लोकतन्त्रको अर्को परिभाषा
एक्लो भएर पनि उनी एक्ला थिएनन्, लाख थिए। एकाएक ‘महामानव’ बनेर उदाए मन्डेला, जसले देशवासीलाई सपना देख्न सिकाए।
सन् १७८९ मा थालनी भएको फ्रान्सेली राज्यक्रान्तिको नारा नै ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ थियो। किनभने शासनको जगमा जब यी तीन तत्व हुन्छन्, तब त्यो शासन, शासन जस्तो हुन्छ। तत्कालीन फ्रान्सले आफ्नो शासकीय दर्शनमा खोजेको लोकतान्त्रिक मूल्य र मान्यता यी तीनै तत्वबाट हासिल गर्न सकिने ठानेरै क्रान्तिको नारा नै बनायो। र, यी तीन तत्व प्राप्तिका लागि राजाको असीमित शासनविरुद्ध जनताले क्रान्ति छेडे र सफलता पनि पाए।
आजको फ्रान्सेली शासनमा राजनीतिक, आर्थिक, सामाजिक लगायतका आयामबाट यी तीनवटै तत्व रहेको तर्क गरिन्छ। सँगै यसबाट के पनि निचोड निकाल्न सकिन्छ भने शासकीय दर्शनमा जब स्वतन्त्रता, समानता र भ्रातृत्वको मान्यताले प्रवेश पाउँछ, त्यहाँ असली लोकतन्त्रको अभ्यास हुन्छ। कतिपय दार्शनिकले ‘हरेक किसिमको स्वतन्त्रताले त तनाव सिर्जना गर्छ’ भन्ने तर्क नगरेका होइनन्। अझ कतिपयले त यसलाई ‘सोर्स अफ ट्र्याजिडी’का रूपमा पनि अथ्र्याएका छन्। भलै संवैधानिक वा कानुनी स्वतन्त्रता नै आज व्यक्तिदेखि शासनसम्म लोकतन्त्रको आधारभूत मान्यता अभ्यास भएको ठोस सबुत हो। शासनको आयाम र सीमित सरकारको अवधारणाका बीच वैचारिक स्वतन्त्रतादेखि शासकीय स्वतन्त्रतासम्मको राजनीतिक दर्शन नै आजको बहसको पेचिलो सवाल हो।
०००
शासकीय शक्तिका लागि मानवताविरोधी अपराध गर्न अघि सर्ने एडोल्फ हिटलर विश्वव्यापी राजनीतिक द्वन्द्व र सत्तामोहका उत्पादन हुन्। सँगै मानवता संरक्षणका लागि सत्ता र शक्ति त के, आफ्नै अस्तित्वसमेत सुली चढाउन तत्पर नेल्सन मन्डेला पनि राजनीतिक आवश्यकताका उत्पादन हुन्। उनले मानवता संरक्षणका लागि विश्वलाई भुल्नै नसकिने र तिर्नै नसकिने गुण लगाएका छन्। खासगरी मानवताविरोधी र रंगभेदी नीतिविरुद्ध उनी उभिए र यसैबाट उनको राजनीतिक दर्शनको मुना निःसृत भएको हो। यही रंगभेदी सोचबाट विश्वलाई बाहिर निकाल्न चाहन्थे उनी। यस अभियानमा उनले उत्तीर्णांक मात्रै होइन, पूर्णांककै हाराहारीमा अंक हासिल गरे।
सन् १९६२ मा उनलाई राजनीतिक बन्दी बनाइयो र सन् ९० को फेब्रुअरीसम्म जेलमा राखेर मुक्त गरियो। उनको रिहाइसँगै सिंगो मानवताकै जित भएको महसुस गरियो। किनभने मानव जाति नै विश्वको एकमात्र जात हो। अनि मानवीयता विश्वको एकमात्र रंग हो। मन्डेला यसैमा विश्वास गर्थे। अल्पसंख्यक श्वेतहरूद्वारा बहुसंख्यक अश्वेत दक्षिण अफ्रिकीहरूमाथि लादिएको दशकौंको दमनकारी नीतिले नागरिक आक्रान्त थिए। जति बेला मन्डेला जेलमुक्त भए, त्यति बेला नागरिक एकै ठाउँ उभिएर उनको मुक्तिको खुसी उत्सव त मनाए तर सिंगो दक्षिण अफ्रिका भने भावनात्मक रूपले विभाजित थियो। अनि, अनिश्चयको अग्लो पहाड थियो नागरिकको आँखामा।
