त्रिविमा मुन्दुम बहस
काठमाडौं : किरात राई विद्यार्थी संघ त्रिवि इलाका कार्यसमितिद्वारा आयोजित विचार गोष्ठी सम्पन्न भएको छ। शनिबार ‘किरात मुन्दुममा सुप्तुलुङ’ शीर्षकमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको शिक्षा विभागमा विचारगोष्ठी सम्पन्न भएको हो।
गोष्ठीमा ‘किरात मुन्दुममा सुप्तुलुङ शिक्षा’ शीर्षकमा विद्यावारिधिरत अधिवक्ता शान्तिदेवी राईले कार्यपत्र प्रस्तुत गरेकी थिइन्। कार्यपत्रमा उनले मुन्दुमलाई पाठ्यक्रममै व्यवस्था गरी विश्वविद्यालय तहमा अध्ययनको विषय बनाउनुपर्नेमा जोड दिइन्।
सहजकर्ताका रूपमा बोल्दै मुन्दुम अध्ययन केन्द्रका अध्यक्ष तथा वरिष्ठ सङ्गीतकार/गायक जितेन राईले मुन्दुम किरातहरूको दर्शनशास्त्र भएको बताए। ‘मुन्दुम किरातहरूको जिवनदर्शन हो’, उनले भने ‘तर भाषिक जटिलता लगायतका विषयले यो केही जटिल छ तर अब एकरूपता कायम गर्न नयाँ पुस्ताले योगदान गर्नुपर्छ।’ गोष्ठीमा अध्यापक एवम् विश्वविद्यालयका विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो।