हेडमास्टर ठेक्कापट्टामा लागेपछि पढाइ प्रभावित

हेडमास्टर ठेक्कापट्टामा लागेपछि पढाइ प्रभावित

चरीकोट : हेडमास्टर नै ठेकेदार भएर विद्यालय भवन पुनर्निर्माणमा लागेपछि दोलखाका अधिकांश विद्यालयको पढाइ प्रभावित भएको छ । तीन वर्षदेखि शिक्षण सिकाइ उपलब्धी घट्दो क्रममा रहेको स्रोत शिक्षकको भनाइ छ ।

भूकम्पपछि जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) दोलखाले विद्यालय व्यवस्थापन समितिमार्फत पुनर्निर्माण गराएको छ । पुनर्निर्माणमा हेडमास्टर खटिँदा नियमित पढाइमा समस्या परेको गुनासो स्थानीय तहबाट आएको दोलखा इकाइ प्रमुख देवकुमार बरालको भनाइ छ । जिल्लाका १ सय ९२ विद्यालयमध्ये अधिकांशमा हेडमास्टरले नै पुनर्निर्माणको काम गरिरहेको अभिभावकको गुनासो छ ।

‘हेडमास्टरचाहिँ कमिसन खान टिपर चढेर निर्माण सामग्री खोज्दै हिँड्ने, अरू शिक्षकले के पढाउँथे ? ’, अभिभावक रामबहादुर थामीले भने, ‘अनि, कसले पढाउने ? छोराछोरी त २ बजे नै घर आइपुग्छन् ।’

उनका अनुसार ७२ विद्यालय पुनर्निर्माण भइसकेका छन् । ७२ वटा निर्माणाधीन छन् । निर्माणाधीनमध्ये पनि ९० प्रतिशत भवन हेडमास्टरले नै निर्माण गरिरहेका छन् ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवाली सिंगटी पुगेका बेला बिगु गाउँपालिका उपाध्यक्ष सञ्जीव ओलीले अनुगमन गर्न आग्रह गरेका थिए । विद्यालय भवन पुनर्निर्माणमा ठेकेदारजसरी हेडमास्टर लागेपछि पढाइ प्रभावित हुने गरेको सैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । मेलुङमा पनि यही अवस्था रहेको गाउँपालिकाका प्रवक्ता हीरा थोकरको भनाइ छ । ‘स्कुलमा हेडमास्टर भेटिँदैनन्’, उनले भने, ‘फोन गर्दा आफू कहिले सिमेन्ट, कहिले इँट्टा लिन गएको भन्छन् ।’

शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम जिरेलका सबै हेडसर यस्तो नभए पनि कतिपयले व्यवस्थापन समितिलाई गुमराहमा राखेर ठेकेदारजस्तो बनेका छन् । सरकारले खरिद ऐन मिचेर करोडौंका निर्माण कार्य व्यवस्थापन समितिलाई सुम्पिँदा समस्या भएको जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष शमशेर घिसिङको भनाइ छ ।

जिरी नगरपालिका मालीस्थित हलेश्वर आधारभूत विद्यालयका हेडमास्टर भक्त केसीले यो रहर नभई बाध्यता भएको बताए । व्यस्थापन समितिले चासो नदेखाएका कारण ढुंगा, गिट्टीदेखि बालुवा, सिमेन्टसम्म आफैं बोक्नुपरेको उनको दुखेसो छ । ‘नयाँ भवन आएको छ, आवश्यकता पनि छ’, उनले भने, ‘व्यवस्थापन समिति चासो दिँदैन, अनि हामीले नबनाए कसले बनाउँछ ? ’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.