तर, दक्षिण अफ्रिकालाई जति बेला जस्तो राजनेताको खाँचो थियो, सही समयमा मन्डेलालाई पायो। सिंगो विश्व शासनमै पनि मन्डेलाको शासकीय दर्शन र लोकतान्त्रिक मान्यताको असर कुनै न कुनै रूपमा परेको छ। उनको विचारले विश्व शासन सही ‘ट्र्याक’मा हिँडाउन धेरै योगदान गरेको छ। उनको राजनीतिक दर्शन र वैचारिक मतले विश्व लोकतन्त्रमा नयाँ उचाइ प्रदान गरेको छ।
शान्ति कूटनीति
नेल्सन मन्डेलाको निधनपछि धर्मगुरु दलाइ लामाले पनि आफू मन्डेलाको प्रशंसकमध्ये एक भएको बताएका थिए। लामाकै भाषामा भन्ने हो भने मन्डेला शान्तिका पुजारी थिए। विश्व शासनलाई स्थीर, समावेशी तरिकाको लोकतान्त्रिक र प्रभावकारी बनाउने हो भने आन्तरिक र बाह्य शान्तिको मान्यता नै त्यसको लागि व्यवस्थापकीय औजार बन्न सक्छ। विश्वका शक्तिशाली मानिएका मुलुकका नेता आज आणविक शक्ति प्रयोगको होडमा दौडिरहेको सन्दर्भ छ। सैन्य वा आणविक शक्तिले अन्य सहअस्तित्वपूर्ण नरम खाले कूटनीतिक औजारलाई उछिनेको छ। यस्तो अवस्थामा विश्वलाई एकताबद्ध तुल्याउन र भावनात्मक रूपले विभाजनको सँघारमा पुग्नबाट रोक्ने अस्त्र भनेकै शान्तिको मान्यता हो। यस मान्यताको उदाहरणका रूपमा मन्डेलालाई लिन सकिन्छ। उनले आन्तरिक राजनीतिसँगै अन्तर्राष्ट्रिय राजनीतिक अभ्यासमा पनि यस मान्यताको प्रयोग गरे। यसैलाई कूटनीतिको आधार बनाए।
सन् १९९३ मा शान्तिका लागि उनलाई एफ डब्लू दे क्लार्कसँगै संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरियो। यस पुरस्कारले मात्रै उनको शान्तिप्रतिको योगदान प्रस्टिने होइन ! भलै उक्त पुरस्कारले उनको विश्वशान्ति, स्वतन्त्रता र भाइचाराप्रतिको आस्था र योगदानको उच्च कदर भने गरेको हो। मन्डेलाको सयौं जन्मोत्सवको छेकोमा सन् २०१८ को सेप्टेम्बर २४ को ‘संयुक्त राष्ट्रसंघ’को महासभाद्वारा ‘नेल्सन मन्डेला पिस समिट’को आयोजना गरेर उनी ‘विश्वशान्तिको प्रतीक’ भएको घोषणा गरियो। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ मन्डेलाको विचारले आज पनि निरन्तर उत्प्रेरकको काम गरिरहेको छ।
मानवअधिकारको पक्षमा
मानवअधिकारको विरुद्धमा आवाज उठाउन वा आवाजविहीनको आवाज बन्न उनी कहिल्यै डराएनन्। मानव जातिलाई माया गर्न उनीसित विशाल मुटु थियो ! उनको त्यत्रो विशाल मुटुमा डरको किञ्चित स्थान थिएन। विश्वभर कहीँकतै पनि मानवअधिकार हनन र मानवताविरोधी क्रियाकलाप हुनु हुँदैन भन्ने राजनीतिक दर्शन बोकेर बाँचिरहे उनी। शिक्षा, खाद्य सुरक्षा, पर्यावरणीय अधिकार अनि तेस्रोलिंगीको अधिकारको पक्षमा पनि उनको मत उत्तिकै जब्बर थियो। दक्षिण अफ्रिकी संविधानमार्फत पहिलोपटक सबै किनारीकृत भनिएका वा राज्यको खास शासनबाट पाखा फालिएका नागरिकले समेत आधारभूत स्वास्थ्यको संवैधानिक अधिकार प्राप्त गरेका थिए। त्यसैले त भन्ने गरिन्छ, अधिकार संरक्षणको सवालमा उनी ‘आइकन’ नै हुन्।
