सडकमै खाऔं, सडकमै रमाऔं

सडकमै खाऔं, सडकमै रमाऔं

फिस्टेलगेटदेखि खहरेसम्मको तीन किलोमिटर पूरै सडकमा महोत्सव चल्छ। महोत्सव अवधिमा सडकमा मोटरसाइकल, कार, बसलगायत कुनै पनि सवारी साधन गुड्दैनन्। सडकपेटीमा ओर्लन्छन् रेस्टुरेन्टका किचन र कुर्ची टेबल। पारिलो घाममा सडकमै खानपिन चल्छ।


पोखरा : ओममणिपद्मे हुँ। ओममणिपद्मे हुँ। यस्तै यस्तै ध्वनि बोलेझै फर्फराइरहेका छन् बुद्धमन्त्र अंकित रंगीचंगी ध्वजापतका। नीलो आकाशतिर हेर्दा त्यस्तै लाग्छ। सडकको दायाँबायाँ पनि झकिझकाउ छ। स्वागतद्वारहरूले पाइलैपिच्छेजसो स्वागत गरिरहेछन्।

ढुंगाका छपनी छापिएको सडकपेटी फराकिलो छ। धुलोमैलो कतै देखिन्न। सडक पनि सफा र चिरिच्याट्ट छ। गाडीहरू गुडेका छैनन्। निर्धक्क पैदलयात्रा गर्न मिल्छ। तिब्बती शैलीका हस्तकलाका सामान पिँढीमा फिजारिएका छन्। त्यस्ता क्युरियोमा आँखा गड्छ। पुराना काठलाई फेरि प्रयोग गरेर बनाएका जस्ता फर्निचर भएका कफी सपबाट अर्गानिक सुगन्ध बाहिरसम्म आइरहेको छ। रेस्टुरेन्टपिच्छे डेकोरेसनले आँखा अड्याउन खोज्छन्।

हो, यो लेकसाइड। देशको पर्यटकीय केन्द्र पोखरा। त्यसको पनि पर्यटकीय केन्द्र लेकसाइड। यही लेकसाइडले स्वदेशी विदेशी पर्यटकलाई दशकौंदेखि मोहनी लगाइरहेको छ। फेवाताल किनारको यो ठाउँ पहिलापहिला बैदाम भनेर चिनिन्थ्यो। जसै विदेशी पर्यटकको ओइरो लाग्न थाल्यो, नाम बदलियो र लेकसाइड भयो।

हो, यही लेकसाइडमा अरु बेलाभन्दा बेसी भीड अंग्रेजी नयाँ वर्षका बेला लाग्न थालेको छ। छेको त त्यही अंग्रेजी नयाँ वर्षकै हो। बहाना पश्चिमा पर्व क्रिसमसको पनि हो। पश्चिमा पाहुनालाई आफूकहाँ नै अड्याइराख्न वा डाक्न यही छेकोको यहाँ ‘पोखरा सडक महोत्सव’ चल्छ। रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखरा शाखाले फेवाताल किनारको यो ठाउँमा यसरी महोत्सव आयोजना गर्न थालेको यसपटक २० औं वर्ष हो।

महोत्सवको नारा छ- सडकमै खाऔं, सडकमै नाँचौं, सडकमै रमाऔं। हुन पनि गाडी नगुड्ने सडक महोत्सवले झकिझकाउ हुन्छ। रेस्टुरेन्टहरूले सडकपेटीमा किचेन डाइनिङ राख्छन्, त्यहीँ पाहुनालाई सत्कार गर्छन्। चोकचोक, चौतारीचौतारीमा सांस्कृतिक झाँकी प्रदर्शन हुन्छ। सांगीतिक कार्यक्रम भइरहन्छन्। ‘पोखरा सडक महोत्सव पोखरामा सबैभन्दा धेरै पर्यटक ओइरो लाग्ने पर्व हो। देशभर हुने मेला महोत्सवमध्ये सबैभन्दा धेरै मानिस सहभागी हुने भएकैले बिगेस्ट फेस्टिभल भनेका छौं’, रेबानका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेल भन्छन्।

