रेन्टुरेन्टमा चिनियाँ लगानी
चिनियाँ पर्यटकको आगमन बढेपछि होटल र रेस्टुरेन्टमा लगानी बढेको हो।
पोखरा : पोखरामा चिनियाँ पर्यटकको आकर्षण बढेपछि चिनियाँ व्यवसायी होङ यान होटल, रेस्टुरेन्ट सञ्चालनका लागि घरजग्गा खोज्दै ६ वर्षअघि यहाँ आएका थिए। लेकसाइडमा भनेजस्तै होटल र रेस्टुरेन्ट पनि भेट्टाए। लेकसाइडको अम्बोटमा घर भाडामा लिएर यानले दुई करोड ५० लाखमा रेस्टुरेन्ट चलाइरहेका छन्। उनीमात्र होइन पोखरामा पछिल्लो समय चिनियाँ पर्यटकलाई लक्ष्य गरी होटल र रेस्टुरेन्ट सञ्चालन गर्ने चिनियाँ व्यवसायीको संख्या बर्सेनि बढ्दै गएको छ।
भूकम्प गएपछि भने चिनियाँ व्यवसायी केही वर्ष पोखरामा आएर पर्यटन व्यवसायमा लगानी गर्न रोकिए। अहिले पुनः चिनियाँ लगानी गरिरहेका छन्। पोखरामा दुई दर्जनभन्दा बढी चिनियाँ लगानीका रेस्टुरेन्ट र करिब एक दर्जन होटल सञ्चालनमा रहेको ओभरसिज चाइनिज एसोसियसन पोखराका अध्यक्ष चाङले जानकारी दिए।
यहाँ चिनियाँ पर्यटकको आगमन बढेपछि होटल र रेस्टुरेन्टमा लगानी बढेको हो। भूकम्प गएपछि केही चिनियाँले जग्गा लिएर होटल बनाउँदा बनाउँदै फर्केर गए। कतिले होटल, रेस्टुरेन्टका लागि जग्गा हेर्दै गर्दा फर्केका थिए। अहिले भने पुनः चिनियाँ लगानी बढेको उनले सुनाए। पर्यटन उद्योग बिस्तारै सामान्य अवस्थामा गएकाले पोखरामा चिनियाँ लगानी अझ बढ्ने चाइना टाउन रेस्टुरेन्टका सञ्चालक हाउसान टेन बताउँछन्।
ताल, उच्च हिमाल र उच्च हिमाली क्षेत्रको पदयात्रा पोखराबाटै गर्न सकिनु चिनियाँ पर्यटक र लगानी कर्ताको मुख्य आकर्षण रहेको उनले बताए। सन् २००८ देखि यहाँ चिनियाँ रेस्टुरेन्ट सञ्चालन गरेका उनको रेस्टुरेन्ट भूकम्प गएपछि आन्तरिक पर्यटककै भरमा चलेको थियो। अहिले चिनियाँ पर्यटक बढेपछि व्यवसाले पुनः गति लिएको उनले बताए।
चिनियाँ पर्यटक जहाँ घुम्न जान्छन् त्यहाँ सकभर चिनियाँले नै सञ्चालन गरेको रेस्टुरेन्टमा आफ्नै देशका खानाका परिकार खाने पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष सोम थापा बताउँछन्। त्यसैले चिनियाँ व्यवसायीको यहाँ लगानी बढेको उनले बताए। पोखराको होटल तथा रेस्टुरेन्ट व्यवयासमा चिनियाँ लगानी बढेपछि उनीहरूले ओभरसिज चाइनिज एसोसियसन पोखरा नामक संगठन नै खोलेका छन्। संस्थाले अंग्रेजी नयाँ वर्षमा लेकसाइडमा हुने सडक महोत्सवमा चिनियाँ सांस्कृतिक झाँकीसहित ¥यालीमा सहभागी हुन्छन्।
पोखरामा भारतीय पर्यटकपछि पछिल्लो समय धेरै पर्यटक आउने भनेको चिनियाँ हुन्। पोखरामा प्याराग्लाइडिङ, अल्ट्रालाइमा रमाउने चिनियाँ पछिल्ला समयमा अन्नपूर्ण क्षेत्रको पदयात्रामा पनि जाने गरेको ट्रेकिङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) पोखरामा अध्यक्ष हरि भुजेलले बताए।
चिनियाँ पर्यटक छाटो दूरीका घान्द्रुक, घोरेपानी, मर्दी हिमाल, अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रामा जान्छन्। पदयात्रामा समेत चिनियाँ पर्यटक जान थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्रका स्थानीयले पनि चिनियाँ पर्यटकबाट लाभ लिन थालेका छन्।