अश्वेत अधिकारको स्थापनार्थ शान्तिपूर्ण र सशस्त्र दुवैखाले आन्दोलनको नेतृत्व गरे। उनलाई दक्षिण अफ्रिकीहरूले ‘सर्वोच्च मानव’कै पगरी गुथाएका छन्। मानिसको बाँच्न पाउने नैसर्गिक अधिकारको पक्षमा आफूलाई जीवनको अन्तिम घडीसम्म पनि उभ्याइरहे। सहिष्णुता र बन्धुत्वको सम्बन्धले मात्रै देश भावनात्मक रूपले एक बन्नेमा उनी विश्वास गर्थे। र त दक्षिण अफ्रिका आज एकताबद्ध भएको छ। विकासको मार्गमा अग्रसर छ। रंगभेद त मानवता विरुद्धको अपराध हो। मन्डेलाले यही रंगभेदी शासकीय अभ्यासको पञ्जाबाट दक्षिण अफ्रिकालाई सदाका लागि मुक्तिको सास फेराउन उनले गरेको अठोटले मूर्त रूप पायो। आफ्नो माटोलाई सत्ताभन्दा माथि राख्न सक्ने नेता कमै हुन्छन्, मन्डेला यसका उदाहरण हुन्। उनको आत्मकथा ‘लङ वाक टु फ्रिडम’ नै उनले गरेको राजनीतिक संघर्ष, जातीय मेलमिलाप र सामाजिक त्यागको खरो सबुत हो।
राजनीतिक बन्दीका रूपमा २७ वर्ष लामो जेल जीवन बिताएका नेताले आफ्नो राष्ट्रसित त्यसको कुनै पनि हिसाबकिताब खोजेनन्। बाँकी विश्वसित पनि कुनै प्रकारको क्षतिपूर्ति मागदाबी गरेनन्। आफ्नो त्यत्रो त्यागको कुनै पनि मूल्य तोकेनन्। तब त उनी मन्डेला भए ! मन्डेला बन्न त्यति सजिलो त कहाँ थियो र ? तर, उनले आफ्नो नामको ब्रान्ड स्थापना गर्न काम गरेका थिएनन्। त्यसैले त माडिबा ‘ग्लोबल स्टेटम्यान’ हुन्। विश्व शासनकै खास शासक हुन्।
सन् १९४८ को संयुक्त राष्ट्रसंघद्वारा जारी ‘मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र’बाट प्रभावित थिए मन्डेला। खासमा लोकतन्त्रप्रतिको उनको निष्ठा र आस्था नै समग्र दक्षिण अफ्रिकीको निष्ठा र आस्था हो। दक्षिण अफ्रिकाको तत्कालीन जातीय नीतिविरुद्ध आवाज चर्को पार्न उनले धेरै ऊर्जा खर्चिए। मानवअधिकारका सवालमा उनले दिएको वक्तव्यले कतिपय शासकको सत्ता नै पनि डगमगायो। मानवअधिकारको संरक्षकको हैसियतमा उनलाई संयुक्त राष्ट्रसंघले सम्मान गरेको त छ नै, विश्वमै शक्तिका पुजारी कहलिएका कतिपय नेताले समेत मन्डेलाको मानवअधिकारप्रतिको योगदानको कदर गर्दै उनी स्वयं नै विश्व मानवअधिकारको खुला इजलास भएको तर्क गरेका छन्।
विश्व लोकतन्त्रमा टेको
देशलाई बहुआयामिक तवरबाट विकास गर्नु छ भने त्यसका निम्ति लोकतान्त्रिक मूल्यको अभ्यास सबैभन्दा प्रभावकारी हतियार बन्न सक्छ। मौलिक लोकतान्त्रिक मूल्यको परिचय निर्माण गर्न सक्नु लरतरो सवाल पक्कै पनि होइन। राजनीतिक अनि आर्थिक–सामाजिक रूपले सीमान्तीकृतलाई मूलप्रवाहमा ल्याएर विकासमा सहभागी बनाउने उनको शासकीय प्रयत्नलाई एकखाले राजनीतिक दर्शनको रूपमा विश्व शासनले आत्मसात् गर्न भ्याएको छ। उनले आफूले देशको शासनसत्ता सम्हालेपछि पहिलो बहुजाति सम्मिलित आवधिक निर्वाचन सम्पन्न गराएर लोकतान्त्रिक अभ्यासको थालनी गरे। त्यसपछि दक्षिण अफ्रिकाको मूलधारको शासनले लोकतान्त्रिक टेको समात्न सकेको थियो, जुन बाँकी विश्वलाई गतिलो उदाहरण बनेको छ।
