पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले विगत आठ वर्षदेखि पाँच रोपनी जग्गा भाडामा लिएर भैँसी, बाख्रा, कुखुरा र बङ्गुर पाल्दै आएकी छन्। स्वदेशमै आत्मनिर्भर बन्ने अठोट बोकेर व्यावसायिक पशुपालनमा होमिएकी ३१ वर्षीया उनले ‘समिर पुशपक्षीपालन केन्द्र’ स्थापना गरेर अहिले वार्षिक रु १२ लाख आम्दानी गरिरहेकी छन्।
‘पहिला पनि कुखुरापालन गर्थे, व्यावसायिक रुपमा गरेको २०६७ देखि मात्रै हो, त्यतिबेला मसँग लगानी गर्ने पूँजी थिएन, थोरै सङ्ख्याबाट कुखुरापालन थालेँ, त्यसबाट हुने आम्दानीलाई लगानी गर्दै जाँदा व्यवसायलाई विस्तार गर्न सकेँ' उनले भनिन्।
अहिले आफ्नो फर्ममा २० लाख बढी लगानी भइसकेको उनको भनाइ छ । उनले १६ कुखुराबाट शुरु गरेको व्यवसाय अहिले सो स्तरको भएको हो। गलेश्वर–पिप्ले हुँदै भगवती जोड्ने सडक छेउमै व्यवसाय गर्दै आएकी भण्डारीले यातायातको सहज पहुँच भएकाले उत्पादित कुखुराको निर्यात र आवश्यक दानालगायतका सामग्री ढुवानीमा सहज भएको बताइन्।रासस