अचेल लाखौं संख्यामा पर्यटक आउने दाबी गरिएको पर्वको सुरुआतको कथा रोचक छ। रेबान पोखराका संस्थापक उपाध्यक्षसमेत रहेका पुराना पर्यटनकर्मी गणेशबहादुर भट्टराई अंग्रेजी नयाँ वर्षकै बेला उनताका पोखरामा भएका पर्यटकका पाइला पनि अन्तै मोडिने गरेको सम्झन्छन्। भन्छन्, ‘युरोपेली पर्यटक नयाँ वर्ष र क्रिसमस मनाउन कि थाइल्यान्डतिर जान्थे कि भारतको गोवातिर।’

गणेश युवावयमा आफैं पर्यटक ज्यादा व्यवसायी कम थिए। कहिले नेपालकै डाँडाकाँडा चहार्थे, कहिले विदेशतिर घुम्थे। ९० को दशकको मध्येपछिको एक वर्ष उनी भारतको गोवामा थिए। जहाँ उनले फुड एन्ड म्युजिक फेस्टिभल देखे। पोखरामा पनि केही गर्न पाए हुन्थ्यो भन्ने सोचिहाले। राजा वीरेन्द्र पोखरा आउँदा डिसेम्बरताका पर्यटकहरू नदेख्दा केही गतिविधि गर्नाेस् भनेर सुझाएको पनि भट्टराईले सम्झिए। ‘पहिलो महोत्सव आयोजना गर्न राजा वीरेन्द्रको जन्मोत्सवको अवसर पनि पारेका थियौं’, उनी भन्छन्, ‘पहिला लेकसाइड मिनी फेस्टिभल भनेका थियौं, अहिले यति ठूलो महोत्सव भयो।’

लेकसाइड मिनी फेस्टिभल भनेर २०५६ को पुसमा पहिलो फेस्टिभल सुरु भएको थियो। पछि रेबान स्ट्रिट फेस्टिभल नाम भयो। सातौं संस्करणदेखि पोखरा सडक महोत्सवका नाममा आयोजना हुन थालेको छ। ‘हामीहरू आफैंले तीन हजार, पाँच हजार, १० हजार र १५ हजारका दरले पैसा उठाएर फेस्टिभल आयोजना गरेका थियौं,’ महोत्सव परिकल्पनाकार गणेशबहादुर भट्टराई भन्छन्,। अहिले भने मुलुकका ठूला उद्योगधन्दाले यो महोत्सवका लागि लाखौं रुपैयाँको प्रायोजन गरेका छन्।

खासमा विदेशी पर्यटकलाई अड्याइराख्न र आकर्षित गर्न महोत्सव सुरु भएको थियो। तर पछिल्ला वर्ष त स्वदेशी पर्यटकले अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य पोखरा बनाइरहेका छन्। यो मौकामा पोखरा घुम्न आउनेले पहिल्यै होटल बुकिङ गर्नुपर्ने पनि हुन थालेको छ।

रेबान पोखराका अध्यक्ष बुधराज (भीमसेन) भुजेल प्रकृतिले भरिपूर्ण पोखरामा सांस्कृतिक गतिविधि पनि उत्तिकै हुन्छ भनेर महोत्सव गरिएको बताउँछन्। उनकै भनाइमा देशभरका लोपोन्मुख संस्कृतिको प्रदर्शनी र स्वदेशी विदेशी परिकारहरूको प्रस्तुति यो महोत्सवका आकर्षण हुन्। आयोजक रेबान भए पनि अन्य विधाका पर्यटन व्यवसायीका संस्थासँगै स्थानीय संघसंस्थाले समेत महोत्सवप्रति अपनत्व देखाएका छन्। रेबानका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेल पोखरा सडक महोत्सवलाई कल्चर, फुड र म्युजिकको त्रिवेणी भन्छन्। उनकै अनुसार यसपालिको महोत्सवमा २७ देशका खानामा परिकार महोत्सवमा हुनेछन्। चिनियाँ, जापानी, पाकिस्तानी, भारतीय, बंगालीलगायत संस्कृतिको प्रदर्शनी पनि यो महोत्सवमा हुँदै आएको छ। यसपालि चिनियाँ संस्कृति विशेष रहने उनी सुनाउँछन्।