‘भत्काउन र विनाश गर्न अधिक सजिलो छ, त्यो त जसले पनि सजिलै गर्न सक्छ। बरु, जसले भत्काउँदैन, बनाउँछ अनि शान्ति स्थापना गर्छ, त्यो नै असली हिरो हो।’ विश्वशान्ति र सद्भावका दूत एवं पहिलो अश्वेत दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मन्डेलाको यो भनाइ आज विश्वभर चर्चित छ। उनकै भनाइलाई आधार मान्ने हो भने उनी पनि त्यस्ता हिरो हुन् जसले आफ्नो राष्ट्र सँगसँगै विश्वकै शासकीय राजनीतिक दर्शनमा खास स्वतन्त्रताको पैरवी गरे। खास लोकतन्त्रको वकालत गरे, जसबाट विश्व शासनलाई ठोस लोकतान्त्रिक आकार प्राप्त गर्न सघाउ पुर्यायो। धेरैले मन्डेला स्वयं नै लोकतन्त्रको दोस्रो परिभाषा भएको मान्छन्।
०००
सन् १९९४ मा राष्ट्रपतिको कुर्सीमा बस्नुअघि उनले भनेका थिए, ‘यो देशमा अब मैले होइन, स्वतन्त्रताले राज्य गर्नेछ, उसैलाई राज गर्न दिऊँ।’ शासक र शासितबीच सम्बन्धको स्पष्ट रेखा कोरिदिए उनले। ‘सबैलाई सामाजिक न्याय हुनुपर्छ, सबैले काम र रोटी पाउनुपर्छ। कोही पनि बन्धनमा रहनु हुन्न।’ जब शासक नै आधारभूत शासकीय मान्यतामा चनाखो बन्छ, तब त शासनको जग मजबुत बन्छ, जसरी दक्षिण अफ्रिकामा बन्यो। निःशस्त्रीकरण र गरिबी उन्मूलनबाट नै विश्वशान्तिको स्थापना हुने हो। मन्डेला यसमा विश्वस्त थिए।
मेथोडिस्ट पाठशालाबाट दीक्षित मन्डेलाका लागि सबैलाई माया गर्नु पनि लोकतन्त्रको एउटा रंग थियो। सबैलाई बराबरीको नजरले हेर्नु पनि शासनको एउटा आयाम थियो। भावनात्मक आयाम। अलिकति भावनात्मक भइयो भने पनि अब्बल शासन गर्न सकिने रहेछ। सत्कर्ममा पनि विश्वास राख्थे उनी। त्यसो त, सक्रिय राजनीतिबाट अलग्गिएर पनि जीवनकालभरि नै अधिकार प्राप्तिका सबैजसो विश्व अभियानमा उनको साथ र समर्थन रह्यो। पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले पछिल्लोपटक जोहानसबर्गको भ्रमण गरेका थिए। भ्रमणपछि मन्डेलाले कसरी दक्षिण अफ्रिकालाई नैतिक रूपान्तरण गरेका थिए भनेर बाँकी विश्वलाई पुनः एकपटक भनेका छन्। त्यहाँ पुगेपछि ओबामाले चाल पाए कि मन्डेला जीवनभर कसरी ‘आइडियल’ भएर बाँचेका रहेछन्।
सन् १९९० तिर दक्षिण अफ्रिकी जनताको आँखामा अनिश्चिय र अन्योल थियो। जातीय विभेदको रापिलो शासकीय आरनमा बहुसंख्यक नागरिक पोलिएका थिए। उनीहरूको आवाज त के भावनासमेत दमित थियो। यति टिठलाग्दो कहरमा कसरी सपना देख्नु ? सपनासम्म पनि नभएका उनीहरू रित्ता थिए, केही थिएन उनीहरूसित। तर, त्यसो होइन। उनीहरूसित त मन्डेला थिए ! उनै एक्ला मन्डेला ! तर, एक्लो भएर पनि उनी एक्ला थिएनन्, लाख थिए। एकाएक ‘महामानव’ बनेर उदाए उनी, जसले देशवासीलाई सपना देख्न सिकाए। अनि, सपनालाई व्यवहारमा कसरी रूपान्तरण गर्ने भनेर सिकाए। इन्द्रेणी सपना देख्न सिकाए। त्यही सपना देखेकैले होला, आज दक्षिण अफ्रिका शासनको हरेक कोणबाट इन्द्रेणीजस्तै लाग्छ। बहुरंगी।
(एजेन्सीको सहयोगमा)