आमा
उमेरलाई ‘रिवाइन्ड’ गर्न सकिने भए
त्यो रिललाई म
कास्टिङको सुरुआतमै पुर्याएर रोक्ने थिएँ
जहाँ मेरी आमा काखमा राखेर
मलाई सुमसुम्याउँदै फुल्याउँदै हुन्छिन् अथवा
कोक्रोमा हल्लाउँदै
मलाई सुताउन
सन्ध्यागान गाउँदै हुन्छिन्
हुने भए म आमाको हात समाउँदै
ताते गरेको दृश्यमा ‘पज’ गर्ने थिएँ
र स्थिर चित्रमा आफ्ना पदछाप हरेर
आमाको न्यानो काखीको घेराबाट
कलिलो सुन्दर वचपनलाई
सुटुक चिहाउने थिएँ
मलाई फर्किन मन छ
जीवनको त्यही गोरेटोमा
जहाँ मेरी आमाको अनुहारमा
वसन्ती आभा टल्किन्थ्यो
मुस्कानमा इन्द्रेणी लावा तैरिन्थ्यो
नयनमा रहर र उमंगको उज्यालो जून झुल्किन्थ्यो
मैले आफ्नो जीवनचक्रलाई ‘रिवाइन्ड’ गर्न सकेँ भने
मेरी आमाको उमेर फर्कने थियो
आतेशलाग्दो बुढ्यौलीबाट
आफ्ना अधुरा सपना पूरा गर्न
उनको यौवन सर्किने थियो
किनभने
आमाको अनुहारका
पत्रपत्र मुजा हेरेर
साँझ खसेको
उदास दृष्टिहरूलाई नियालेर
हरेक सासमा धड्किने उच्छवासको
तरंगलाई सुनेर
मलाई यो कृत्रिम जिन्दगी बाँच्न
पटक्कै मन छैन
आमाका आँखीझ्यालका डिलबाट खसेका
ती अनमोल मोतीलाई
अञ्जुलीमा भर्न
पटक्कै मन छैन
बरू मलाई आमाको यो उमेर पनि बोकेर
यहीँबाट उकालो हिँडिरहन स्वीकार छ
खाली उनले पार गरेको उमेरको बाटोलाई
‘रिवाइन्ट’ गरेर
पछि फक्र्याइदिए हुन्थ्यो
मलाई आमा बूढी भएको
हेर्न पटक्कै मन छैन ।