पोखरा सडक महोत्सवमा कल्चर, फुड र म्युजिकको मज्जा उठाउन पाइन्छ।

जहाँबाट लेकसाइडको फस्टस्ट्रिट (पहिलोगल्ली) सुरु हुन्छ, त्यहीँको पोखरा सडकबाट महोत्सव सुरु हुन्छ। फिस्टेलगेटदेखि खहरेसम्मको तीन किलोमिटर पूरै सडकमा महोत्सव चल्छ। महोत्सव अवधिमा सडकमा मोटरसाइकल, कार, बसलगायत कुनै पनि सवारी साधन गुड्दैनन्। सडकपेटीमा ओर्लन्छन् रेस्टुरेन्टका किचन र कुर्ची टेबल। पारिलो घाममा सडकमै खानपिन चल्छ। सांगीतिक कार्यक्रम पनि सडकका छेउछाउ वा बीचबीचका चौतारीहरूमा हुन्छन्। त्यसैले यो महोत्सवको नारै छ ‘सडकमै खाऊँ, सडकमै नाचौं, सडकमै रमाऔं’।

वर्ष फरक हुन्छ। महिना र समय भने उही। महोत्सव डिसेम्बरको २८ देखि जनवरी १ सम्म हुन्छ। नेपाली पात्रोअनुसार पुसको १३ देखि १७ गतेसम्म परेको छ यसपालिको महोत्सव। यो अवधिको रौनक सडकमा मज्जाले लिन पाइन्छ। रेबानका महासचिव गणेशबहादुर थापाका अुनसार वर्षका ३६५ दिन कुनै न कुनै कुनामा हुने संस्कृति पोखरा सडक महोत्सव अवधिका ४/५ दिनमै देख्न पाइन्छ। भन्छन्, ‘कहिल्यै पुग्न नपाएको ठाउँको संस्कृति हेर्न अंग्रेजी नयाँ वर्षमा पोखरा आए देख्न सकिन्छ।’

पोखराका रेस्टुरेन्टहरू त्यसै पनि आधुनिक शैलीका छन्। रेबान पोखराका पूर्वअध्यक्ष गोपी भट्टराई खानाको हाइजिनमा ध्यान दिने यहाँका रेस्टुरेन्टको मुख्य विशेषतै हो भन्छन्। ‘किचेनको सरसफाइदेखि किचेन उपकरणको गुणस्तर पनि अत्याधुनिक बनाउन ध्यान दिएका छौं’, उनी भन्छन्। उनकै भनाइमा विश्वमै चल्तीका परिकार चाइनिज या थाई, जापनिज या कन्टिनेन्टल, या इटलियन जुनसुकै प्रकारका खाना पनि लेकसाइडका रेस्टुरेन्ट पस्कन्छन्। पोखरा सडक महोत्सवले विश्वका थुप्रै देशका परिकार खाने मौका जुराउँछ।

रेबान उपाध्यक्ष लक्ष्मण बराल लेकसाइडको फिस्टेलगेटदेखि खहरेसम्मको कुनै पनि महोत्सवस्थलमा बिनाटिकट पर्यटकले मनोरञ्जन पाउने बताउँछन्। हुन पनि यो ३ किलोमिटर खण्डमा रेस्टुरेन्टहरूले आआफ्नै परिकार सडकमै किचन निकालेर पकाउँछन्। प्रत्यक्ष हेरेरै पाहुनाले खाना अर्डर गर्न सक्छन्। ठाउँठाउँमा सांगीतिक र सांस्कृतिक कार्यक्रम भइरहन्छन्, ती सबै निःशुल्क हेर्ने अवसर पाहुनालाई मिल्छ। विभिन्न ब्यान्डहरूको सशुल्क कार्यक्रम पनि छुट्टै चल्छ। तर नेपालको कुनाकन्दराका कला संस्कृति सडकमा देखाइन्छ र देख्न पाइन्छ।

