ्रिजभन्दा कोरियन फ्रिजप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ। यस्तो फ्रिजको मूल्य २३ हजार नौ सयदेखि ४४ हजार नौ सय रुपैयाँ पर्छ। युनिभर्सल इलेक्ट्रोनिक प्रालिले काठमाडौं भ्यालीसहित देशका ठूला सहर लक्ष्य गरी डिलर स्थापना गरेको छ। पोखरा, विराटनगर, बुटवल, नारायणगढमा पनि फ्रिजको माग बढ्दै गएको चन्दले जानकारी दिए। उनका लागि युनिभर्सलले दुर्गम क्षेत्रमा पनि फ्रिज पुर्या‍उने योजना अघि सारेको छ।

सीजी इलेक्ट्रोनिक ग्रुपका डेपुटी जनरल म्यानेजर सञ्जयराज भण्डारीले वासिङ मेसिन र फ्रिजको माग बढ्दो क्रममा रहेको बताए। उनले घरायसी प्रयोजनमा साधारण फ्रिज प्रयोग गर्ने संख्या दिनानुदिन बढ्दै गएको उनको भनाइ छ। विद्युतीय सामग्री प्रयोग गर्नेको जमात बढ्न थालेको उनी बताउँछन्। भण्डारीले नेपालका धेरैजसो घरमा फ्रिजससित होम अप्लाइन्सका विभिन्न सामान प्रयोग गर्नेको संख्या दिनानुदिन बढ्दै गएको बताए। सीजीले फ्रिज बाहिरबाट ल्याएर बिक्री गर्दै आएको छ। सीजीका राजधानीमै १३ वटा सोरुम छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.