नालापानी पुन: छायांकनमा
काठमाडौं : चलचित्र नालापानीको केही दृश्य थप्न पुनः छायांकन गरिएको छ। आवश्यक देखिएकाले केही दृश्य पुनः छायांकन गरिएको चलचित्रका निर्देशक रिमेश अधिकारीले बताए। ‘भक्तपुरको तेलकोटामा हामीले चलचित्रका केही दृश्यहरू पुनः छायांकन गरिरहेका छौ’, रिमेशले भने। ‘हामी चलचित्र निर्माणको अन्तिम चरणमा छौं, केही दृश्य थप गर्नुपर्ने भएकाले पुनः छायांकन गरिएको हो’, उनले थपे।
चलचित्रको केही समयअघि टिजर सार्वजनिक भएको थियो। भीएफएक्स प्रयोग भएको चलचित्रको टिजरमा मेकिङ लोभलाग्दो देखिन्थ्यो भने ब्याकग्राउन्ड स्कोर उस्तै उम्दा रहेको थियो। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर यो चलचित्र निर्माण भइरहेको हो।
चलचित्रमा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता विष्ट, प्रनिश शाक्य, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, सुष्मा भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ।
पद्माकुमारी फिल्मस प्रालि र गंगानारायण फिल्मस् प्रालिको संयुक्त ब्यानरमा बनेको यस चलचित्रमा मनोज शाक्य निर्माताको रूपमा रहेका छन्। रिमेश अधिकारी निर्देशित चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।
विपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र वसन्त खत्रीमगरले भीएफएक्स गरेको यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरेका छन्। प्राचार्य रामराजा कुँवर र प्राडा धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ चलचित्र आधारित रहेको निर्माण पक्षले जनाएको छ। चलचित्र नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउँदै छ।