मुलुकमा १० वर्ष सशस्त्र द्वन्द्व चल्दा गाउँठाउँमा मेला र चाडपर्व निरन्तर हुन सकेका थिएनन्। श्रुति परम्परामा बाँचेर पुस्तान्तरण हुने कतिपय संस्कृति लोपोन्मुख पनि हुँदै थिए। त्यस बखत पनि पोखरामा सडक महोत्सव भइरहेको थियो। त्यति बेला पनि त्यस्तै लोपोन्मुख संस्कृतिलाई निम्तो दिएर हौस्याउने कर्म पोखरेलीले गरेका थिए। रेबान उपाध्यक्ष लक्षमण बरालका भनाइमा पर्यटकलाई संस्कृति देखाउने पर्व भएकाले हरेक वर्ष नेपालका कुनाकन्दराबाट जातजातिका संस्कृतिलाई डाक्ने परम्परा नै पोखरा सडक महोत्सवको महत्वपूर्ण विशेषता हो। मौका अंग्रेजी नयाँ वर्ष र क्रिसमसको भए पनि प्रवद्र्धन भने नेपाली संस्कृतिको भइरहेको छ। नेपाली हस्तकलाका स्टलहरू यो महोत्सवको अर्काे आकर्षण हुन्। नेपाली परम्परागत खाना, जीवनशैलीलाई महोत्सवमा विभिन्न तौरतरिकाले प्रत्यक्ष उतारिन्छ पनि।

यसपालिको महोत्सवमा चीनको हाइनान प्रान्तबाट त्यहीँको सांस्कृतिक टोली पनि सडक महोत्सवमा समावेश हुन आउँदैछ। लेकसाइडमै व्यवसायी गरिहेका चिनियाँहरूले यसै पनि प्रत्येक वर्ष आफ्नो कला र संस्कृति प्रदर्शन गरिरहन्छन्। महोत्सवमा कहिले जापानी, कहिले कोरियाली, कहिले थाई, कहिले अरु कुनै पश्चिमा देशका संस्कृति निम्त्याइएका हुन्छन्। यसपालि पनि चिनियाँलगायत विदेशी टोली डाकिएको रेबान अध्यक्ष भुजेल बताउँछन्।

पुराना पर्यटनकर्मी गणेशबहादुर भट्टराईका शब्दमा पहिला विदेशी पर्यटकको बसाइ अड्याइराख्न सुरु सडक महोत्सव अचेल आन्तरिक पर्यटकको ध्यान तान्न सफल छ। उनी अंग्रेजी नयाँ वर्षका बेला पोखरामा भरिभराउ हुने पर्यटकमध्ये ८० प्रतिशत नेपाली नै हुने अनुभव सुनाउँछन्। चार सयभन्दा बढी पर्यटकीय होटल एकै दिन यहाँ ३० हजार पाहुनालाई बस्ने बन्दोबस्ती मिलाउन सक्ने क्षमताका छन्। रेबानमा आबद्ध झन्डै एक सय पर्यटकीय रेस्टुरेन्टले धेरै पर्यटक आएको मौका छोप्ने हर्कत गर्दैनन्।

स्वस्थ्यवर्द्धक खानाको मूल्यमा पहिल्यैदेखि स्वस्थ प्रतिस्पर्धाका आधारमा जुन मेनुरेट छ त्यहीँ महोत्सवका बेला पनि कायम हुन्छ। रेबान महासचिव गणेशबहादुर थापा बरु यो बेला केही छुट र अफर दिने पनि बताउँछन्। महोत्सव हुनु एउटा पाटो छँदैछ। रेबान सामाजिक भूमिकामा पनि निस्किरहन्छ। फेस्टिभलबाट बचेको पैसा कहिले फेवातालका निम्ति छुट्ट्याउँछ त कहिले सडकमा बत्ती बाल्न, कहिले भूकम्प पीडितलाई राहत बाँड्न्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.